‘सामुदायिक विद्यालयमा आकर्षण बढाउन जीवनउपयोगी शिक्षण सिकाईमा जोड दिनुपर्छ’

लोकपथ
133
Shares

काभ्रेपलान्चोक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सामुदायिक विद्यालयमा आकर्षण बढाउन जीवनउपयोगी शिक्षण सिकाईमा जोड दिनुपर्ने बताएकी छन् । भालेश्वर माध्यमिक विद्यालय पनौती नगरपालिका ८ काभ्रेपलान्चोकको ६७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएकी हुन् ।

मन्त्री चौधरीले संघीय शिक्षा ऐन संघ, प्रदेश र स्थानीय तह तीन तहको सरकार जिम्मेवार हुने गरी आउनुपर्ने बताइन् । ऐन अहिले संसद्‍मा रहेको भन्दै उनले सँगै विश्वविद्यालय र विद्यालय शिक्षा ऐन पनि संसद्‍मा दर्ता भएको बताइन् ।

‘संघीय शिक्षा ऐन संसद्‍मा छ । सँगै विश्वविद्यालय र विद्यालय शिक्षा ऐन पनि संसद्मा दर्ता भएको छ । संघीय शिक्षा ऐनभित्र तीन तहको सरकार जिम्मेवार हुने गरी समेटिनुपर्छ’, मन्त्री चौधरीले भनिन्, ‘अहिले स्थानीय निकायलाई शिक्षाको जिम्मेवारी दिइएको अवस्था छ । तर त्यसभित्र पनि केही गुनासाहरू प्राप्त भएका छन् । त्यसलाई पनि सम्बोधन हुने गरी ऐन आउनुपर्छ ।’
स्थानीय निकायहरूले सामुदायिक विद्यालयलाई समेत प्रभावित पार्ने गरी विभिन्न नियमहरू लगाउने प्रवृत्ति पनि बढेको भन्दै उनले ती कुराको सम्बोधन हुने गरी ऐन आउनुपर्ने बताइन् ।

शिक्षकहरूलाई राजनीतिक दलमा लाग्न दिइनुहुँदैन भन्ने कुरा शिक्षामन्त्रीले अगाडि सारेको भन्दै उनले शिक्षालाई संघीय, प्रदेश र स्थानीय तीनै सरकारबिच कसरी समन्वय गरेर लैजान सकिन्छ भनेर ध्यान दिन जरुरी रहेको बताइन् ।

सबै बालबालिकालाई विद्यालयसम्म पुर्‍याउन सबैको भूमिका हुनुपर्ने भन्दै उनले कुनैपनि बालबालिकालाई बालश्रममा लाग्नबाट रोक्नुपर्ने बताइन् । ‘सबै बालबालिकाले शिक्षा पाउनुपर्छ । उनीहरूलाई कुनैपनि बहानामा श्रममा लगाउन पाइँदैन । जुन कुरा सरकारको नीति तथा कार्यक्रममा पनि केही कुरा समेटिएको छ’, मन्त्री चौधरीले भनिन् ।

किशोरीहरूको आत्म रक्षाका लागि सबैले अनिवार्य रूपमा आत्मरक्षा तालिम लिनुपर्ने मन्त्री चौधरीको भनाई थियो । ‘विद्यालय शिक्षा जस्तै किशोरीहरूका निम्ति आत्मरक्षा प्रशिक्षण पनि जरुरी विषय हो’, उनले भनिन्, ‘हाम्रो मन्त्रालयले पनि किशोरीहरूलाई आत्मरक्षा तालिम भनेर केही कार्यक्रम सञ्चालन गर्ने गरेको छ । किनभने किशोरीहरूमाथि हुनसक्ने विभिन्न हिंसाको अन्त्यका लागि त्यो कार्य जरुरी छ ।’

