‘आमा’ नभएको गाउँ


प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार ०५:५८

एली सुजियावती ११ वर्षकी थिइन् जब उनलाई उनकी आमा मार्सियाले हजुरआमाको साथमा छोडिदिइन् । एलीका आमाबुबा भर्खरै एकअर्काबाट अलग्गिएका थिए त्यसैले परिवारको पालनपोषणका लागि मार्सिया घरेलु कामदारका रुपमा साउदी अरेविया पुगिन् ।

अहिले एली स्कुलको अन्तिम वर्षमा छिन् । उनलाई आमासँग छुट्टिएर बस्नुपर्दा निकै नरमाइलो लाग्छ । भन्छिन्, ‘स्कुलमा साथीहरुलाई उनीहरुको अभिभावकसँग देख्दा मन दुख्छ, आफ्नी आमा पनि यहीँ भइदिएको भए जस्तो अनुभूति हुन्छ ।’ 

एलीको गाउँ, वानासावामा जवान आमाहरुले छोराछोरीलाई गुणस्तरीय जीवन दिनलाई विदेशमा गएर काम गर्नुपर्छ भन्ने मान्यता छ । यहाँका प्रायजसो पुरुषहरु खेतीकिसानी या श्रमिकका रुपमा काम गर्छन् जसबाट हुने आम्दानी महिलाले विदेशमा गएर कमाएको थोरै प्रतिशत जति मात्रै हुनजान्छ । त्यसैले जब आमा कमाउनलाई विदेश जान्छिन् तब छोराछोरी र घरको जिम्मेवारी श्रीमान्ले लिन्छन् । 

यहाँका घरहरु पनि एकअर्कासँग जोडिएकाले उनीहरु संयुक्त रुपमा एकअर्काका छोराछोरी हुर्काउन, बढाउन, लालनपालन गर्न मद्दत गर्छन् । यद्यपि आफ्नी आमाबाट अलग्गिएर बस्नुपर्दा बालबालिकालाई साह्रै नराम्रो लाग्छ । 

करिमतुल अदिवियाको कथा पनि उस्तै छ । उनी एक वर्षको हुँदा आमा कामका लागि पुगिन् । त्यसैले करिमतुललाई आफ्नी आमासँग बसेको कुनै क्षण याद छैन ।

प्राथमिक तहको पढाइ सकिएपछि करिमतुलकी आमा उनलाई भेट्न छुट्टि मिलाएर आइन् तर त्यतिन्जेल करिमतुलले आफ्नी आन्टीलाई ‘आमा’का रुपमा हेर्न थालिसकेकी थिइन् किनकी उनैको हेरचाहमा करिमतुल हुर्किएकी थिइन् । 

‘मलाई निकै नराम्रो लाग्यो जब मैले ममीलाई रुँदै गरेको देखें,’ करिमतुल भन्छिन्, ‘उहाँले आन्टीलाई भन्दै हुनुहुन्थ्यो, मेरो छोरीले किन मलाई आफ्नो मान्दिन भनेर ।’

उनको कुनै फोटो नभएको र उनको नाम र ठेगानाबाहेक करिमतुललाई केही थाहा नभएकाले उसलाई बुझ्न गाह्रो भएको हो भन्दै आन्टीले आफ्नी दिदीलाई सम्झाइरहेकी थिइन् ।

‘मलाई उहाँको असाध्यै याद आउँथ्यो त्यसैले उहाँलाई देखेर म खुसी भएँ तर,’ करिमतुल अगाडि थप्छिन्, ‘मलाई सानोमै छोडेर गएकोमा धेरै रिस पनि उठिरहेको थियो ।’

१३ वर्षीय करिमतुल अहिले दिनैजसो आफ्नी आमासँग भिडियोकल गर्छिन्, म्यासेजमा कुराकानी गर्छिन् तर, अझै पनि उनीहरु त्यति खुल्न सकेका छैनन् जति सामान्यतया आमाछोरी खुल्छन् ।
‘ आजकल ममी छुट्टिमा घर आउँदा पनि मलाई आन्टीसँगै बस्न मनलाग्छ,’ करिमतुल भन्छिन्, ‘ममीले बोलाउनुहुन्छ तर म पछि आउँछु भन्दै टारिदिन्छु ।’

