पत्रकारको मागबाट पन्छिदै सरकार, महासंघद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

काठमाडौं । सरकारविरुद्ध नेपाल पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । 

सरकारले गत वैशाख २६ गते संसदमा दर्ता गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकप्रति आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएको पत्रकार महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो । 

आइतवार बसेको महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले दोस्रो  चरणको विरोध कार्यक्रम घोषणा गरेको हो । 

पहिलो चरणको आन्दोलन सकिँदा पनि सरकारले माग सम्बोधनमा गम्भीरता नदेखाएको भन्दै जेठ ६ गतेदेखि शुरु हुने दोस्रो चरणको आन्दोलनको कार्यक्रम जेठ २५ गतेसम्म चल्ने महासंघले जनाएको छ । 

महासंघले मिडिया काउन्सिलसम्बन्धी विधेयक संसदमा पेश हुने दिन विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । 

महासचिव रमेश विष्टले दोस्रो चरणको विरोध कार्यक्रमबारे जानकारी दिएका छन् । 

जेठ ६ र ७ गते महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श गर्ने, जेठ ८ गते संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने, जेठ ९ देखि १२ गतेसम्म सञ्चार माध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने, जेठ १३ र १४ गते सांसदहरुसँग छलफल गर्ने, जेठ १६ गते प्रेस स्वतन्त्रता सेनानीसँग छलफल गर्ने महासंघको कार्यक्रम रहेको महासचिव रमेश विष्टले जानकारी दिए । 

त्यस्तै जेठ १८ देखि २० गतेसम्म महासंघको प्रतिष्ठान शाखा, र एसोसिएटहरुको आयोजनामा विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल चलाउने, जेठ २३ र २४ गते राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अभिकारकर्मीसँग अन्तरक्रिया कार्यक्रम गर्ने महासंघले जनाएको छ ।

जेठ २५ गते अपरान्ह ३ बजे काठमाडौंको वानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने महासंघको तयारी छ । 

यसैगरी काठमाडौं उपत्यकाबाहिर भने प्रदेश राजधानीमा मानव हातेसाङ्लो बनाई प्रदर्शन गर्ने कार्यक्रम तय भएको महासचिव विष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?