अर्थमन्त्री पुन भन्छन् ‘आगामी बजेट सन्तुलन मिलाएर ल्याइनेछ’

लोकपथ
63
Shares


काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सांसद सदस्यहरुको सुझाव समेतका आधारमा आगामी बजेट तर्जुमा गरिने बताएका छन् ।प्रतिनिधि सभाको बैठकमा बुधबार उनले संसदमा दिएका सुझावहरु बजेटमा समावेश हुने कुरामा शंका उत्पन्न भएको भन्दै सुझाव समेतका आधारमा बजेट तर्जुमा गर्ने बताए ।

उनले भने, ‘निवर्तमान अर्थमन्त्रीले सरकारको तर्फबाट पेस गर्नु भएको विनियोजन विधेयक २०८१ सिद्धान्त र प्राथमिकतामा पुनलेखन हुनुपर्ने विषय उठेको छ । सरकारका नीतिहरुमा स्थिरता कायम गर्नुपर्ने, राम्रो नीति कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र परिवर्तित सन्दर्भ अनुसारको आवश्यकता, सम्भावना र सोचलाई सम्बोधन गर्ने सन्तुलन मिलाएर आगामी बजेटको सिद्धान्त र प्राथमिकता कायम गरिने छ ।

पुनः विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्ने व्यवस्था नभएकाले सदस्यहरुको सुझाव समेतका आधारमा बजेट तर्जुमा गरिने छ ।’आगामी वर्षको बजेट १६ औं योजनाको सोचअनुसार नै प्रमुख कार्यक्रमहरु कार्यान्वयन गर्ने वर्ष हुने उनले बताए ।

उनले भने, ‘पेस भएको सिद्धान्त र प्राथमिकता संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख हुन नसकेको र सामाजिक न्यायको एजेण्डालाई उपेक्षा गरिएको कुरामा आगामी वर्षको बजेट १६ औं योजनाको सोचअनुसारको पहिलो वर्षको प्रमुख कार्यक्रमहरु कार्यान्वयन गर्ने वर्ष हुनेछ ।’

उनले सुशासन, सामाजिक न्याय र समृद्धिको सोचसहित योजनाका कार्यक्रमहरुको कार्यान्वयनबाट आगामी वर्ष संविधानमा उल्लेख भएअनुसारको समाजवाद उन्मुख अर्थतन्त्र र सामाजिक प्रणालीको विकासको लागि ठोस आधार तय हुने पनि बताए ।
अर्थतन्त्रलाई चलायमान बनाउन र देखा परेका विभिन्न चुनौतीहरुका साथै मिटरब्याजी पीडित, सहकारी र लघुवित्तको समस्या समाधान गर्न विभिन्न कदम चाल्ने पनि उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?