उनकी सानिमा बइक नुरजान्हले ९ जना केटाकेटी हुर्काइरहेकी छिन् जसमध्ये एउटा मात्र उनको आफ्नै सन्तान हो बाँकी ८ जना विदेशमा काम गरिरहेका उनका दिदीभाइका छोराछोरी हुन् । 
‘मलाई सबैले ठूलो ममी भनेर बोलाउँछन्,’ मुस्कुराउँदै बइकले भनिन् ।

‘म सबैलाई समान व्यवहार गर्छु,’ उनले भनिन्, ‘को बिरामी भयो, कसलाई केको आवश्यकता छ भन्ने बुझेर सकेजति दिन खोज्छु ।’

सन् १९८० को दशकदेखि यस ठाउँका महिलाहरु वैदेशिक रोजगारीका लागि बाहिर जान थालेका हुन् । यसरी विदेशिने कतिपय महिलाहरु दुव्र्यवहारको शिकार भएका छन् भने कतिको मृत शरीर कफिनमा फिर्ता आउँछ । कतिपय अवस्थामा त जबरजस्तीकरणीबाट जन्मिएको बच्चा हातमा लिएर पनि आइपुग्छन् उनीहरु । यस्ता बच्चालाई उनीहरु ‘अनक–ओले–ओले भन्दै बोलाउँछन् अर्थात् कोसेलीका रुपमा आएका सन्तान ।

अन्तरजातीय, अन्तरभाषिय भएकाले यस्ता बालबालिकाहरु गाउँमा अरुभन्दा भिन्न देखिन्छन् । १८ वर्षीय फातिमालाई आफू भिन्न भएकोमा कहिलेकाहीँ खुसी लाग्ने सुनाउँछिन् ।

‘गाउँका मान्छेहरु मलाई अचम्म मान्दै हेर्छन् अनि राम्री छेस् किनभने अरबी रगत मिसिएको छ भन्दै प्रतिक्रिया दिन्छन्, मलाई खुसी लाग्छ,’ उनी भन्छिन् ।

तर, यस्ता बालबालिकालाई अक्सर स्कुलमा गिज्याइने, होच्याइने बताइन्छ ।

फातिमाले आफ्ना साउदी अरेबियन पितालाई कहिल्यै भेटेकी छैनन् तर, उनले फातिमाकी आमालाई छोराछोरीको हेरचाह गर्दै गाउँमै बस्नु भनेर पैसा पठाइदिन्थे । केही समयअघि उनको पनि मृत्यु भएपछि फातिमाकी आमा फेरि काम खोजेर साउदी गइसकिन् । 

‘भाइले अरुले मोबाइल बोकेको, बाइक चढेको देखेर आमालाई सधैं ‘हामी चाहिँ कहिले यस्तो किन्न सक्ने हुन्छौं’ भन्दै दिक्क लाउँथ्यो त्यसैले उहाँ फेरि विदेश जानु भयो,’ फातिमा भावुक हुँदै भन्छिन् । आँखाभरि आँसु बनाउँदै उनी थप्छिन्, ‘यदि आमा विदेश नजाने हो भने हामीसँग घर चलाउने पैसा नै हुन्थेन ।’

साँझ प्रार्थना गर्ने घण्टी बज्नासाथ सबै बालबालिकाहरु मस्जितमा प्रार्थना गरेर पुग्छन् एउटा ठूलो पुरानो घरमा जो इन्डोनेसिया कोलोनी हुँदा डचहरुले बनाइदिएका थिए । यहाँ अहिले एक स्थानीय महिला र आप्रवासी अधिकारकर्मीले सञ्चालन गरिरहेको एक बाल क्लब छ । प्राय सबैका एक अभिभावक विदेशमा भएकाले उनीहरु स्कुलपछि यहीँ भेला हुन्छन् ।  

घर सुप्रिहातीको हो जो आफै पनि कुनै समय आफ्ना दुई दुधे छोरा छाडेर वैदेशिक रोजगारीका लागि साउदी पुगेकी थिइन् । त्यसवेला संघर्ष गरेर उनले दुई छोरालाई उचित शिक्षा दिइन् र फलस्वरुप अहिले दुवैजना काम गर्छन्, पैसा कमाउँछन् । सुप्रिहातीलाई आनन्द छ । बुढेसकालमा छोराहरुले जो पालिरहेका छन् ।

