श्रीलंकामा हिंसात्मक घटना बढ्दो, रातिको समयमा कर्फ्यु

एजेन्सी । श्रीलंकामा पुनः हिंसात्मक घटना घटेको छ । 

श्रीलंकाका सेना र प्रहरीले देश अब सुरक्षित रहेकाले सामान्य जीवनयापनमा फर्किन सबैलाई आग्रह गरेको केही दिनमा नै पुनः हिंसात्मक घटना बढेको हो । मुस्लिम समुदायविरुद्ध हिंसा बढ्दै गएपछि श्रीलंकामा रातिको समयमा कर्फ्यु लगाइएको छ ।

धेरै स्थानमा मस्जिद र मुस्लिम समुदायका व्यापारिक प्रतिष्ठानहरुलाई निशाना बनाइएको छ । धेरै स्थानमा भिड नियन्त्रण गर्न हवाई फायर र अश्रुग्यास समेत प्रहार गरिएको छ । 

श्रीलंकामा इस्टर सन्डेको बेला चर्च र होटलहरुमा श्रृंखलाबद्ध विष्फोट भएको थियो । यो आत्मघाती हमलाबाट २ सय ५० बढी ज्यान गुमाएको थियो ।

यता श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले शान्ति कायम राख्न अपिल गरेका छन् । साथै उनले ताजा हिंसाका कारण श्रृंखलावद्ध आक्रमणको अनुसन्धान प्रभावित भएको समेत जानकारी दिए ।

प्रधानमन्त्री विक्रमासिंघेले स्थिति नियन्त्रणमा लिन रातिको समयमा कर्फ्यू लगाइएको पनि बताए ।

यसअघि नै श्रीलंकाको सरकारले हिंसा रोक्ने उद्देश्यले देशभर फेसबुक, ह्वाट्सएप जस्ता सामाजिक सन्जालहरुमा प्रतिबन्ध लगाएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?