पार्टीमा चुनाव हारेपछि रामकुमारी झाँक्री एमालेप्रति नरम

लोकपथ
392
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री नेकपा एमालेप्रति सकारात्मक देखिएकी छिन् ।

अहिले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा अनफलो अभियानबारे प्रतिक्रिया दिँदै केही सकारात्मक देखिएकी हुन् ।

६ लाख ६२ हजार फलोअर्स रहेको प्रधानमन्त्री ओलीको आधिकारीक फेसबुक पेजमा अहिले फलोअर्स घटेर ५ लाख ९० हजार हाराहारी आइपुगेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र एमाले नेता कार्यकर्ताबीच सामाजिक सञ्जालमा वाकयुद्ध चलिरहेको छ । एमालेका नेता कार्यकर्ताहरु बालेनविरुद्ध खनिएपछि बालेनका समर्थकहरुले अनफलो अभियान चलाएका हुन् ।

सो विषयमा प्रतिक्रिया दिँदै नेतृ झाँक्रीले एमाले पार्टीको संगठित सदस्यहरुले मात्रै फलो गर्दा पनि ओलीको फलोअर्स अहिले भन्दा दोब्बर हुने प्रक्रिया जनाइन् । एमाले पार्टीका संगठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ । सन्दर्भः अनफलोअर्स अभियान,’ उनले सामाजिक सञ्जालमा भनेकी छिन् ।

त्यसो त केही दिनदेखि नेतृ झाँक्री एमाले प्रवेश गर्न लागेको समेत चर्चा चलिरहेको छ । हालै भएको एकीकृत समाजवादीको पदाधिकारी छनोटको निर्वाचनमा महिला उपाध्यक्षमा पराजित भएपछि उनले एकीकृत समाजवादीको नेतृत्वले नै आफूलाई हराएको आरोप लगाइरहेकी छिन् । पूर्व एमाले नेतृ समेत रहेकी झाँक्रीलाई आफ्नो पार्टीप्रति कटाक्ष गर्ने र अन्य दलप्रति नरम रहेको आरोप लागिरहेको छ । यसैक्रममा एमालेप्रति उदार स्ट्याटस लेख्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यद्यपि अहिले उनले उक्त स्ट्याटस आफ्नो फेसबुकबाट हटाएकी छिन् ।

उनले आफ्नो दल नेकपा एकीकृत समाजवादीमा हाल एक लाख ३२ हजार संगठित सदस्य रहे पनि सबैले फलो नगरेको भन्दै अर्को स्ट्याटस लेखेकी छिन् ।

‘नेकपा (एकीकृत समाजवादी) का ताजा एक लाख ३२ हजार संगठित सदस्य छन, खै त हामीलाई पनि सबैले फलो गरेका छैनन त,’ उनले भनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?