नियुक्त भएको ४ दिन बितिसक्दा पनि बधाईमा रमाउँदै मन्त्रीहरु

लोकपथ
84
Shares

काठमाडौं। यतिबेला देशका दुई ठूला दलको नेतृत्वमा सरकार छ ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले मिलेर नयाँ सरकार गठन नयाँ मन्त्रिमण्डल गठन भएको छ ।

असार ३१ गते शपथग्रहण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले २१ जना मन्त्री नियुक्त गरेर आफ्नो कार्यकाल सुरु गरेका छन् ।

तर बिहीबार मन्त्री नियुक्त भएको चौँथो दिन बितिसक्दा पनि मन्त्रीहरुका कार्यकक्ष भने बधाईका लागि भीडभाड देखिन्छ ।

काम लिएर आउनेभन्दा पनि खादा, माला र पुष्पगुच्छा लिएर आउने शुभेच्छुकहरुको भीड मन्त्रीहरुको कार्यकक्षमा खचाखच देखिन्छ ।

यही भीडमाझ समय मिलाएर मन्त्रीहरु आफ्ना मातहतका कर्मचारीहरुसँग छलफलमा छन् तर काम गर्न सुरु गरेका छैनन् । उनीहरुलाई अझै केहीदिन मन्त्रालयका दैनिक कामकारबाही र योजनाहरुबारे बुझनै लाग्नेछ ।

विशेषगरी कांग्रेस–एमालेका कार्यकर्ता एवम नेताहरु आफ्नो पार्टीबाट नियुक्त भएका मन्त्रीहरुलाई बधाई दिनका लागि सिंहदरबार पुगिरहेका छन् । सहजै पुग्न सकिने सिंहदरबार बाहिर रहेको स्वास्थ्य मन्त्रालयमा सबैभन्दा बढी भीड देखिन्छ ।

कार्यकक्षमा शुभेच्छुकहरुको चाप बढेपछि मन्त्रीले भेट्ने समय निर्धारण गर्न थालेका छन् । हुनत पद बहाली गरेको भोलिपल्टदेखि नै प्रधानमन्त्रीदेखि मन्त्रीहरुसम्मको कार्यदिन सुरु भएको मानिन्छ । तर अवस्था त्यस्तो छैन ।

‘तुलनात्मक रुपमा कांग्रेस–एमालेका कार्यकर्ताको संख्या धेरै रहेकालेपनि भीड बढेको हुनसक्छ । तर मन्त्रीहरुले भेटघाटको समय निर्धारण गर्न थाल्नुभएको रहेछ । तर अब मन्त्रीहरुले आफ्नो काम सुरु गर्नुपर्छ । बधाई मात्र होइन, उत्कृष्ट काम गरेर पछि धन्यावादको माला लगाए राम्रो हुन्छ,’ शहरी विकास मन्त्रालयमा भेटिएका टंक पुरीले भने ।

मन्त्रालयमा भीड एकातिर रहेपनि मन्त्रीहरुले आफ्नो काम पनि सुरु गरेको पाइयो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले बुधबार मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरुसँगको ब्रिफिङ्सहितको भेटघाटको आयोजना गरेका थिए ।

मन्त्री पौडेलले समस्या देखाउने भन्दा पनि सामाधानको काम गर्ने आफ्नो योजना भएकाले जुनसुकै समस्याको समाधानका लागि पाँच दिनभित्र स्पष्ट योजना सहितको खाका तयार गर्न निर्देशन दिएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री बद्री पाण्डेले भने आम नागरिकको हक हितका लागि काम गर्ने प्रतिबद्धतासहित कर्मचारीहरुसँग छलफलमै रहेको भेटिए ।

यता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि बुधबार विज्ञापन बोर्ड साथै मातहतका कर्मचारीहरुसँग छलफलको आयोजना गरेका थिए ।

बुधबार प्रधानमन्त्री ओलीले पनि नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुको ज्ञापन पत्र बुझे र निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुनेगरी सरकारले नीतिहरु अवलम्बन गर्ने बचन दिएका छन्।

चाँडोचाँडो परिवर्तन भइरहने मन्त्रीहरुका कारण कर्मचारीहरुको मनोबल बढेको देखिदैन भने मन्त्रीहरुलाई आफ्ना स्वार्थ पुरा गर्ने व्यक्तिहरुको भीडका कारण कामहरु प्रभावकारी हुन नसकेको गुनासो सुन्ने गरिन्छ । तर सिंहदरबारमा पहुँच नभएका सर्वसाधारणहरुका पक्षमा काम गर्न मन्त्रीहरुलाई दबाब बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?