खोकनामा बिहीबारदेखि १२ वर्षे सिकाली जात्रा

लोकपथ
196
Shares


काठमाडौं । ललितपुरको खोकनामा १२ वर्षे सिकाली जात्रा बिहीबारदेखि सुरु हुने भएको छ ।

सिकाली जात्रा अजिमा जात्रा व्यवस्थापन तथा समन्वय समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ऐतिहासिक जात्राको तयारी पुरा भएको जनाएको छ ।

ललितपुरको खोकनो लिच्छविकालीन इतिहास बोकेको १२ वर्षे ‘रुद्रायणीदेवी मेला’को तयारी पुरा भएको समितिका अध्यक्ष पंच नारायण महर्जन जानकारी दिए ।

जात्रा यही चैत २२ गते सिकाली देवगणसहित काठमाडौंमा प्रवेश गरी हनुमान ढोकाभित्र सिकाली देवीनाच प्रदर्शन गर्दै आरम्भ हुने उनले बताए ।

उनले भने, ‘यस वर्ष सिकाली जात्रा परम्पराको १२ वर्षे मेला अवधि परेको छ । जात्राको अवसरमा परम्पराअनुसार खोकनासहितका छिमेकी गाउँहरुमा र जिल्लाहरुमा पनि देवीनाच प्रदर्शन हुनेछ ।’ देवगण काठमाडौंमा प्रवेश भएपछि हनुमान ढोकाभित्र नासः चोक, तलेजु भगवानको अगाडी त्रिशूल चोक र कालभैरव पछाडि डबलीमा सिकाली देवीनाच गर्ने परम्पराअनुसार तयारी गरिरहेको उनले जानकारी दिए ।

‘रुद्रायणी मेला’को नामले समेत चिनिने उक्त जात्रालाई देश र जनताको रक्षार्थ देखाइने भएकाले यसको छुट्टै महत्व छ ।
जात्राले देश तथा विदेशका पर्यटन भित्र्याउने तथा पुरातात्विक सम्पदाको संरक्षण हुने आयोजकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?