हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा

लोकपथ
0
Shares

सोलुखुम्बु । गत आइतबार सगरमाथा क्षेत्र भ्रमणका लागि पुगेका दुई जना भारतीय पर्यटकका लागि हेलिकप्टर बरदान सावित भयो । लुक्लाबाट पदयात्रा गर्दै नाम्चे, खुम्जुङ, लोबुचे हुँदै गोरक्सेप उक्लिएका उनीहरू त्यहाँबाट अघि बढ्न सकेनन् । पाँच हजार १६४ मिटरको उचाइमा अवस्थित गोरक्सेप पुगेपछि लेक लाग्न सुरु भएकाले स्वास्थ्यमा जटिलता देखिन थालेपछि अन्ततः हेलिकप्टरको साहार लिनुपर्‍यो ।

सगरमाथा क्षेत्र भ्रमणमा पुगेका ती पर्यटक ‘हाइ अल्टिच्युट’का कारण सिकिस्त बनेका थिए । लेक लागेर बिरामी परेपछि उद्धारका लागि हेलिकप्टर झिकाउनुपरेको पर्यटक गाइड नाम्गेल शेर्पाले बताए । उनका अनुसार पाँच हजार एक सय ६४ मिटरको उचाइमा लेक लागेका ती पर्यटकलाई हेलिकप्टरबाट उद्धार गर्नुको विकल्प थिएन ।

हवाई उद्धार गरेर दुई हजार आठ सय ६० मिटरको उचाइ लुक्ला ल्याएको केही समयपछि स्वास्थ्य अवस्था सामान्य बन्दै गएको शेर्पाले बताए । “सुरुमा शरीर कमजोर भएको महसुस गरेका ती पर्यटकले बिस्तारै टाउको दुख्ने र वान्तासमेत गरेका थिए”, उनले भने ।

अवस्था सामान्य होला कि भन्ने प्रतीक्षामा रहेका पर्यटक गाइड उनीहरूको अवस्था झन् नाजुक हुँदै गएपछि भने बाध्य भएर हेलिकप्टर झिकाउनुपरेको व्यवसायी सुशन राईले बताए ।

लेक लागेर श्वासप्रश्वासमा समस्या भइरहेको अवस्थामा समयमा उद्धार हुन नसके मानिसको ज्यान जान सक्ने शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँका डा .सञ्जीव तिवारीले बताए । यस्तो बेला बिरामीलाई कम उचाइ भएको स्थानतर्फ झार्नु नै सबैभन्दा राम्रो उपचार विधि भएको उनको भनाइ छ ।

“लेक लागेर सिकिस्त बनेका बिरामीलाई सधैँ औषधिले मात्रै काम नगर्ने भएकाले तलतिर झार्नु उत्तम विकल्प हुन्छ । झन् माथि गइयो भने त्यसले दुर्घटना निम्ताउन सक्छ”, डा. तिवारीले भने, “म आफू पनि माउण्टेन क्षेत्रको उपचारमा संलग्न भएको अनुभवले लेक लागेको बेला उद्धार गरेर कम उचाइ भएको ठाउँमा लैजानु बुद्धिमानी हुने सुझाव दिन्छु ।”

सगरमाथा क्षेत्रमा सिजनमा दैनिक ५० भन्दा बढी हेलिकप्टरले उडान भर्ने गर्दछन् । कैलाश हेलिकप्टर, हेलि एभरेष्ट, अल्टिच्युट, सिम्रिकलगायत कम्पनीका हेलिकप्टरले सो क्षेत्रमा दैनिक दर्जन बढी पर्यटकको उद्धार गर्ने गरेका छन् ।

सवारीसाधन पुग्न नसकेकाले पनि सगरमाथा क्षेत्रका लागि हेलिकप्टर निर्विकल्प उद्धारको साधन भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेका सहायक संरक्षण अधिकृत मनोजकुमार मण्डलले बताए । हेलिकप्टरले यस क्षेत्र भ्रमणमा आउने सयौँ पर्यटकको ज्यान बचाउने गरेको उनको भनाइ छ ।

मण्डलले भने, “हेलिकप्टर छैन भने त यहाँ धेरै पर्यटकको ज्यान जान सक्छ, भ्रमणमा आउनेहरूलाई उचाइ बढ्दै गएपछि लेक लाग्ने समस्या हुन्छ, त्यस्तो अवस्थामा उनीहरूको उद्धार भएन भने जे पनि हुनसक्छ, त्यसैले यहाँका लागि हेलि भनेको सहरको एम्बुलेन्सजस्तै हो ।” उनका अनुसार सगरमाथा क्षेत्रका लागि हेलिकप्टर सडक पुगेका ठाउँको एम्बुलेन्सजस्तै बनेको छ ।

भौगोलिक कारण हिमालमा हरेक सेवा सुविधा नहुने भएकाले राहत, उद्धारदेखि अतिआवश्यक ढुवानीका लागि हेलिकप्टरको भर पर्नुपर्ने बाध्यता छ । सगरमाथा क्षेत्र पुग्ने पर्यटक तथा पर्यटन व्यवसायीलाई हेलिकप्टर प्रयोग गर्नु रहर नभई बाध्यता भएको विश्व कीर्तिमानी आरोही तेम्बाछिरी शेर्पाले बताए । जसका कारण खुम्बुमा हेलिकप्टर सामान्य बनेको उनले बताए । “यहाँ अ
रू साधन छैन, भारीहरू भरिया र चौँरीले बोके पनि आकस्मिक उद्धारमा त्यो सम्भव छैन, त्यसैले यहाँ त हेलि चढ्नुको विकल्प हुँदैन”, उनले भने ।

सो क्षेत्रमा विभिन्न सामग्री ढुवानीका लागि पनि हेलिकप्टरलाई भरपर्दो साधनका रूपमा लिइन्छ । सगरमाथा क्षेत्रको पाँच हजार एक सय ६४ मिटरको उचाइमा अवस्थित गोरक्सेपबाट माथिल्लो क्षेत्रमा हेलिकप्टरले प्रतिपटक दुई जनाभन्दा बढी यात्रु बोक्न दिइँदैन । नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय मापदण्ड तथा उडान सुरक्षालाई मध्यनजर गर्दै यस्तो नियम लागू गरिएको आरोही शेर्पाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?