जापानमा फस्टाउँदै नेपाली रेष्टुरेन्ट व्यवसाय

लोकपथ
39
Shares

काठमाडौं। जापानमा नेपाली मौलिक खानाको परिकारसहित सञ्चालनमा आएका रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको छ ।

राजधानी टोकियोका अधिकांश रेल स्टेशनमा सञ्चालित रेष्टुरेन्टमा समेत दाल, भात, गुन्द्रुकको अचारसहितको खानाको स्वाद लिन पाइन्छ ।

जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल(इन्जा) का पदाधिकारीसँग केही समयअघि भएको भेटमा जापानमा हाल करिब आठ हजारको सङ्ख्यामा नेपाली रेष्टुरेन्ट सञ्चालनमा रहेको बताएका थिए ।

वैदेशिक रोजगारीका सिलसिलामा सुरुआती दिनमा भारतीयद्वारा सञ्चालित रेष्टुरेन्टमा भान्सेका रुपमा पुगेका नेपाली नागरिक पछिल्लो समय आफैँ उक्त व्यवसाय सञ्चालन गर्दैआएका छन् । अहिले नेपाली रेष्टुरेन्ट सञ्चालकले उल्टै ठूलो सङ्ख्यामा भारतीय र पाकिस्तानी नागरिकलाई रोजगारी प्रदान गरेको पाइएको छ ।

नेपालीले जापानका विभिन्न ठाउँमा कम्पनीका रुपमा रेष्टुरेन्ट खोल्ने र नेपालबाटै कामदार मगाउने क्रमसँगै जापानमा नेपाली रेष्टुरेन्टको सङ्ख्या ह्वात्तै बढेको छ ।

रेष्टुरेन्टमा काम गर्ने नेपाली भान्सेको मासिक सरदर न्यूनतम एक लाख ५० हजार रुपैयाँसम्म कमाइ हुने गरेको छ । नेपाली व्यवसायीले लगानी र सञ्चालनका आधारमा मुनाफा प्राप्त गर्दैआएका छन् ।

पछिल्लो समय जापानमा एउटै नेपालीले २० वटासम्म रेष्टुरेन्ट सञ्चालन गर्दैआएको पाइएको छ । त्यसभन्दा कम रेष्टुरेन्ट सञ्चालन गर्ने नेपाली व्यवसायीको सङ्ख्या उल्लेख्य रहेको छ ।

रेष्टुरेन्ट व्यवसायीले नेपालबाट कामदार मगाउँदासमेत शुल्क लिने गरेकाले यो व्यवसाय दोहोरो रकम आर्जनको माध्यम बनेको छ । जापानमा रेष्टुरेन्ट व्यवसायमा देशका अरु भागको तुलनामा खासगरी बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, अर्घाखाँचीलगायतका जिल्लाका बासिन्दा बढी संलग्न छन् ।

विदेशमा रहेर पनि नेपाली परिकार खान पाइने भएकाले साँझ र बिहान त्यस्ता नेपाली रेष्टुरेन्टमा नेपालीको उपस्थिति बाक्लो देख्न पाइन्छ । नेपाली रेष्टुरेन्टमा ८० प्रतिशत ग्राहक भने जापानी नै हुने गरेको पाइएको छ ।

नेपाली रेष्टुरेन्टमा भारतीय खाना ‘नान’ र ‘करी’ पनि उत्तिकै लोकप्रिय छ । जापानमा अध्ययनका सिलसिलामा आएका हजारौँ विद्यार्थी पनि आफ्नो पढाइ सकिएपछि रेष्टुरेन्ट व्यवसायमा संलग्न हुने गरेका गैरआवासीय नेपाली समाजका अभियन्ता भुषण घिमिरे बताउँछन् ।

जापानको टोकियोमा होस् वा ओकिनावामा, यहाँ सञ्चालित रेष्टुरेन्ट व्यवसायका माद्यमबाट नेपाली कला, संस्कृति, वेशभूषा, खानपान र भाषाको प्रवद्र्धनमा उलेख्य योगदान पुगेको छ । रेष्टुरेन्टको नाम पनि रातोमाटो, नमस्ते, एभरेष्ट, गोधुली, मनकामना, लुम्बिनी, निम्तो, चिनो, आँगन, हार्दिक र चमेलीजस्ता नेपाली मौलिक नाम राखिएको पाइन्छ ।

त्यसो त कतिपय जापानी रेष्टुरेन्टको अग्रभागमा काम गर्नेसमेत नेपाली नै रहेका हुन्छन् । हाल जापानमा अध्ययनसहित विभिन्न पेसा व्यवसायमा रहने नेपालीको सङ्ख्या करिब एक लाख ६३ हजार रहेको छ ।

दालभात, तरकारीका अलवा कोदो र फापरको ढिँडो, मःमजस्ता परिकार तथा ब्यञ्जनले नेपाली खानालाई जापानमा परिचित बनाएको छ । अहिले जापानमा रेष्टुरेन्ट व्यवसायी, भान्से अथवा ‘वेटर’मात्र नभई विभिन्न क्षेत्रमा स्थापित रही ख्याति कमाउनेको सङ्ख्या पनि थुप्रै छ ।

टोकियो होस् वा अरु कुनै सहरका रेष्टुरेन्टमा फहराइएको नेपाली झण्डाले मुलुकको चिनारी र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याइरहेको सहजै अनुमान गर्न सकिन्छ ।

