धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा

लोकपथ
26
Shares

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली डाँडा जिल्लाकै धार्मिक पर्यटनको प्रमुख गन्तव्य बनेको छ । प्राकृतिक मनोरम दृश्य अवलोकनका लागि मात्र नभई पछिल्लो समय देवचुली डाँडामा भक्तजनको समेत भीड लाग्न थालेको छ ।

डाँडामा रहेको तीनकन्या माईको दर्शन गर्न आउनेको सङ्ख्या बढेको देवचुली डाँडा पर्यटकीय क्षेत्र निर्माण समितिका अध्यक्ष विद्रोही गिरीले बताए । चैते पूर्णिमामा यहाँ पूजाका लागि ठूलो सङख्यामा भक्तजन आउने गर्दछन् । उक्त दिन तीनकन्या माईको पूजा हुने गर्दछ । थारु समुदाय यस दिन शिरथान कुमारवर्ती माईकारुपमा पूजा गर्न देवचुली डाँडा आउँछन् ।

सोमबारको चैते पूर्णिमाका दिन पूजाका लागि एक हजार ५५ जना दर्शनार्थी देवचुली डाँडा आएको अध्यक्ष गिरीले जानकारी दिए । थारु समुदायका मानिस देवचुली-६ स्थित कीर्तिपुर पहिलो दिन बास बसेर माईको आराधाना गरी दोस्रो दिन इन्द्रसोत पुगेर बास बस्ने गर्छन् । तेस्रो दिन अर्थात् पूर्णिमाको दिन देवचुली डाँडामा पुगेर पूजा गर्ने चलन छ । पूर्णिमाको दिन अन्य समुदायले आफ्नो मनोकाङ्क्षा पूरा होस् भनी पूजा गर्ने चलन छ ।

पूजा गर्न आउने श्रद्धालुभक्तजनको सहजताका लागि यसपटक देवचुली डाँडा पर्यटकीय क्षेत्र निर्माण समितिले स्वयंसेवक परिचालन गरेको थियो । समितिका अध्यक्षका गिरीका अनुसार भीडलाई व्यवस्थापन गर्न सिर्जना सामुदायिक वन समूह कीर्तिपुर र चुलीबोझा मगर होमस्टेले स्वयंसेवक परिचालन गरेका थिए । पूजामा भक्तजनले भेडा, पाठापाठी, परेवा चढाउने मूल पुजारी गुनबहादुर गुरौले बताए । समुन्द्री सतहदेखि एक हजार आठ सय मिटर अग्लो ठाउँमा रहेको गुफाभित्र माईको पूजा गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?