मिलेमतोमा थामथुम पारिन्छ बलात्कारका घटना, ८ जनालाई परिवारले आगो झोसे


लोकपथ
प्रकाशित मिति : २१ बैशाख २०७६, शनिबार ०६:२५

कोही दाइजो नल्याएको निहुँमा जिउँदै जलाइन्छ त कतै मानसिक तथा शारीरिकरुपमा यातना दिइन्छ । आफैँ श्रीमानद्वारा श्रीमतीको हत्या भएका समाचारदेखि दाइजो नल्याएको भन्दै मट्टीतेल छर्केर आगो लगाइने घटना अब नौलो भएन । किनकी हरेक दिन बिहानै अखबारका पाना बडेमानका हेडलाईन्ससहित तर्साउन आइपुग्छन् । 

एक वर्ष अगाडी जिब्रो टोक्ने प्रवृतिका समाचार वा घटना अब नौलो रहेन । आज खुलेआम अपराध भइरहेका छन् । हजुरबुबाले नातीनि बलात्कार गरेको प्रशंग अब दिनहुँजसो सुनिनन् थाल्यो । 

२१ औँ शताब्दिका महिलाहरु शिक्षित छन् । सोच्न सक्ने भएका छन् । अरुमा निर्भर बन्नुपर्ने बाध्यात्मक अवस्था अब छैन । तर, यही शताब्दिमा बाँचीरहेका तराई–मधेशका महिलालाई भने किन जिउँदै जलाइन्छ ? यो सबैको चासोको विषय बनेको छ । तर, समाधान कहिँकतैबाट आउन सकेको छैन । हुन्थ्यो भनेत घटना कमी हुनपर्थ्यो । समाचार कम सुनिन पर्थ्यो । 

किन प्रभावकारी हुँदैन अभियान ? 

गत वर्ष प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान शुरु गरेका थिए । त्यतिबेला यो अभियानले चौतर्फि चर्चा पायो । मुख्यमन्त्री एक खालको सेलेब्रेटी बने । वाहवाही बटुले । मानिसहरुले आशा गरेको परिवर्तनको द्योतक शिक्षा हो । शिक्षाको विकास भएपछि मात्रै समुन्नत राष्ट्र निर्माण गर्न सकिन्छ । तर, अभियान चुक्यो । अभियान शुरु त भयो । तर, कहाँ पुग्यो थाहा भएनन् । त्यसको प्रभाव शुन्य बराबर भयो । प्रभावित क्षेत्रको लागि गरिएका कार्यक्रम प्रतिफलमुखी नदेखिएपछि कसरी उन्नती हुन्छ हाम्रो समाज । ति तमाम जलिने दिदीबहिनीको अन्तिम चित्कार त्यतिबेला मात्रै सम्बोधन भएको हुनेछ, जतिबेला महिलाहरु परिवारकै सदस्यबाट बलात्कृत हुने छैनन् । शोषित दमीत हुने छैनन् । उत्पीडनमा पर्ने छैनन् । दाइजो नल्याएको निहुँमा श्रीमानले कुटेर मार्ने छैनन् । जिउँदै शरिरमा आगो झोसिने छैन । तर, अभियानको प्रभाव शून्यप्राय भएपछि यी सबै कुराहरु सोच्नु फगत महत्वकांक्षा मात्रै हुनेछ ।  

मुख्यमन्त्री राउतको ‘बेटी बढाऊ, बेटी बचाऊ’ अभियान महिला हिंसासँग सम्बन्धीत छ की छैन ? कतीले यस अभियानलाई महिला हिंसासँग जोड्न मिल्दैन भरेन मलाई प्रश्न समेत गरेका छन् । मुख्यमन्त्रीले यहि वाक्य भनेका थिए, अभियानको मुखैमा । आज त्यो अभियानको प्रतिफल के प्राप्त भयो त्यसको तथ्यांक को सँग छ ? 

