मोबाइलको ‘ग्रे मार्केट’ व्यवसायीले नै रोक्नुपर्छ : सञ्चारमन्त्री शर्मा

लोकपथ
98
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भन्सार छलेर आउने मोबाइल सेटको ‘ग्रे मार्केट’लाई निरुत्साहित गर्न व्यवसायी नै अघि सर्न जरुरी रहेको बताएकी छन् । भन्सार छलेर भित्रिने मोबाइल फोनका कारण सरकारलाई राजस्व घाटा भइरहेको उल्लेख गर्दै उनले यस्तो कारोबार रोक्न व्यवसायी आफैँले लाग्नुपर्ने बताएकी हुन् ।

नेपाल मोबाइल व्यवसायी महासंघको शुक्रबारबाट राजधानीमा सुरु दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले अवैध कारोबारले मोबाइल व्यवसायी मारमा परिरहेको गुनासो आएको बताएकी हुन् ।

उनले भनिन्, ‘मोबाइल व्यवसायीले चोरीको मोबाइल बेच्न छाडे ग्रे फोनको कारोबार रोकिन्छ । ग्रे फोनको कारोबार बन्द भए देशको अर्थतन्त्रमा पनि वृद्धि हुने र त्यसले व्यवसायीहरुको मार्जिनमा समेत वृद्धि हुन सहयोग पुग्छ । तपाईहरु पनि ग्रे फोन बेच्न छोड्नुस्, सरकारले पनि मोबाइल व्यवसायीलाई सहयोग गर्छ ।’

मोबाइल सेटको वैधता नियमन प्रणाली एमडीएमएस प्रणाली लागू गर्नबाट सरकार पछि नहटेको समेत उनले स्पष्ट पारेकी छन् । ढिलोचाडो एमडीएमएस प्रणाली लागू हुने उनले बताइन । मुलुकमा अपेक्षित प्रविधिको विकास नभइसकेका कारण सरकारले अहिले नै एमडीएमएस लागू गर्न नसकेको प्रष्टीकरण उनले दिइन । त्यस्तै, मन्त्री शर्माले सूचना प्रविधि (आईटी) क्षेत्रमा रोजगारी र विकासका धेरै सम्भावनाहरु भएका कारण सरकारले नेपाललाई आईटी हब बनाउने नीति लिएको बताइन् ।

उनले अघि भनिन्, ‘हामीले भर्खरै लगानी सम्मेलन सम्पन्न गरेका छौं । लगानी सम्मेलनमार्फत हामीले विदेशी लगानीकर्ताहरु अन्य क्षेत्रभन्दा पनि आइटी क्षेत्रमा लगानी गर्न इच्छुक रहेका पायौं । सरकारले पनि नेपाललाई आइटीको हब बनाउन सकिन्छ भन्ने सन्देश विश्वभर प्रवाह गर्न उद्दत छ । नेपाल सरकारले अहिले आइटी क्षेत्रसँग सम्बन्धित बजेट समेत अगाडी सारेको छ । तर, नेपाल सरकारले अघि सारेको नीति र आइटी क्षेत्रसँग सम्बन्धित बजेट नेपाल सरकार एक्लैले कार्यान्वयन गर्न सक्दैन् । हामीसँग बजेटको सीमा छ ।’ सरकारले अगामी आर्थिक वर्षको बजेटमा आईटी क्षेत्रलाई प्राथमिकता दिएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?