चिच्च्याएर वर मागिने सत्यवती मन्दिरमा थपिए पर्यटन पूर्वधार

लोकपथ
98
Shares

बागलुङ । एक दशकअघिसम्म बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौर साग्दीमा रहेको सत्यवती मन्दिर जीर्ण र अव्यवस्थित थियो । देशका विभिन्न भागबाट भक्तजन आउँदा पूजा गर्न सहज थिएन । भौतिक पूर्वाधार निर्माण भएका थिएनन् । पछिल्लो समय बरेङ गाउँपालिकाले लगानी गर्दै गएपछि व्यवस्थित बनेको छ ।

धार्मिक महत्व बोकेको यस मन्दिरमा परम्परादेखि नै पूजाआज गर्दै आएको पाइन्छ । यहाँ ठूलो स्वरले चिच्च्याएर वर माग्ने गरिन्छ । यसरी चिच्च्याएर वर माग्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । वर्षौँ पहिलेदेखि यस मन्दिरमा भक्तजनको भीड लाग्ने गरे पनि पूर्वाधार अभावमा पूजाआजा गर्न समस्या थियो ।

पाँच वर्षयता बरेङ गाउँपालिकासँगै गण्डकी प्रदेश सरकारले पनि बजेट विनियोजन गरेर पूर्वाधार निर्माणमा जोड दिएको छ । गाउँपालिकाले मन्दिर व्यवस्थापन, खानेपानी, शौचालय, भक्तजन बस्ने भवन, फनपार्क निर्माण गरेको छ भने मन्दिरसम्म आउने सडक बाह्रै महिना सञ्चालन हुने गरी व्यवस्थित बनाएको छ ।

धान्य पूर्णिममा यस मन्दिरमा ठूलो मेला लाग्ने गर्छ भने हरेक महिना करिब दुई हजार धार्मिक पर्यटक यहाँ आउने गर्छन् । धार्मिक पर्यटकका लागि महत्त्वपूर्ण तीर्थस्थल मानिने सत्यवतीमा भौतिक पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश पर्यटन मन्त्रलायले चालु आर्थिक वर्षमा रु १० लाख र बरेङ गाउँपालिकाले रु १३ लाख बजेट विनियोजन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?