गाउँपालिकाको अनौठो निर्णय, कक्षा १ लाई तल्लो कक्षाको किताब ?

नुवाकोट । बालबालिकालाई ट्यालेन्ट बनाउने नाममा नुवाकोटको एक गाउँपालिकाले हचुवाको भरमा पाठ्यपुस्तक लागू गरेको पाइएको छ । 

स्थानीय तहलाई छुट्टै ऐन बनाएर स्थानीय पाठ्यक्रमसमेत लागू गर्ने कानुनी आधार भएपनि तारकेश्वर गाउँपालिकाले भने विद्यार्थीलाई ट्यालेन्ट बनाउने नाममा तल्लो कक्षाको पुस्तक पढाउन लागेको भेटिएको छ । 

गाउँपालिकाको शिक्षा समितिले शैक्षिक गुणस्तरमा सुधार गर्ने भन्दै सरकारी विद्यालयको कक्षा १ मा निजी विद्यालयको एलकेजीमा पढाई हुने पाठ्यसामग्री र पाठ्यपुस्तक प्रयोग गरेको पाइएको छ ।  

गाउँपालिकाले अहिले बालविकास र कक्षा १ को लागि भनेर गाउँपालिकाभरि पुस्तक सप्लायर्समार्फत पुस्तक वितरणको काम तीब्र पारेको छ । 

शिक्षाको तहगत, कक्षागत र विषयगत उद्देश्यलाई ख्याल गरेर पाठ्यक्रम निर्धारण गरिनुपर्ने हुन्छ । सोहीअनुरुप राज्यले नै पाठ्यपुस्तक निर्धारण गरेको हुन्छ र नेपाली वा अंग्रेजी जुन माध्यममा भएपनि सरकारले तोकेको पाठ्यक्रम नै पढाउनुपर्ने हुन्छ । तर राज्यले कक्षा १ का लागि निर्धारण गरेर पाठ्यपुस्तक हटाएर अङ्ग्रेजी माध्यममा पढाउने नाममा पालिकाले भने एलकेजीको पाठ्यपुस्तक प्रयोग गर्न थालेको छ । 

यसविषयमा बुझ्दा गाउँपालिका अध्यक्ष रमेश वस्तीले विद्यार्थीलाई प्रतिष्पर्धा गर्न लायक बनाउनका लागि अङ्ग्रेजी माध्यमको पढाई सुरु गरिएको उल्लेख गरे । सन्दर्भ सामग्रीको रुपमा तल्लो कक्षाको पुस्तक प्रयोग गरिएको हुनसक्ने भएपनि कक्षा १ मा एलकेजीको पुस्तक प्रयोग भएकोबारे अनभिज्ञता जनाए । 

यस्तै तारकेश्वर गाउँपालिकाका शिक्षा समितिका संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष चूडामणि गजुरेलले भने परीक्षणका रुपमा बालविकास र कक्षा १ का लागि निजी विद्यालयमा अध्यापन गराइने पाठ्यपुस्तक लागू गरिएको बताए ।

‘बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले नै सबै विद्यालयका प्रधानाध्यापकहरु समेतको सहमतिमा यो निर्णय गरिएको भन्दै यसलाई अन्यथा लिन हुँदैन’ संयोजक गजुरेलले भने । 

गाउँपालिकाले शिक्षा ऐन र कार्यविधिअनुरुप नै पाठ्यक्रम लागू गरेको दाबी गरिरहँदा कुन मापदण्डका आधारमा यही पाठ्यपुस्तक लागू गर्नुभयो भन्ने जिज्ञासामा भने गजुरेलले स्पष्ट जवाफ दिएनन् । 
संविधानले दिएको अधिकारअनुसार गाउँपालिकाले आफ्नो पालिकाभित्र कस्तो शिक्षा लागू गर्ने भन्ने कानुन निर्माण गरेर कार्यान्वयन गर्न पाउँछ । तर कक्षा १ को निम्ति केन्द्रले तोकेको पाठ्यक्रम गाउँपालिकाले तोकेको एलकेजीको पाठ्यपुस्तकले सिकाइ उपलब्धि पूरा गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न रहेको स्थानीय शिक्षासेवी भरत सिग्देलले बताए । 

विद्यालयले पहिलो त्रैमासिक परीक्षा सञ्चालन गर्ने समय आउनै लाग्दा पनि के गर्ने हुनेभन्नेबारे विद्यालय भने स्पष्ट छैनन् । 

हाल राज्यले सबै निजी विद्यालयलाई सार्वजनिक रुपान्तरण गरी शिक्षालाई समान बनाउने भनिरहेको बेला गाउँपालिकाले चाहिँ निजी विद्यालयकै पुस्तक लहडकै भरमा लागू गर्नुले पालिकाको नियतमाथि प्रश्न खडा भएको सरोकारवालको भनाई छ । 

तारकेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक प्रसाद दाहालले प्रक्रियागत रुपमा शिक्षा समितिले गरेको निर्णयमा कुनै त्रुटी नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?