ईद उल फित्रमा प्रधानमन्त्रीको सन्देश–नागरिकलाई स्वतन्त्र रूपमा धर्म मान्ने अधिकार छ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक नागरिकलाई आफ्नो धर्म स्वतन्त्रतापूर्वक मान्न पाउने अधिकार रहेको बताएका छन् । मुस्लिम धर्मावालम्वीहरुको पर्व ईद उल फित्रको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आफू खुशी धर्म र संस्कृति अवलम्बन गर्ने हक हरेक नागरिकमा रहेको उल्लेख गरे । 

 ‘हरेक नेपालीको धार्मिक तथा साँस्कृतिक जीवनमा हर्षाेल्लासका साथ सहभागी हुने अधिकार सुनिश्चित गरिएको छ’, शुभकामना सन्देशमा भनिएको छ, ‘उत्साहको यही परिवेशमा आर्थिक–सामाजिक रूपान्तरणको ध्येयका साथ सारा देश समृद्ध नेपाल सुखी नेपालीेको राष्ट्रिय आकाक्षा पूरा गर्न अग्रसर छ ।’

 प्रधानमन्त्री ओलीले संविधानले धार्मिक र साँस्कृतिक स्वतन्त्रतासहितको धर्मनिरपेक्षतालाई सुनिश्चित गरेको उल्लेख गरे । ‘नेपालका मुस्लिम समुदायलगायत सबैको धार्मिक तथा साँस्कृतिक अधिकारहरुको प्रत्याभूति भइसकेको छ’, प्रधानमन्त्रीले भने, ‘देशमा इस्लाम धर्मावलम्वीहरुको धार्मिक स्वतन्त्रता तथा हक–अधिकारलाई सुव्यवस्थित एवं सुनिश्चित गर्न संवैधानिक व्यवस्था अनुरूप मुस्लिम आयोग पनि क्रियाशील छ ।’ 

मुस्लिम धर्मावलम्बीहरुको मागपछि सरकारले ईद उल फित्रको अवसरमा आज  आज सार्वजनिक बिदासमेत दिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?