ट्राफिक नियम उल्लंघनकर्तालाई स्वयंसेवकका रूपमा सडकमा खटाउने लामिछानेको निर्णयविरुद्ध रिट

लोकपथ
1.2k
Shares

काठमाडौं । ट्राफिक नियम उल्लंघनकर्तालाई स्वयंसेवकको रूपमा एक घण्टा सडकमा खटाउने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा शुक्रबार रिट निवेदन दायर भएको छ ।

गृहमन्त्री लामिछानेले सामाजिक सञ्जाल मार्फत् घोषणा गरेको निर्णय ट्राफिक प्रहरीले कार्यान्वयनमा ल्याएपछि रविन्द्र पौडेल, आकाशकुमार भट्ट, प्रमेश पौडेल, उज्जल माली, इमामुल हक र राजु परियारले सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमा उक्त कार्य तत्काल बन्द गर्न अन्तरिम आदेशको माग गरिएको छ ।

मानव अधिकारको विश्वव्यापी घोषणाको धारा ३ र ५ तथा संविधानको धारा २२ ले यातनाविरुद्धको हक प्रदान गरी सोलाई कसुर भनी परिभाषा समेत गरेको अवस्थामा सामान्य गल्तीमा समेत सडकमा उभ्याई बलपूर्वक सवारी नियमनको काममा लगाउँदा समग्र चालकहरूको हक हितमा गम्भीर असर परेको रिटमा दाबी गरिएको छ ।

‘सार्वभौमसत्ता जनतामा निहित भएको मुलुकका नागरिकहरू स्वतन्त्रतापूर्वक शिर ठाडो छाती चौडा गरी आफ्नो देशको परिधिभित्र स्वतन्त्रतापूर्वक हिँड्न र सम्मानपूर्वक बाच्न पाउनु पर्दछ,’ रिटमा भनिएको छ, ‘प्रहरी प्रशासनबाट भएको कार्यले कानुनी राज्यको उपहास भएको महसुस गरी विपक्षीहरूबाट भए गरेको कार्य प्राकृतिक न्यायका सिद्धान्तविपरीत र संविधानले अवलम्बन गरेका सिद्धान्त एवं मौलिक हकहरूको हनन भएको छ ।’

सवारी ऐनअनुसार ट्राफिक नियम पालना गराउने ट्राफिक प्रहरीले पनि ऐन कानुन केही नहेरी गृहमन्त्रीको आदेश कार्यान्वयन गरेको भन्दै ट्राफिक प्रहरीको पनि विरोध भइरहेको छ । मानव अधिकार, कानुनका विज्ञ, राजनीतिक दल र पूर्वट्राफिक प्रहरीले गृहमन्त्रीको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । जबर्जस्ती स्वयंसेवीका रुपमा सडकमा पठाइएको भन्दै ट्राफिक नियम उल्लंघनकर्ताहले पनि असन्तुष्टि व्यक्त गरेका छन् ।

गत जेठ १५ गते उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जाल फेसबुक र ‘एक्स’मार्फत आफ्नो मन्त्रालयसँग सम्बन्धित दुई निर्णय सार्वजनिक गरेका थिए । महिला ट्राफिक प्रहरीलाई रजस्वलाको समयका चार दिन सडकमा खटिनु नपर्ने र मादक पदार्थ सेवन (मापसे) सहित अन्य ट्राफिक नियम उल्लंघन गरेबापत चालकलाई ट्राफिक व्यवस्थापनका लागि स्वयंसेवकका रूपमा खटाउने निर्णय उनले सार्वजनिक गरेका थिए ।

विभागीय मन्त्रीको निर्णयको भोलिपल्टैदेखि ट्राफिक प्रहरीले यसलाई कार्यान्वयनमा ल्याइसकेको छ । ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्ने चालकलाई अभिमुखीकरण कार्यक्रममा सहभागी गराएर काठमाडौंका सडकमा १ घण्टा स्वयंसेवकका रूपमा परिचालनसमेत गर्न थालेको छ । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे), तीव्र गति, रातो बत्ती उल्लंघन र लेन अनुशासन पालना नगरेकोमा आर्थिक जरिवानासहित थप एक घण्टा स्वयंसेवकका रूपमा श्रम सजाय दिन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?