प्रधानमन्त्री प्रचण्डले फेरि दिए उथलपुथलको चेतावनी

लोकपथ
2.1k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डले काम गर्न सक्ने स्थितीमा नभएमा अर्को उथलपुथल हुन सक्ने चेतावनी दिएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

‘विकासलाई गती दिने सुशासन कायम गर्ने सन्दर्भमा पनि अहिले पनि हाम्रो गण्डकीको मुख्यमन्त्री जीले उथलपुथलकारी कदम भन्दिनुभयो । उथलपुथल त मैले भनेको थिएँ । म के भन्छु भने साच्चै कामको गति अघि बढ्न सकेन भने अर्को उथलपुथल हुन बेर लाग्दैन । त्यो मैले अरुलाई भन्या होइन है त्यो मैले मेरै लागी भन्या हो ।’ उनले भने ।

त्यस्तै कामै गर्न नसकिने अवस्थामा पद ओगटेर बस्न नहुनेमा समेत जोड दिए । यसअघि आफ्नो पद सुरक्षित हुँदा पनि विकास र समृद्धिका लागि नयाँ समीकरण बनाएको बताए ।

‘मैले भन्ने गरेको छु । कामै गर्न नसकिने भयो भने पद ओगटेर बसिराख्नु हुँदैन ।’ उनले भने, ‘मैले पदको सुरक्षाका लागि अर्को समीकरण बनाएको पनि होइन । पद त मेरो सुरक्षित नै थियो ।’

केही समय अघि प्रधानमन्त्री प्रचण्डले राजनीतिमा उथलपुथल गर्ने चेतावनी दिएका थिए । कांग्रेससँगको समीकरण तोडेर एमालेसँग नयाँ समीकरण बनाएसँगै आफूू नमरुञ्जेलसम्म नेपालमा राजनीतिक उथलपुथल भैरहने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?