अहिलेको अवस्थामा प्राथमिक विद्यालयमा विद्यार्थी भर्ना दर न्यून भएको भन्दै मन्त्री चौधरीले सरकारमा आबद्ध भएका व्यक्तिहरूका विद्यार्थीहरू सामुदायिक विद्यालयमा भर्ना गर्नै पर्छ भन्ने अवधारणा पनि ल्याउन आवश्यक रहेको बताइन् ।

सँगै मन्त्री चौधरीले पढ्दापढ्दै बिचैमा विद्यालय, कलेज छाड्ने विद्यार्थीहरूको सङ्ख्या शून्य बनाउनका निम्ति सबै लाग्न आवश्यक रहेको बताइन् ।

उनले हाम्रा पाठ्यक्रम जीवन उपयोगी हुन नसकेका कारण पनि समस्या उत्पन्न भएको बताइन् । । ‘एसइई दिइसकेपछि उच्च शिक्षा हासिल गर्न सक्ने तर आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थीहरू आयआर्जनका निम्ति विदेश जाने देखिन्छ’, उनले भनिन्, ‘हामीले पाठ्यक्रममा पनि केही सुधार गर्न आवश्यक छ । किनभने हाम्रा शिक्षा प्रणाली जीवन उपयोगी छैनन् । त्यसका निम्ति हामीले हाम्रो पाठ्यक्रममा परिवर्तन ल्याउन आवश्यक छ ।’

विद्यालयहरूले नैतिक शिक्षामा पनि जोड दिन आवश्यक रहेको मन्त्री चौधरीले बताइन् । ‘विद्यालयमा जाने विद्यार्थीहरूको केयर विद्यालयका शिक्षकहरूले त गर्छन् नै सँगै अभिभावकहरूले पनि मेरो बच्चाले के गरिरहेको छ भन्ने कुरा एकदमै ख्याल राख्न आवश्यक छ’, मन्त्री चौधरीले भनिन् ।

शिक्षण सिकाई विद्यार्थी केन्द्रित हुन आवश्यक रहेको भन्दै उनले अतिरिक्त क्रियाकलापहरूलाई पनि उत्तिकै ध्यान दिन आवश्यक रहेको बताइन् ।

सामुदायिक विद्यालयको अवस्था कमजोर हुँदै गएको सन्दर्भमा राम्रा हुँदै गएको विद्यालय देख्न पाउनु निकै राम्रो कुरा भएको मन्त्री चौधरीले बताइन् ।

‘सामुदायिक विद्यालयहरूको अवस्था यस्तो देख्न पाउनु निकै ठुलो कुरा हो । यो विद्यालयमा एक हजार जनाभन्दा बढी विद्यार्थीहरू रहेको सुन्न पाउँदा खुसी लागेको छ’, मन्त्री चौधरीले भनिन्, ‘अहिले सामुदायिक विद्यालयप्रतिको गुणस्तरमा प्रश्न उठेको छ । विद्यार्थी सङ्ख्या पनि निकै घट्दै गएको अवस्था छ । यो विद्यालयको शिक्षण सिकाई, विद्यालयको वातावरणका कारण विद्यार्थीको चाप रहेको पाइयो ।’

मन्त्री चौधरीले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा विद्यालयको प्रशंसा व्यक्त गरिन ।

मन्त्री चौधरीले ज्येष्ठ नागरिकहरूले पाउँदै गरेको सामाजिक सुरक्षा भत्ता सँगै ज्येष्ठ नागरिकहरूका निम्ति दिवा सेवा केन्द्र जस्ता कार्यक्रम ल्याउन लागिएको बताइन् ।

त्यस अवसरमा बोल्दै संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री रेशम लामाले सामुदायिक विद्यालयको सुधारका निम्ति आफूले लामो समयदेखि पहलकदमी गर्दै आएको बताए

विद्यालयका प्रधानाध्यापक रामचन्द्र थापाले विद्यालयलाई अझ वैज्ञानिक शिक्षण सिकाई लागू गर्नका निम्ति शिक्षकको व्यवस्थापन लगायतका विषयहरू आवश्यक रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?