मुख्यमन्त्री राउतको यो अभियान शून्य प्राय  भएको उदाहरण त दिनहुँ बाहिरिएका समाचारले नै असफलसिद्ध भएको यथेष्ट प्रमाण पेश गर्छ । तराई–मधेशमा बारम्बार महिला हिंसाका घटना दोहोरिरहन्छन् । यसको पछिल्लो उदाहरण हो, सिरहाका २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वे । 

सिरहा नगरापालिका ८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई मट्टीतेल छर्केर बिहीवार जिउँदै जलाउने प्रयास भयो । उनको शरीरको ८० प्रतिशत भाग जल्यो । 

उनलाई तत्कालै उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगियो । त्यहाँ उपचार सम्भवन नभएपछि कञ्चनलाई थप उपचारका लागि काठमाडौं रिफर गरियो । तर, उनको काठमाडौंमा उपचारकै क्रममा शुक्रवार साँझ निधन भयो । 

त्यस्तै यसअघि गत वैशाख ५ गते धनुषाको शहीदनगर नगरपालिका १ की २० वर्षीया निर्मला यादवलाई पति मुकेश यादवले शरीरमा मट्टीतेल खन्याएर आगो लगाए । उनको काठमाडौंस्थित किर्तिपुर अस्पतालमा उपचारकै क्रममा सोमवार (वैशाख १६ गते) दिउँसो निधन भयो ।  

यसैगरी दाइजोकै निहुँमा वीरगञ्जमा नारायणी अस्पतालका डाक्टर सचितानन्द यादवले श्रीमति पिटेको घटना गत चैतमा सार्वजनिक भयो । डाक्टर श्रीमानको कुटाइबाट गम्भीर घाइते बनेकी सुनिताको काठमाडौंको शिक्षण अस्पतालमाा उपचारकै क्रममा गत चैत १५ गते निधन भएको थियो । 

यो त उदाहरण मात्रै हो । यस्तो धेरै घटनाहरु छन् जुन बाहिर आएको छैन । 

के भन्छन् महिला अधिकारकर्मी ? 

अन्तरपार्टी महिला सञ्जाल सप्तरी जिल्ला अध्यक्ष सुनिता साह प्रदेश २ मा महिला हिंसा हुनुमा चेतानाको कमी, अशिक्षा, लैंगिक असमानता मुख्य कारण रहेको बताउँछिन् । तराई–मधेशमा दाइजो लिने प्रथा व्याप्त भएका कारण पनि महिला हिंसा बढेको उनको ठम्याई छ । 

महिला हिंसा बढिरहँदा समेत कुनै पनि तहका सरकारले यसतर्फ ध्यान नदिएको उनको अनुभाव छ । ‘प्रदेश सरकार, स्थानीय सरकार, मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष आफ्नै धुनमा छन्,’ उनी भन्छिन्, ‘उनीहरुले यसतर्फ ध्यान नै दिएको पाइएको छैन् ।” 

अहिलेको तीनै तहको सरकार महिला हिंसा न्यूनीकरण गर्न भन्दा सत्तामै रमाउन चाहेको आरोप उनको छ । ‘प्रदेश २ मा दिनदिनै महिलाहरुको हत्यासम्म भइरहेको सरकारले हेरिरहेको छैन ? प्रश्न गर्दै उनले भनिन्, “तरपनि यसतर्फ चासो नदेखाउनुलाई के भन्ने ?”

प्रहरी प्रशासन, बुद्धिजीवि, वडा अध्यक्ष पनि आफ्नो कामप्रति त्यति जिम्मेवार नदेखिएको उनको भनाई छ । ‘जब गाउँमा कुनै बालिका बलात्कृत हुन्छिन् तब प्रहरी प्रशासन, बुद्धिजीवि र वडा अध्यक्षसमेतको मिलेमतोमा घटनालाई ढाकछोप गर्न एक हुन्छन् । आपसमा मिलाइन्छ र बलात्कारी खुलेआम घुम्छ,’ साह गुनासो पोख्छिन् । 

प्रहरीले केहि काम गर्न खोजेपनि अहिलेको अवस्थामा जनप्रतिनिधीले नै सहयोग नगर्ने गरेको बताउँछिन् उनी । प्रहरीले आफ्नो ठाउँमा काम गरिरहेको पाएकी छु’ उनी भन्छन्, “बाल विवाह रोकाउन प्रहरी गाउँ जाँदा  जनप्रतिनिधीले एक छिन बस्न भन्दै त्यसपछि जन्म दर्ता ल्याएर देखाइदिँदा प्रहरी असफल भइरहेको अवस्था छ ।”

