काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समग्र मन्त्रालयको सुधारका लागि कार्ययोजना बनाउन विभिन्न पक्षबाट राय सुझाव सङ्कलनका लागि १० दिने अभियान सुरु गर्ने भएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्र सुधार कार्ययोजना तयारीसम्बन्धी अन्तरक्रिया आइतबारबाट सुरु हुने मन्त्री भण्डारीको सचिवालयले जनाएको छ । मन्त्रालयमा नै सञ्चालन हुने दश दिने अन्तरक्रियामा हरेक दिन विभिन्न क्षेत्रका व्यक्ति सहभागी हुने जनाइएको छ ।
उद्योगमन्त्री भण्डारीका अनुसार सुधार कार्ययोजनामा समावेश हुने विषयमा कानून तथा नीति परिमार्जन, ‘स्टार्टअप’को विकास तथा प्रवद्र्धन, औद्योगिक प्रवर्द्धन, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण र सीप विकास, उत्पादकत्व अभिवृद्धि, औद्योगिकरण, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, बहुपक्षीय तथा द्विपक्षीय व्यापार, विदेशी तथा स्वदेशी लगानी प्रवर्द्धन, औद्योगिक बौद्धिक सम्पत्ति (ट्रेडमार्क, डिजाइन, पेटेन्ट) रहेका छन् ।
अन्तरक्रियामा निजी क्षेत्रका छाता सङ्गठन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विभिन्न मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय योजना आयोग, नीति अनुसन्धान प्रतिष्ठान, आर्थिक क्षेत्रका सञ्चारकर्मी, विभिन्न विश्वविद्यालयका प्रतिनिधि, विद्यार्थी सङ्गठनका प्रतिनिधि, उपभोक्ता अधिकारकर्मीहरु, पेशागत सङ्गठनका प्रतिनिधि, सम्बन्धित वस्तुगत महासङ्घ, प्रत्यक्ष बिक्री सम्बद्ध प्रतिनिधि सहभागी रहने जनाइएको छ ।
अन्तरक्रियामा संसदीय समिति, प्रमुख राजनीतिक दलका सम्बद्ध पदाधिकारी, राजनीतिक दलका उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्र सम्बद्ध पदाधिकारी, प्रदेशका मुख्यमन्त्री एवं उद्योग तथा वाणिज्यमन्त्री, नगरपालिका र गाउँपालिका सङ्घ, पूर्वमन्त्री, पूर्वसचिव तथा विषय विज्ञको सहभागिता रहने मन्त्री भण्डारकिो सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया