आफू निकटका पत्रकारलाई सम्झाउँदै नेकपा, आन्दोलनलाई मथ्थर पार्ने दाउ !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले नेकपा निकट पत्रकारलाई सम्झाउने प्रक्रिया शुरु गरेका छन् । 

सरकारले गत वैशाख २६ गते संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकविरुद्ध नेपाल पत्रकार महासंघलगायत श्रमजिवि पत्रकारहरु आन्दोलनरत रहेका बेला नेकपाका नेताहरुले नेकपा निकट पत्रकारलाई सम्झाउने प्रक्रिया शुरु गरेको हो । 

आइतवार बिहान नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा नेकपा निकट पत्रकार संगठनका नेताहरुलाई छलफलका लागि बोलाइएको थियो । 

मिडिया काउन्सिल विधेयकसम्बन्धी आन्दोलित पत्रकारहरुलाई मथ्थर बनाउने उद्देश्य सरकारको छ । 

छलफलमा सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोतासहित पत्रकार फाँट हेर्ने नेता र प्रचार विभागका नेताहरुको सभागीता थियो । 

छलफलमा पार्टीका तर्फबाट दलका उपनेता सुवासचन्द्र नेम्वाङका साथै पम्फा भुसाल र योगेश भट्टराईले समेत सहभागी जनाएका थिए ।

कार्यक्रममा प्रेस संगठन नेपालका केन्द्रीय नेता महेश्वर दाहाल लगायतका नेताहरुको सहभागी थियो भने संगठनका सहसंयोजक गणेश बस्नेत भने छलफलमा सहभागी भएनन् । उनले आफू बिरामी भएकाले कार्यक्रममा उपस्थित हुन नसकेको बताए ।

त्यसैगरी नेकपानिकट पत्रकार मानिने प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पनि छलफलमा बोलाइएको थियो । तर, भेलाबारे आफूहरुलाई कुनै जानकारी नरहेको श्रेष्ट र आचार्यले बताए । 

सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकमा पत्रकारलाई १० लाखदेखि एक करोडसम्म जरिवाना तिराउने प्रावधान राखेको छ । 

तर, सरकारले ल्याएको यो विधेयकप्रति पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र प्रेस संगठन नेपालका सहसंयोजक गणेश बस्नेत विधेयकको विपक्षमा उभिँदै आएका छन् भने प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठ पनि वधेयकको विरोधमा छन् ।

सरकारले ल्याएको प्रेस स्वतन्त्रताविरोधी विधेयक नसच्याएसम्म महासंघ जारी गरेको आन्दोलन नरोकिने आचार्यले बताउँदै आएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?