मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापकहरूको बृत्ति विकासमा ध्यान दिन माग

लोकपथ
26
Shares

मुगु । मध्यपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त देशभरिका विभिन्न जिल्लाका क्याम्पसहरुमा कार्यरत प्राध्यापकहरुले आफुहरुको वृत्ति विकासमा विश्वविद्यालयले ध्यान नदिएको गुनासो गरेका छन् ।

विश्वविद्यालयको आठौँ सिनेटले पारित गरेको नियमावली पूर्ण कार्यान्वयनमा नल्याएको भन्दै उनीहरुले आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

रारा क्याम्पस प्राध्यापक संघ मुगुका सभापति हिरा बोहराले विज्ञप्ति जारी गर्दै सो नियमावलीअनुसार मातहतमा कार्यरत आंशिक तथा करार प्राध्यापकरूको बृत्ति विकासका लागि आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गर्नुपर्ने माग गरेका छन् ।

‘दुर्गम पिछडिएका जिल्लाहरूमा कार्यरत प्राध्यापकहरूलाई राज्यले दिएको दुर्गम भत्ता दिने प्रावधान भएपनि लामो समयसम्म आंशिक तथा करारमा कार्यरत प्राध्यापकहरूलाई यी सुविधा दिइएको छैन,’ विज्ञप्तिमामार्फत् उनले भनेका छन् ।

आफूहरूले उठाएका मागहरू पूरा नभए आन्दोलनमा उत्रिन बाध्य हुने विज्ञप्तिमार्फत् चेतावनी दिइएको छ । मध्यपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त देशभर १० वटा क्याम्पसहरू रहेका छन् । आइतबार भने मुगुस्थित रारा बहुमुखी क्याम्पस र बाँकेस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा गठित प्राध्यापक संघहरूले विज्ञप्तिमार्फत् प्राध्यापकहरूले उठाएका माग पूरा गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?