कवि अर्यालको २ साहित्यिक सामग्री लोकार्पण

लोकपथ
350
Shares

काठमाडौं । कवि सृजना अर्यालको ‘बोध अन्तर्बोध’ (कवितासङ्ग्रह) र ‘गुलाबी मन’ (गजल अडियो) लोकार्पण गरिएको छ।

धादिङ सिर्जना प्रतिष्ठानको आयोजना तथा सिद्धलेक गाउँपालिकाको आर्थिक सहयोगमा बुङचुङस्थित गाउँपालिकाको हलमा आयोजित एक समारोहकाबीच अर्यालको दोस्रो कविताकृति ‘बोध अन्तर्बोध’ र गजल अडियो ‘गुलाबी मन’ लोकार्पण गरिएको हो ।

शनिबार आमा लक्ष्मी अर्याल, प्राज्ञ तथा व्यङ्ग्यकार नरनाथ लुईँटेल, प्रा डा. रामहरि लम्साल, साहित्यकार डा.नवराज लम्साल, साहित्यकार बद्रिप्रसाद दाहालले कवितासंग्रहको संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।

गुलाबी मन गजलमा सुशीलसिंह ठकुरीको संगीत र चर्चित गायक राज सिग्देलको आवाज रहेको छ । गजलको संगीतसंयोजन नारायण दंगालले गरेका हुन् ।

कार्यक्रममा समालोचक डा. रामहरी लम्सालले बोध अन्तर्बोध कवितासंग्रहमा भएका कविताले नेपालबाट युवा पुस्ता रित्तिने र देश बृद्धाश्रम हुने अवस्थाको चित्र कवितामा व्यक्त भएको बताए ।

कवितासंग्रहमा देशको दुर्गमता, विकटताका परिस्थिति र त्यहाँका दुखेसोहरु, भुकम्प लगाएतका विषय समेटिएको उहाँको भनाइ छ । उहाँले कवित्वबाट खारिँदै, समाज दर्शन बन्दै मातृभूमि र माटोको ममता, प्रकृतिको आकर्षण, आशाबादी स्वर भएको कविता संग्रह रहेको बताए ।

यस्तै डा. नवराज लम्सालले कवितासंग्रहमा कवि शीरोमणिको कविताको स्वाद दिलाएको बताए। डा. लम्सालले चिन्ताको कथा हालेर हालेरमात्र कवि नभईने भएकोले प्रेम र चिन्तन टिपेर लेख्न आग्रह गरे । नेपालको साहित्यलाई ईंगिंत गर्दै लम्सालले हामी बोक्राहरुको कुरा लेख्छौँ, किन भित्र छिर्दैनौँ भन्दै प्रश्न पनि गरे ।

कार्यक्रममा प्राज्ञ तथा व्यंगकार नरनाथ लुईटेलले कुलो, सडक, भवन निर्माण मात्र विका नभई भाषा, साहित्य संस्कृति पनि विकासको रुपमा लिन स्थानिय सरकारहरुलाई आग्रह गरे । सृजना अर्याल अधिकारी सिद्धलेकको मात्र नभई देशकै साहत्यकार भएको उनको भनाई थियो ।

कवियत्री सृजनाकी आमा लक्ष्मी अर्यालको अध्यक्षतामा भएको लोकार्पण समारोहमा गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, भुमि आयोगका अध्यक्ष कृष्ण अर्याल, विभिन्न वडाका वडाध्यक्षहरु, समाजसेवी, बुद्धिजिवी लगाएतको आतित्यता रहेको थियो ।

कृतिकार सृजनाले कवितासंग्रहलाई आफ्नो चौथो सन्तानको रुपमा लिएको बताइन् । देशको साधन स्रोतको सदुपयोग, देशको दर्दनाहक भयावह अवस्थाको चित्रण गरिएको उनको भनाई छ ।

१३४ पेजको बोध अन्तर्बोध कवितासंग्रहमा १८ छन्दका ६० वटा कविता छ । सृजना अर्यालको यसअघि ‘सुनको पिजडा’ कवितासंग्रह प्रकाशित छ । बोध अन्तर्बोध कवितासंग्रहलाई काठमाण्डौ पब्लिकेशनले बजारमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?