यद्यपि आफूले भोगेजस्तो समस्या अरुले भोग्नु नपरोस् भनेर उनले बालबालिकालाई परिवारको कमी महसुस हुन नदिन यस क्लबको स्थापना गरेको सुनाइन् ।

‘हामी उनीहरलाई होमवर्क गर्न सिकाउँछौं, उनीहरुले सिक्न चाहेको कुरा बुझेर त्यसैअनुसार सिकाउँछौं,’ उनले भनिन् ।

यूली आफ्रियाना साफित्री अन्य बालबालिकाभन्दा प्राय ढिलो उपस्थित हुन्छिन् किनभने उनले कहिलेकाहीँ आफ्ना ५ जना भाइबहिनीका लागि खाना पकाउनुपर्छ । आमा विदेश गएपछि उनकी हजुरआमाले उनीहरुको हेरचाह गर्दै आएकी थिइन् तर हजुरआमाको मृत्युपश्चात अहिले सबै जिम्मेवारी यूलीको काँधमा आएको छ । कान्छी बहिनी एक वर्षको नहुँदै विदेशिएकी उनकी आमाले केही महिनापछि पैसा पठाउन छाडिन् र अहिले उनीहरुको सम्पर्कमा छैनन् । यूलीलाई लाग्दैन कि उनकी आमा कुनै समस्यामा परेर सम्पर्कविहीन भएकी हुन् ।

अपवाद, आमासँगको विछोडले वानासावाका अन्य बालबालिकाजस्तो यूली अलिकति पनि विचलित छैनन् । 

‘आमा नभएकै कारण दया, करुणाको भावले हामीलाई हेरेको मलाई मनपर्दैन,’ यूली भन्छिन्, ‘मेरा भाइबहिनीका लागि म छँदैछु नि ।’ उनी थप्छिन्, ‘भाइबहिनी पनि आमालाई खासै याद गर्दैनन् किनकी हामीसँग बाबा हुनुहुन्छ, उहाँले घरको सबै काम गर्नुहुन्छ र उहाँले नसक्दा वा बाहिर जाँदा हामी सबै मिलेर काम गर्छौं ।’

यूली कक्षामा सधैं प्रथम हुन्छिन् र भविष्यमा इन्डोनेसियाको नेभी फोर्समा काम गर्ने उनको लक्ष्य छ ।

इन्डोनेसियाबाट वैदेशिक रोजगारीका लागि जाने दुई तिहाइ सङ्ख्या महिलाको छ । उनीहरुले पठाएको पैसाकै कारण अबकोे पीढिले आफ्नो सपना पूरा गर्न सक्ने भएको छ ।

एली सुजियावतीले आफ्नी आमालाई नदेखेको ९ वर्ष भयो तर, उनले पठाएको पैसाकै कारण एली उच्च शिक्षाका लागि यूनिभर्सिटी जाने छिन् । एलीको परिवारमा यूनिभर्सिटीसम्म पुग्ने पहिलो सदस्य उनै हुन् ।

‘शिक्षाको अभावमा हाम्रा अभिभावकहरु पैसाका लागि विदेश जानुप¥यो,’ उनी भन्छिन्, ‘म पनि पढाइ सकेर विदेश जान्छु तर श्रमिकका रुपमा होइन ‘बिज्नेस डिल’ गर्न ।’

***

(एजेन्सीको सहयोगमा) 

Tags :
प्रतिक्रिया दिनुहोस
फेसबुकले लाइक बटन हटाउँदै

काठमाडौं | लोकप्रिय सामाजिक संजाल फेसबुकले पोष्ट लाइक बटन हटाउने भएको छ ।

अमेरिकी प्रतिबन्धपछि पनि हुवावे निकै बलियो

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ प्रविधि कम्पनी हुवावेलाई अमेरिकी प्रविधि प्रयोग

दक्षिण कोरियामा ‘स्वाइन फ्लू’ देखियो

एजेन्सी । दक्षिण कोरियामा पहिलो पटक स्वाइन फ्लू भेटिएको छ । मंगलबार यहाँका

ट्रक चट्टानमा ठोक्किदा १५ जनाको मृत्यु

एजेन्सी । फिलिपिन्सको दक्षिणी भू–भागमा पर्ने कोटाबाटो प्रान्तमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा