रथी सिग्देलको नागरिकतामा दुईथरी जन्ममिति, प्रधानसेनापति बन्नबाट रोक्न चर्काे लबिङ

लोकपथ
343
Shares

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माको उत्तराधिकारी बन्दै गरेको रथी अशोकराज सिग्देलको नागरिकतामा दुईथरी जन्ममिति भेटिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट लिएको नागरिकता र जाजरकोटबाट लिएको प्रतिलिपिमा जन्ममिति फरक पाइएपछि उनलाई प्रधानसेनापति बन्नबाट रोक्न पनि चर्काे लबिङ सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट सिग्देलले ९ असोज २०४० मा नागरिकता लिएका थिए । त्यसबेला उनी १७ वर्षका थिए । रुपन्देहीको नागरिकतानुसार सिग्देल ९ असोज २०२३ मा जन्मिएका हुन् । यो जन्ममितिअनुसार ५७ वर्षे उमेरहदका कारण उनले १ वर्षअघि नै अनिवार्य अवकाश पाउनुपर्ने हो ।

सिग्देलले २०५८ मा जाजरकोटबाट लिएको नागरिकताको प्रतिलिपिमा भने जन्ममिति २९ साउन २०२३ रहेको छ । सोही जन्ममितिअनुसार उनी प्रधानसेनापति बन्न लागेका हुन् । बीचमा केही तलमाथि नभए आगामी २३ भदौमा उनी प्रधानसेनापति बन्नेछन् । नेपाली सेनामा प्रधानसेनापति अनिवार्य अवकाशमा जानु एक महिनाअघि नै बिदामा बस्ने नियम रहेकाले साउन २३ देखि नै उनले निमित्तको जिम्मेवारी लिनेछन् ।

स्रोतका अनुसार, उनले प्रतिलिपि लिँदा पुरानो विवरणमा थपघट गरेका हुन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–७ घर भएका सिग्देलविरुद्ध ९ जेठमा राष्ट्रपति कार्यालयसहित ११ निकायमा उजुरी परेको छ । ललितपुर बस्ने नागेश्वर चौधरीले उनीविरुद्ध उजुरी गरेका हुन् । सिग्देलको वास्तविक जन्म १९ चैत २०२१ मा भए पनि उनले शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकतामा १९ माघ २०२३ बनाएको उजुरीमा उल्लेख छ ।

सैनिक सेवा नियमावली, २०६९ अनुसार २९ साउन २०८० मै ५७ वर्षको उमेर हदका कारण अनिवार्य उपरथीबाट अवकाश हुनुपर्नेमा सिग्देल अझै प्रधानसेनापतिका लागि दाबेदारीमा छन् । नेपाली सेनाको तीनमहले डढ्डामा सिग्देलको जन्ममिति २९ साउन २०२३ उल्लेख छ । तर, सिट रोल र सर्टिफिकेटनुसार जन्ममिति १९ माघ २०२३ रहेको छ । सोही जन्ममितिका आधारमा सिग्देल २७ मंसिर २०८० मा रथी पदमा बढुवा भएका थिए । पछिल्लो नागरिकता तथ्यांकअनुसार आउँदो साउनमा ५८ वर्षको उमेरमा प्रवेश गर्नेछन् । रथीबाट अनिवार्य अवकाश उमेर हद ५८ वर्ष रहेको छ । पछिल्लो समयको नागरिकतानुसार उनले २९ साउनबाट अवकाश पाउनुपर्ने हो, तर उनलाई सिट रोल र सर्टिफिकेटका आधारमा प्रधानसेनापतिको उम्मेदवार बनाउने तयारी हुँदैछ ।

पुरानो समयमा नागरिकता वितरण गर्दा पूरा जन्ममिति उल्लेख गर्ने चलन थिएन । नागरिकता दिँदा उल्लिखित महिना र वर्षलाई नै जन्मेको समय मानिन्छ । ४ पुसमा प्रधानसेनापति प्रभुराम शर्माले राज्य व्यवस्था समितिमा भनेका थिए, ‘अशोक सिग्देलको नागरिकताको प्रतिलिपिमा एउटै विवरण छ, ढाँटेको भए पो मैले समात्ने ।’ तर, प्रधानसेनापतिले त्यस्तो दाबी गरे पनि दुई नागरिकता तुलना गर्दा सिग्देलको विवरण फरक देखिन्छ । नागरिकतामाथि प्रश्न उठेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट सिग्देलले एउटा पत्र ल्याएका छन् । ‘जो जससँग सम्बन्ध राख्दछ’ भन्ने पत्रमा जाजरकोट प्रशासनले हामीले दिएको नागरिकता नै सही छ भन्ने बेहोरासहित जारी मिति ‘२९ साउन २०४०’ उल्लेख गरेको छ ।

सुरुमा उनले अध्ययन गरेको स्कुल र कलेजमा उनको जन्ममिति १९ चैत २०२१ रहेको देखिन्छ । पछि सिग्देलले सर्टिफिकेट सच्याएर १९ माघ २०२३ मा बनाइएको छ । सोही सच्याइएको उमेर नेपाली सेनाको अभिलेखालयमा रहेको देखिन्छ । तर, उनको पछिल्लो नागरिकताको अभिलेख हेर्दा २९ साउन २०२३ रहेको छ । सुरुमा उनले २९ साउन २०४० मा रुपन्देही जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिँदा १७ वर्ष लेखिएको थियो । पछिल्लो समय ८ जेठ २०५८ मा उनले जाजरकोटबाट प्रतिलिपि लिएको देखिन्छ । सो नागरिकतामा पहिलाकै जन्ममिति कायम भएको देखिन्छ ।

नागरिकता र सर्टिफिकेटमा जन्ममिति फरकफरक देखिएको अवस्थामा सैनिक सेवा नियमावलीनुसार ‘सैनिक व्यक्तिको उमेर गणना गर्दा वैयक्तिक विवरण, नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यता प्रमाणपत्रमा जन्ममिति वर्ष, महिना र गतेसमेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा जुन मितिबाट पहिले अवकाश हुन्छ, सोही मितिबाट अवकाश दिइनेछ’ भनिएको छ ।
सो नियमावलीले वर्ष वा संवत् मात्र उल्लेख भएको प्रमाणपत्रका आधारमा जन्ममिति कायम गर्दा नेपाली नागरिकताको हकमा त्यस्तो प्रमाणपत्र प्राप्त गरेको मितिका आधारमा शैक्षिक योग्यताको प्रमाणपत्रको हकमा जारी भएको मितिका आधारमा र वैयक्तिक विवरणको हकमा सुरुमा भर्ना भएको मितिका आधारमा हुने प्रस्ट व्यवस्था गरेको छ ।

नियमावलीले कुनै प्रमाणपत्रमा वर्ष मात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको रहेछ र त्यस्तो जन्ममितिको बीचमा १ वर्षको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिलाई आधार मान्नुपर्ने व्यवस्था गरेको छ । प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको सुपिङ क्याम्पसबाट सिग्देलले जन्ममिति १९ माघ २०२३ उल्लेख गरेर ‘जो जससँग सम्बन्धित छ’ भनेर एउटा पत्र लिएको भेटिएको छ । तर, क्याम्पसको अभिलेखमा उनको जन्ममिति २०२१ साल नै उल्लेख छ । सुपिङ क्याम्पसको पत्रका आधारमा नागरिकतामा उल्लिखित १९ वर्षलाई केरमेट गरेर १६ वर्ष उल्लेख गरेर उनी २०४३ फागुनमा नेपाली सेनामा भर्ना भएको उजुरीकर्ताले दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?