इलाम-२ को उम्मेदवार चयन काठमाडौंको गोप्य कोठामा हुँदैन : गगन थापा

लोकपथ
715
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इलाम २ को उपनिर्वाचनका लागि कांग्रेसले पार्टी कार्यालयको गोप्य कोठामा बसेर उम्मेदवार छानेर गल्ती नगर्ने बताएका छन् ।

‘इलाममा उम्मेदवार बन्न आकाक्षा राख्ने नेताहरुमा वहालवाला जिल्ला सभापति, हुनेवाला सभापति, हुन नसकेको पार्टी सभापति, पूर्वसभापतिलगायत सात जना हुनुहुन्छ । उम्मेदवार छान्ने बेलामा सानेपाको पार्टी कार्यालयमा हामी सिमित व्यक्तिले छान्ने प्रक्रिया नै गलत छ । एक जना छान्दा अरुलाई अन्याय भयो भन्ने लाग्छ । कि भारतीय जनता पार्टीले जस्तो सर्भे विधिमा जानुपर्यो । चुनाव भन्दा अघि एउटा टिम पठाएर सर्भे गर्ने विधि अपनाउनुपर्यो । सर्भेले अलोकप्रिय ठहर्याएको व्यक्ति टिकट नपाउने व्यवस्था हुनुपर्यो । होइन भने जिल्लाकै साथीहरुले निर्णय गर्नुपर्छ । नत्र पार्टीको विधि र विधान अनुसार हुनुपर्छ,’ महामन्त्री थापाले भने ।

शुक्रबार संवाद यात्राका क्रममा कपिलवस्तु लबनीमा खुला संवाद कार्यक्रममा बोल्दै इलामको उम्मेदवार काठमाडौंमा चयन गर्नु गलत भएको बताए । महामन्त्री थापाले भने,‘भोलि चुनाव जिताउने बेलामा उहाँहरु सबै जुट्नुपर्छ । उहाँहरु नै हो खट्नुपर्ने । त्यसैले उम्मेदवार छनोट गर्न पनि जिल्लाकै क्रियाशील साथीहरुलाई जिम्मेवारी दिनुपर्छ । इलामको उम्मेदवार इलामले नै चयन गरोस र जिताओस ।’

आउँदो बैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदैछ । अन्य सबै राजनीतिक दलहरुले उम्मेदवारको छिनोफानो गरेर चुनावी अभियान सुरु गरेपनि कांग्रेसले आधिकारिक उम्मेदवार चयन गर्न सकेको छैन् । गत भदौमा एमाले उपाध्यक्ष एवम उक्त क्षेत्रका प्रतिनिधि सभा सदस्य नेम्वाङको निधन भएपछि उप निर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?