नेपाली रेष्टुरेन्टमा तयार हुने चिकेन, मटन, छोइला, हल्का पेयपदार्थ जापानी युवायुवतीमाझ लोकप्रिय बन्न पुगेको छ । जापानमा अध्ययनरत नेपाली विद्यार्थीलाई पनि साँझररातिको समय मिलाएर त्यस्ता रेष्टुरेन्टमा काम गर्ने अवसर मिलेको छ । उनीहरुले त्यो समयमा काम गरेबापत अतिरिक्त आम्दानीसमेत प्राप्त गर्दै आएका छन् । होकाइडोदेखि ओकिनावासम्म त्यस्ता नेपाली रेन्टुरेन्ट छयाप्छाप्ती छन् ।

जापानमा कुनै पनि कम्पनी खोलेपछि रेष्टुरेन्टलगायत व्यवसाय सञ्चालन गर्न सहज हुने गर्छ । कम्पनीअन्तर्गत अधिकांशले सजिलोका लागि रेष्टुरेन्टलाई नै लिने गरेको पाइएको छ । जापानमा ५० लाख ऐन धरौटी राखेपछि कम्पनी खोल्न पाइन्छ । जापानमा लगानीअनुरुप खाना खुवाएबापत रेष्टुरेन्टबाट राम्रै आम्दानी प्राप्त हुने भए पछि नेपालीहरुमा रेष्टुरेन्ट सञ्चालनको मोह बढेको हो । पछिल्लो समय यस व्यवसायमा प्रतिस्पर्धा भएसँगै खानाको गुणस्तर र दररेट भने खुम्चिएको पाइएको छ ।

टोकियोको सिञ्जुस्थित सिनोगुवोमा नेपाली नागरिक बसोबास गर्ने तथा रेष्टुरेन्ट सञ्चालन गरिएको क्षेत्र हो । जापानीमा भात नै रेष्टुरेन्टको एउटा मुख्य मेनु भएकाले नेपाली रेष्टुरेन्टमा दालभात तरकारी नै प्रायः खाने गरेको पाइन्छ ।

जापानमा सञ्चालनमा रहेका रेष्टुरेन्टमा कम्तीमा तीनदेखि पाँच जनासम्म कामदारले रोजगारीको अवसर प्राप्त गरेको पाइएको छ । जापानमा कुनै पनि कामदारलाई मासिक एक लाख ८० हजारभन्दा कम तलब दिन मिल्दैन ।

तर नेपालबाट भर्खर गएका र आवश्यक सीप हासिल गरिनसकेका ‘वेटर’ले भने सालाखाला एक लाख ३० हजार तलब सुविधा पाउने गरेका छन् । अरु स्थानका तुलनामा टोकियो महँगो सहर भएकाले यहाँका ग्रामीण क्षेत्रमा काम गर्नेको कमाइ बढी हुने गरेको छ ।

सिनोकुवामा रेष्टुरेन्टका सबै मेनुमा नेपाली खाना रहने गरी खोलिएको भूषण घिमिरेको नेपाली मःम रेष्टुरेन्ट पनि त्यस क्षेत्रको लोकप्रिय रेष्टुरेन्टको सूचीमा छ । नेपाली रेन्टुरेन्टमा ग्राहकले नेपाली खानाको मूल्य एक हजारदेखि दुई हजार पाँचसयसम्म तिर्ने गरेका छन् ।

एउटा रेष्टुरेन्टले सामान्य हिसाबले सञ्चालन गर्न मासिक न्यूनतम ३० लाखसम्मको कारोबार गर्नुपर्छ । नेपाली खानाका अतिरिक्त जापानी, भारतीय, थाइल्याण्ड र भियतनामका परिकार पनि त्यस्ता रेष्टुरेन्टमा बढी पाइन्छ ।

ठूला महल र व्यापारिक चोकमा भाडा तथा खाना महँगो पर्छ । होटल तथा विभिन्न कम्पनीमा काम गर्ने नेपाली महिलाको सङ्ख्या पनि उल्लेख्य छ । टोकियोको मध्यभागमा नेपाली मौलिक परम्परागत काठ र रातोका सामग्रीबाट सजावट गरिएको रातोमाटो रेष्टुरेन्टका सञ्चालक शिवहरि पौडेलले आफ्नो रेन्टुरेन्टमा नेपाली परिकारको स्वाद लिन युवायुवतीको बाक्लो उपस्थिति रहने गरेको प्रतिक्रिया दिए ।

जापानमा पछिल्लो समय रेष्टुरेन्टलगायतका व्यवसाय बढेको र आफूले १२ नेपालीलाई रोजगारी प्रदान गरिरहेको अभियन्ता घिमिरे बताउँछन् । एक दशकअघिसम्म जापानको कमाइले नेपालका ठूला सहरमा घरजग्गा किन्न सकिने भएपनि पछिल्लो समय भने नेपालमा बढेको महँगीले सकस भएको उनको भनाइ छ ।

पछिल्लो समय नेपालमा भएको महँगी र बेरोजारीको समस्याले अप्ठ्यारोमा पारेको अभियन्ता घिमिरे बताउँछन् । विदेशबाट फर्केका कैयौँ नेपाली स्वदेश फर्किएपछि पुनः विदेशिन परेका प्रशस्त उदाहरण छन् । जापानमा रहेका विदेशीमध्ये छैटौँ ठूलो जनसङ्ख्या नेपाली रहेको तथ्याङ्क छ । जापानमा रहेका नेपालीमा सबैभन्दा बढी विद्यार्थी छन् ।

नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ तारिखमा औपचारिकरुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । तर करिब डेढ सय वर्षअघिदेखि नै दुवै देशबीच सम्बन्ध ऐतिहासिक र प्रगाढ रहीआएको छ । नेपालको विकासमा सहयोग गर्ने मुलुकमा जापान अग्रस्थानमा पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?