ललितपुर महानगरले नगरबासीलाई पाठेघरको मुखको क्यान्सरको निशुल्क उपचार गर्ने

लोकपथ
39
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले आजदेखि महानगरभित्रका २९ वटै वडाहरुमा पाठेघरको मुखको क्यान्सर प्रारम्भिक परिक्षण (स्क्रिनिङ) सेवा सुरु गरेको छ ।

गत वर्ष देखी नै ३० देखि ६० वर्ष उमेर समूहका एक हजार २४० जना महिलाहरुको एचपिभि डिएनए विधिबाट ८ वटा वडाहरुमा प्रारम्भिक परिक्षण र उपचारको पहल गर्दै आएको महानगरपालिकाले यो वर्षबाट २९ वटै वडाहरुमा स्क्रिनिङ सेवा बुधबारबाट विस्तार गरेको हो । गत वर्ष परिक्षण गरिएका मध्ये १४ प्रतिशत महिलामा पाठेघरको क्यान्सर पोजेटिभ देखिएको महानगरपालिकाको प्रवक्ता राजु महर्जनले बताए ।

सुरुमा वडावडामा पुगेर जनचेतना जगाउने,दोस्रोमा स्क्रिनिङ गर्ने र परिक्षण पछि पोजेटिभ देखिए सल्लाह सुझावका साथै उपचार समेत महानगरले निशुल्क गराउने प्रवक्ता महर्जनले जानकारी दिए ।

‘पहिला वडावडामा पुगेर अभिमुखीकरण कार्यक्रम गर्ने, परिक्षण गर्ने र क्यान्सर पोजेटिभ आएका महिलाहरुलाई डाक्टरसँग छलफलमा ल्याएर उहाँहरुको क्यान्सर कुन अवस्थामा पुगेको हो सम्पूर्ण कुरा जानकारी गराउाछौं । जतिपनि पोजेटिभ आएका हुनुहुन्छ उहाँहरुको महानगरपालिकाले निशुल्क उपचार गराउने लक्ष्य हाम्रो छ’ प्रवक्ता महर्जनले भने ।

महानगरले नेपाल क्यान्सर केयर फाउण्डेशनको प्राविधिक सहयोगमा निशुल्क उपचार सेवा प्रदान गर्न लागेको हो ।
पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण र उपचार सबैको पहुँचमा पुर्याउन जनचेतना बढाउने उद्देश्यले महानगरले पाठेघरको मुखको क्यान्सरविरुद्ध स्वास्थ्य शिविर सुरु गरी २९ वटै वडाहरुमा एक पटकमा दुई सय जनाको दरले स्वास्थ्य परिक्षण गराउने भएको हो ।

नेपाल क्यान्सर केयर फाउण्डेशनका निर्देशक तथा क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरेका अनुसार पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण (स्क्रिनिङ) गर्नका लागि संसार भरिमै हाल उपलब्ध विभिन्न विधिहरुमध्ये प्रभावकारी मानिएको एचपिभि डिएनए विभिबाट परिक्षण गर्दै आएको जानकारी गराइन । नेपाल क्यान्सर केयर फाउण्डेशनको आँकडा अनुसार महिलाहरुमा हुने क्यान्सर मध्ये स्तन र पाठेघरको क्यान्सर सबैभन्दा बढी मात्रामा देखिएको र पाठेघरको क्यान्सर सुरुमै स्क्रिनिङ गरी उपचार गरे पूर्ण रुपले बच्न सकिन्छ ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले महिलामा पाठेघरको मुखको क्यान्सर यौन सम्पर्कका कारण हुने भएकाले विवाह हुने उमेर भन्दा अगाडि नै किशोरीहरुलाई क्यान्सर विरुद्धको खोप दिन सके क्यान्सर निमुल पार्न सकिने बताए ।

सोही अनुसार नै सरकारले चौध वर्ष उमेर समुहका दश हजार किशोरीलाई खोप लगाएको उल्लेख गरे । उनले आउने वर्ष १०–१४ वर्ष उमेरका नेपालभरिका सबै किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने अभियानको तयारी सरकारले गरिरहेको बताए ।

‘हामीले खोपको लागि गृहकार्य गरिरहेका छौं । सरकारले गत वर्ष २० हजार खोप ल्याएको थियो, दश हजारलाई हामीले लगाउन सफल भयौं । आउने वर्ष हामी नेपाल भरिकै १० देखि १४ वर्ष उमेर समुहका सबै किशोरीहरुलाई लक्षित गरेर पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान नै सञ्चालन गर्ने तरखरमा छौं,’ लालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?