लन्डनमा भव्य रुपमा मनाइयो बुद्ध जयन्ती

लोकपथ
112
Shares

काठमाडौं । दक्षिण पूर्वी लन्डनमा २५६८औँ बुद्धजयन्ती भव्य समारोहका बिच मनाइएको छ ।

बुद्ध फाउण्डेसन यूकेको आयोजनामा आइतबार वुलीचको जनरल गर्डन स्क्वायरमा आयोजित कार्यक्रममा सयौँ नेपाली तथा स्थानीय ब्रिटिस समुदाय सहभागी भएका थिए ।

भगवान गौतम बुद्धको शान्ति सन्देश र नेपाली कला, संस्कृति एवं पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बुद्धको सन्देश प्रचारप्रसारका लागि बुद्ध फाउन्डेसनले गर्दै आएका पहलको प्रशंसा गरे ।

उनले विश्वसम्पदा सूचीमा समावेश लुम्बिनीको पर्यटन प्रवर्धनमा यस्ता कार्यक्रमले सघाउ पु¥याउने विश्वास व्यक्त गरे । कार्यक्रमका प्रस्तुतिहरुले नेपालको सामाजिक एवम् सांस्कृतिक विविधता झल्काएको राजदूत आचार्यले उल्लेख गरे ।

स्थानीय रोयल बरो अफ ग्रीनवीचका नवनिर्वाचित मेयर काउन्सिलर जीत रानाभाटले कार्यक्रमले बेलायतको नेपाली समुदायलाई त्यहाँका अन्य समुदायसँग अन्तरघुलन गराउन र बेलायतमा नेपाली समुदायको पहिचान स्थापित गर्न सहयोग पु¥याउने आशा व्यक्त गरे । उनले यस्ता कार्यक्रमहरुलाई स्थानीय बरोले सधैँ सहयोग गर्ने पनि बताए ।

कार्यक्रममा बौद्ध लामा गुरु खेम्पो कर्मा छुल्ठिमले बौद्ध दर्शनसम्बन्धि प्रवचन दिएका थिए भने ११ वर्षीया बालिका आर्या श्रेष्ठले मन्तव्य दिएकी थिइन् । आयोजक बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष दीपक श्रेष्ठले भगवान बुद्धको जन्म नेपालमा भएको हो भन्ने संदेश दिन र उहाँको संदेश फैलाउन कार्यक्रम आयोजना गरिएको बताए ।

मूर्ति र क्यानभासको आकर्षण

नेपालबाट ल्याइएका साढे तीन फिट अग्लो बुद्ध मूर्ति र बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति ह्दयरत्न बज्राचार्य एवं प्राध्यापक कर्ण महर्जनले तयार पारेको बुद्धको जन्मदेखि मृत्युसम्मका विवरणयुक्त ‘क्यानभास’ कार्यक्रममा आकर्षण बनेका थिए ।
ध्वजापतका, बुद्धका मूर्तिहरु, बौद्ध दर्शनसम्बन्धी चित्रकलादेखि नेपालको पर्यटन प्रवर्धनका लागि राखिएका सामग्रीले कार्यक्रमस्थल सजिएको थियो ।

बालबालिकालाई बुद्ध दर्शनसम्बन्धि जानकारी दिने उद्धेश्यले पुस्तक र पोष्टरहरु प्रदर्शन गरिएको थियो । सोहि अवसरमा बालबालिका माझ बुद्ध र लुम्बिनी झल्काउने चित्रकला प्रतिष्पर्धा गराएर पुरस्कृत गरिएको थियो । त्यस्तै, पासा पुचः यूकेद्वारा धिमे बाजा र लाखे नाच देखाइएको थियो । बालबालिकाले विभिन्न जातीय भेषभूषाको आकर्षक प्रदर्शनी गरेका थिए । लन्डनस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्ड समेतको सहयोगमा लन्डनमा बुद्धजयन्ती कार्यक्रम मनाउँदै आइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?