वनको डढेलो बस्तीमा सल्किँदा १७ घर जले

लोकपथ
63
Shares

तेह्रथुम । तेह्रथुमको फेदाप गाउँपालिका–१ सिम्लेमा आइतबार दिउँसो वनमा अचानक लागेको डढेलो बस्तीमा सल्किँदा १७ घर जलेका छन् ।

गाउँको पुछारको सल्किएको आगोले सिंगो वन सखाप पारेको छ भने वनको आसपासमा रहेका १७ वटा घर जलेर नष्ट भएका छन् । दिनभर अनियन्त्रित बनेको आगो प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले राति अबेर मात्रै नियन्त्रणमा लिए । आगलागीमा परेर १७ घर र दुई वटा गोठ जलेको गाउँपालिका अध्यक्ष केशवप्रसाद भेटुवालले जानकारी दिए ।

उनका अनुसार त्यसमध्ये १० वटा घरमा अहिले पनि मानिसहरू बस्दै आएका थिए भने अन्य ७ वटा घरमा भने मान्छे थिएनन् । दिनमा आगलागी हुँदा कुनै मानवीय क्षति नभएपनि पशुचौपाय र धनसम्पत्ति भने जलेर नष्ट भएको छ । सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ ।

आगलागीले नगद, अन्नपात, लत्ताकपडा, गरगहनालगायत धनसम्पत्ति नष्ट भएको र पीडितहरूलाई राहत सामग्री वितरण थालिएको अध्यक्ष भेटवालले बताए ।आगलागीले मयन्तापा, बाझोगरा, टारी लगायत गाउँका चक्रबहादुर भण्डारी, पर्शुराम राई, अश्विनकुमार राई, कृष्णबहादुर घतानी, धनप्रसाद राई, कल्पना राई, सुकबिर राई, जयकुमार घतानी, मनप्रसाद राई र जयमान राईको घर जलेको छ । घर जलेपछि उनीहरू विस्थापित भएका छन् ।

त्यस्तै, हाल मान्छे नरहेका सरस्वती राई, डम्बरबहादुर घतानी, बिर्खबहादुर बुढाथोकी, चन्द्रबहादुर बुढाथोकी, लाइनबहादुर थापा, तिलबहादुर थापा र सेरबहादुर बुढाथोकीको घरमा पनि आगोले क्षति गरेको छ । पुर्वी पहाडमा बसाइँसराईले गाउँ रित्तिदै गर्दा गाउँको जग्गाजमिन र घर बिक्री नभएका कारण मानिसहरूले छिमेकीलाई जिम्मा छोडेर तराईतिर बसाइँ सर्नेक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?