सडक विस्तारसँगै सुनसान बन्दै गाउँ

लोकपथ
585
Shares

बागलुङ । हिजोआज सडक नपुगेका बस्ती छैनन् । कच्ची भए पनि गाउँमा सडक पुगेपछि दिनदिनै मोटर गाडी गुड्छन् । मोटर गुड्न सडक गाउँसम्म विस्तार भएपछि पहिले हिँड्ने गोरेटो बाटोमा वनमारा पलाउनुका साथै काँडा उम्रिएका छन् । कुनै समय मानिस र बस्तुभाउ हिँड्ने गोरेटो अहिले सुनसान जस्तै बनेका छन् ।

बागलुङको दुर्गम मानिने ढोरपाटन क्षेत्रमा पनि अहिले धेरै ठाउँमा सडक पुगेको छ । एक दशक अगाडि पर्यटक तथा भक्तजनको घुइँचो हुने फल्लेघरबाट देउरालीसम्मको गारेटो बाटो अहिले झाडी बन्न थालेको छ । योसँगै जिल्लाका ग्रामीण क्षेत्रमा रहेका सयौँ गोरेटो बन्द हुँदै गएका छन् ।

ढोरपाटन नगरपालिका–९ का वीरबहादुर सुनारले सुविधाले पुराना गोरेटो मासिएको बताए । सडकले धेरै ठाउँका गोरेटोबाटो मासेको भन्दै भएका ठाउँमा पनि कोही नहिँड्ने उनको भनाइ छ ।

सुनारले पाका पूर्खादेखि हिँड्दै आएका बाटोलाई विकासले ओझेलमा पारेको भन्दै पुराना गोरेटोलाई पदमार्गका रुपमा विकास गर्नुपर्ने बताए । विकासका नाममा जथाभाबी सडक निर्माण हुँदा गोरेटोसहित पुराना मौलिक सम्पदासमेत मासिएको उनको भनाइ छ ।

“हाम्रो पालामा मोटर गाडी थिएनन् । अहिलेको जस्तो यति ठुला सडक पनि थिएनन् । बटौली, तानसेन पुगेपछि मात्रै गाडी देख्न पाइन्थ्यो । साँघुरो बाटोमा यात्रा गर्थ्यौँ । उतिबेला हामीहरु हिँडेका बाटो अचेल बन्द छन्”, सुनारले भने, “कतै मोटरबाटोले पुरिएका, कतै अप्ठ्यारा बनेका छन् । ती गोरेटोहरू प्रयोगविहीन भएका छन् । सरकारले पुरानो बाटोलाई व्यवस्थित पदमार्ग बनाउन सके बाहिरबाट आउने आगन्तुकलाई सहज हुने थियो ।”

तमानखोला गाउँपालिका–१ का जितबहादुर घर्तीले मोटरबाटोले मान्छेलाई अल्छी बनाएको बताए । पहिले घण्टौँ लगाएर हिँड्नेहरू अहिले १० मिनेटको दूरीमा पनि गाडी चढ्न खोज्ने उनको भनाइ छ ।

मोटरबाटोले गोरेटोबाटोसँगै कुवा, पोखरी, पानीको मुहान र चौपारी सबै विनाश गरेको घर्तीले बताए । पहिले बजारबाट सामान ढुवानी गर्न घोडा, खच्चड प्रयोग गर्ने गरेको स्मरण गर्दै उनले अहिले गाडीमा ओसारपसार गर्न थालेको बताए ।

गोरेटोबाटो ग्रामीण जीवनशैलीसँग जोडिएको भए पनि अव्यवस्थित विकासले अस्तित्व नै धरापमा परेको घर्तीको भनाइ छ । “मोटरबाटोले धेरै सुविधा ल्याएको छ । दिनभरी हिँडेर पुग्ने ठाउँमा अहिले एक घण्टामै पुर्‍याउँछ । सामान बोक्ने समस्या अन्त्य भएको छ । यसले अहिले हिँड्ने बानी पनि हटेको छ”, उनले भने, “हामी सानो हुँदा गाउँमा गारेटोबाटो मात्रै थिए । मान्छेहरू टाढा जानु परे पैदल यात्रा गर्नुपथ्र्यो । अहिले त्यहीँ (तलतिर) जाँदा पनि गाडी चाहिने, जुग जमाना फेरिएपछि गाउँका बाटाघाटा पनि फेरिएका छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?