गलत खानपानले बढ्दैछ एच पाइलोरीको समस्या, समयमै उपचार नगरे हुनसक्छ क्यान्सर

लोकपथ
6.4k
Shares

काठमाडौं । गलत खानपान र अस्वस्थकर जीवनशैली धेरै मानिसमा स्वास्थ्य समस्याको कारण बन्ने गरेको छ । खानपानमा पोषक तत्वको कमी र कार्बोनेटेड पेय पदार्थको धेरै सेवन जस्ता कारणले पेट सम्बन्धि रोग बढिरहेको छ । पेट खराब भयो भने पूरा शरीर नै बिरामी हुन्छ ।

नेपालीहरुलाई बढी हुने समस्या भनेको ग्याष्ट्रिक नै हो । तर ग्याष्ट्रिक बिग्रदै गएमा अल्सर र त्यसले क्यान्सरसमेत निम्त्याउन सक्छ । ग्याष्ट्रिकले जस्तै मानिसको पेटलाई सताउने अर्को भाइरस हो, हेलिकोब्याक्टर पाइलोरी ।

चिकित्सकका अनुसार हरेक रोगको सुरुवात पेटबाट हुने गर्छ । यही पेटको रोगहरू मध्ये हेलिकोब्याक्टर पाइलोरी पनि एक हो । यदि तपाइलाई बाहिरको खाना खाएपछि वा अस्वस्थकर खाना खाएपछि पेट दुख्ने, वाकवाकी लाग्ने समस्या हुन्छ भने यो हेलिकोब्याक्टर पाइलोरी इन्फेक्सनको कारणले पनि हुन सक्छ ।

पहिलो पेटसँग सम्बन्धित रोग हेलिकोब्याक्टर पाइलोरी (एच पाइलोरी) के हो त्यो बुझौँ ।

के हो हेलिकोब्याक्टर पाइलोरी ?
हेलिकोब्याक्टर पाइलोरी (एच पाइलोरी) एक प्रकारको ब्याक्टेरिया हो, जसले पेटमा संक्रमण गर्ने गर्छ । यसको संक्रमणले हाम्रो पेटको सानो आन्द्रा (डुओडेनम) को माथिल्लो भागमा घाउ हुने र सुनिने गर्छ । कहिलेकाहीँ यो संक्रमणले पेटको क्यान्सरको जोखिम पनि बढाउने गर्छ ।

धेरैजसो मानिसलाई यस रोगले कुनै पनि लक्षण देखाउँदैन । एच पाइलोरी ग्याष्ट्रिक बिग्रेर हुने पेप्टिक अल्सरको सबैभन्दा सामान्य कारण हो । यसले हाम्रो पाचन प्रणालीमा घाउ बनाउँछ र खाना पचाउने इन्जाइमको उत्पादनमा समेत कमी ल्याई एसिडिक (अम्लीय तत्व)को उत्पादन सुरु गर्छ ।

एच पाइलोरीको संक्रमण वा भाइरस र्‍याल, वान्ता र दिसाको माध्यमबाट समेत एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । दुषित खानाको सेवनले पनि यस्तो ब्याक्टेरियाहरु मानव शरीरमा प्रवेश गर्न सक्छ । मुख्यतः सी फुडको सेवनबाट समेत यस्तो ब्याक्टेरिया मानव शरीरमा प्रवेश गर्न सक्छ ।

हेलिकोब्याक्टर पाइलोरीका लक्षणहरु
– पेट दुख्नु, विशेषगरि पेटको माथिल्लो भागको दुखाई
– वान्ता हुनु र वान्तामा रगत देखिनु
– पेट फुल्ने र ग्यास भरिने समस्या
– खाना निल्न समस्या वा दुखाई
– शरीरको तौल कम हुनु

हेलिकोब्याक्टर पाइलोरीको शंका लागेमा के गर्ने ?
यदि कुनै व्यक्तिमा हेलिकोब्याक्टर पाइलोरीको लक्षण देखिएमा चिकित्सकको सल्लाह लिएर रगत, दिसा, इन्डोस्कोपी वा बायोप्सी गरी यस्तो रोग पत्ता लगाउन सकिने छ । परीक्षणको सबैभन्दा सस्तो र सजिलो विधि भने दिसाबाट चेकजाँज गर्नु हो ।
यदि कसैलाई सधै पेट दुख्ने, पोल्ने र वान्ता आउने समस्या छन् भने त्यस्ता व्यक्तिले पहिला ग्याष्ट्रोलोजिष्टसँग परामर्श लिनुपर्छ । कुनै पनि प्रकारको मेडिकल टेष्ट ग्याष्ट्रोलोजिष्टले भनेपछि मात्र गर्नुपर्छ ।

हेलिकोब्याक्टर पाइलोरीको उपचार
यति कसैलार्य हेलिकोब्याक्टर पाइलोरीको संक्रमण भएको पुष्टि भएमा चिकित्सकले ठीक हुनका लागि एन्टिबायोटिक दिने गर्छन् । एन्टिबायोटिकको प्रयोगपछि शरीरमा रहेको ब्याक्टेरियाको विकासलाई रोक्न मद्दत गर्छ । एन्टिबायोटिकको प्रयोगले जब पेटमा ब्याक्टेरियाको निर्माण बन्द हुन थाल्छ, त्यसपछि पेटको घाउ ठीक हुने औषधीको प्रयोग गरिन्छ । हेलिकोब्याक्टरको उपचारमा अलि लामो समय लाग्न सक्छ । तर उपचार र औषधीको मात्रा भने पूरा गर्नुपर्छ । सञ्चो भइसक्यो भनेर यस्ता औषधी बिचमै छाड्ने हो भने यसले भविष्यमा थप स्वास्थ्य समस्या निम्त्याउने र एन्टिबायोटिकले काम नै नगर्न पनि सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?