संसद बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गर्ने जनाएको छ । संविधान विपरीतका प्रावधान समेटिएका विधेयक फिर्ता नलिए संसदमा त्यसविरुद्ध कडा प्रतिरोध गर्ने कांग्रेसको तयारी छ ।

आज (बुधवार) संसदीय दलको बैठक बोलाइएको छ । 

जागरण अभियानमार्फत सरकारका असंवैधानिक कामकारबाहीको विरोध गर्दै आएको कांग्रेसले सदन विरुद्ध गर्ने तयारी गरेको हो ।

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानविपरीत प्रस्ताव गरिएका मिडिया काउन्सिल विधेयक, मानवअधिकार आयोग विधेयक र राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक फिर्ता नलिए संसदमा प्रतिरोध गर्ने बताए ।

यसबारे संसदमा कसरी प्रस्तुत हुने भन्नेबारे बुधवार बस्ने संसदीय दल बैठकले औपचारिक धारणा बनाउने उनले बताए ।

मिडियाको स्वायत्तता र स्वतन्त्रतामाथि अंकुश लगाउने गरी ल्याइएको विधेयक फिर्ता लिन कांग्रेसले सरकारलाई आग्रह गरिसकेको छ । 

सभापति शेरबहादुर देउवाले प्रस्तावित विधेयकलाई मिडियामाथि ‘कू’ को संज्ञा दिँदै त्यसलाई कुनै पनि हालतमा फिर्ता गराएरै छाड्ने बताएका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?