दश करोडको लागतमा नगर भवन निर्माण हुँदै

लोकपथ
0
Shares

महोत्तरी । दश करोडको लागतमा महोत्तरीको भंगहा नगरपालिकाकार्यपालिकाको प्रशासकीय भवन निर्माण हुने भएको छ । भङ्गाहा–५ सीतापुरस्थित १० कट्ठा १९ धुर जग्गामा आइतबार प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरत्सिंह भण्डारीले शिलान्यास गरेका हुन् ।

कूल १० करोड ९१ लख ४२ हजार ६२३ को लागतमा प्रशासकीय भवन निर्माण गरिने नगर कार्यपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजयकुमार यादवले बताए । भवन निर्माणका लागि नगरप्रमुख सञ्जिवकुमार साहकी माता फूलकुमारी साहले करिब दुई करोड मूल्य बराबरको जग्गा दान गरेका थिए । शिलान्यासपछि पूर्वमन्त्री भण्डारीले जग्गादाता फूलकुमारी र उहाँका पति अशेश्वर साहलाई दोसल्ला ओढाएर सम्मान गरे ।

हालको कार्यालय भवन नगरप्रमुख सञ्जिवकुमार साहको निजी हो । यो भवन कार्यालय सञ्चालनका लागि नगरप्रमुख साहले दुई वर्षअघि निःशुल्क उपलब्ध गराएका थिए । नयाँ भवन निर्माण नभएसम्म कार्यालय सञ्चालनका लागि उक्त भवन निःशुल्क उपलब्ध गराइरहने नगरप्रमुख साहले आफ्नो पुरानो प्रतिबद्धता दोहोर्‍याए । नयाँ भवन दुई वर्षभित्र पूरा गर्ने लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?