हिउँ रहे पो हिमालचुली !

लोकपथ
65
Shares

कास्की । “जाडोको खासै महसुस गर्न नपाई हिउँद बित्यो”, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका डमबहादुर पुनले भने, “पोहोर र अहिले घोरेपानी–पुनहिलमा हिउँ नै परेन ।” ३२ सय १० मिटर उचाइको पुनहिल केही वर्षअघिसम्म हिउँले छपक्कै ढाकिने गरेको उनले सुनाए। पुनहिलबाट आँखैअघि देखिने हिउँचुचुरा पनि पहिले झैँ सेताम्मे देखिन छाडेको पुनको भनाइ छ ।

“हिउँदमा हल्काफुल्का हिउँले ढाकेपनि वर्षात्मा त हिमाल पनि फुस्रा र काला देखिन्छन्”, ७० वर्षीय उनले भने, “हामीले हेर्दाहेर्दै हिमालबाट हिउँ घटिरहेको छ, यसरी हिउँ निथ्रिदै गए हिमाल कसरी जोगिएलान् र रु हिउँबिनाको हिमाल के हिमाल १” पुनले भने झैँ हिउँ छ र पो हिमालहरु छन् । हिउँबिना त ति केबल नाङ्गा र उजाड कालापत्थर न हुन् ।

पर्यटन व्यवसायी जुली पुनका भनाइमा हावापानीमा आएको फेरबदलले घोरेपानी–पुनहिलको पर्यटन क्षेत्रलाई पनि असर पु-याइरहेको छ । “केही दिनयता तुँवालो मडारिएर हिमाल खुलेको छैन, दोस्रो मुख्य पर्यटकीय याम भएर पनि पर्यटकीय चहलपहल कम छ”, उनले भनिन्, “पहिलेपहिले हिउँ खेल्न पर्यटक आउँथे, पछिल्लो समय हिउँ पनि पर्न छोड्यो, फासफुस परिहाल्यो भने पनि उतिखेरै बिलाउँछ ।”

स्वच्छ र शान्त वातावरणमा हिमाल नियाल्न पर्यटक पुनहिल आउने गरेको जुलीले बताइन् । “विश्वका दस अग्ला हिमालमध्येमा पर्ने अन्नपूर्ण, धवलागिरि, मनाश्लुलगायत एकैसाथ दर्जनौँ हिमाल यहाँबाट देख्न सकिन्छ, घारेपानी–पुनहिलको पर्यटन नै प्रकृति र हिमालका कारण टिकेको छ”, उनले भनिन्, “हिमालको सौन्दर्य र शोभा हराउँदै गए त्यसको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा पनि पर्छ ।”

जलवायु विज्ञ डा. बिमल रेग्मीले विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमालय क्षेत्रमा सङ्कट गहिरिँदै गएको बताए । अहिलेकै गतिमा हिउँ पग्लिँदै गएमा आउँदा केही दशकमा नेपालका हिमालहरु कालापत्थरमा परिणत हुने उनको भनाइ छ । विश्वव्यापी तापक्रम वृद्धिलाई १।५ डिग्री सेल्सियसमा सीमित पार्दा पनि यही शताब्दीको अन्त्यसम्ममा हिन्दुकुश–हिमालय क्षेत्रको ३६ प्रतिशत हिउँ भण्डार रित्तिने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द (इसिमोड) को अध्ययनले देखाएको डा रेग्मीले बताए ।

“अहिले नै विश्वव्यापी तापक्रम १.१ डिग्री सेल्सियसले वृद्धि भएकामा पृथ्वीको तापमान दुई डिग्रीले बढ्ने हो भने हिमालय क्षेत्रको आधा हिउँ सकिने उक्त अध्ययनको निचोड छ”, डा .रेग्मीले भने, “हरित ग्यास उत्सर्जनलाई नियन्त्रण गर्न विश्वले कदम उपयुक्त नचाल्ने हो भने हिमालय क्षेत्रमा गम्भीर सङ्कट निम्तने खतरा छ, कुनै दिन हिमालको अस्तित्व नै नासिन सक्छ ।”

उनका अनुसार सन् २०१५ मा भएको पेरिस सम्झौतामा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धीका पक्ष राष्ट्रहरुले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित पार्ने र २ डिग्री सेल्सियसभन्दा बढ्न नदिने सहमति गरेका थिए । पृथ्वीको तापमान बढ्नुको मुख्य कारण हरित ग्याँसको उत्सर्जन रहेको डा .रेग्मीको भनाइ छ । “कार्बनडाइअक्साइड, मिथेन जस्ता मानवउत्सर्जित हरितगृह ग्यासले सूर्यको तापक्रम सोसेर राख्ने हुँदा पृथ्वीको तापक्रम बढ्छ”, उनले भने, “विश्वव्यापी तापमान वृद्धिका कारण निम्तिएको जलवायु सङ्कटको ठूलो मार हिमालय क्षेत्रमा परिरहेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?