तराई–मधेशमा महिला प्रतिको सोचले गर्दा पनि महिला हिंसा बढ्दै गएको उनी बताउँछिन् । 

जबजब महिला हिंसाबारे आवाज उठाइन्छ तब प्रहरी प्रशासनकै मिलेमतोमा हाम्रो आवाज दबाइन्छ । हामी चुप लाग्न बाध्य हुन्छौ । यदि लागेन भने वडा अध्यक्षले नै धम्की दिने गरेको उनले सुनाइन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लागू गरेको अभियान ‘बेटी पढाऊ, बेटी बचाऊ’ बारे सोध्दा उनी भन्छिन्, ‘मुख्यमन्त्री जीले लागू गर्नुभएको यो अभियान ठिक हो तर, जति कार्यान्वयन हुनुपर्ने हो त्यो हुन सकेको देखिएको छैन । यसका लागि नियुक्त गरिएका कर्मचारी निष्कृय अवस्थामा रहेको पाएकी छु ।’

‘यो अभियानको जिम्मा कसले पाउनुभएको छ र यस अभियानलाई कसरी अगाडि बढाइएको छ हामी त्यसबारे अनविज्ञ नै छौ,’ साह भन्छिन् ।

प्रदेश २ मा यस्तो छ महिला हिंसाका कहालि लाग्दो विवरण  

प्रदेश २ को आठ जिल्लामा महिला तथा बालबालिकामाथि एक वर्षमा भएको घटना हेर्दा निकै कहाली लाग्दो छ । महिला संशक्तिकरण तथा हिंसा विरुद्धको समाज निर्माण गर्ने भन्दै चुनावताका लगाइएका नाराहरु घोषणा पत्रमा मात्रै सिमित भएको यस घटनाले छर्लङ्गै पारेको छ । 

प्रहरीबाट प्राप्त भएको तथ्यांक अनुसार कर्तव्य ज्यान अन्तर्गतको मुद्दामा कुटपिटबाट १७, घाँटी थिचि ८, पोष्टमार्टम नगरि मृतकको लाश दबाएको १, घाँटी रेटि १, विष खुवाएर २, झुण्डाएर २, पुलमा ठोक्कएर १, एसिड प्रहारबाट एक, रिस आवेगमा तीन, धारिलो हतियार प्रयोग गरी ३, आगो लगाइ जलाई २, इट्टा प्रहार गरी १ जना गरी जम्मा ९४ जनाको हत्या भयो । जसमा ५३ जना महिला र ४१ जना बालिका रहेका छन् । 

त्यस्तै सामाजिक अवस्था तथा पारिवारिक तनावका कारण प्रदेश २ मा आत्महत्या गर्ने महिलाको संख्या पनि बढेको छ । 

तथ्यांक अनुसार पानीमा हाम फालेर १, पोखरीमा डुबी १, जंगली हात्तिले कुल्चेर १, घाँटी थिचि १, वेवारिसे २ गरी जम्मा ६ जनाको मृत्यु भएको छ । 

 

आर्थिक वर्षमा मात्रै १ सय ४८ जना महिला तथा ४४ जना बालिका गरि १ सय ९२ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । 

त्यस्तै ७७ जना महिला, २० जना बालिका  गरि ९७ जनाले विष सेवन गरि आत्महत्या गरेका छन् भने ८ जनाले आगो लगाई आत्महत्या गरेका छन् । 

आर्थिक वर्ष ०७५–०७६ को साउनदेखि हालसम्मको महिला सम्बन्धी घटना विवरण समेटेर २ नम्बर प्रदेश प्रहरी कार्यालयले आफ्ना मातहत अन्तर्गतका ८ जिल्लाहरुमा ज्यान सम्बन्धी, कतव्र्य ज्यान, आत्महत्या, जवरजस्ती गरी कर्तव्य ज्यानका ५ सय १७ वटा मुद्दा दर्ता भएको जनाएको छ । जसमा ४ सय जना महिला र १ सय ४० जना बालिका पीडित भएको रेकर्ड छ । यी मध्ये ५ सय ४० जनाले ज्यान गुमाएका छन् । 

त्यस्तै प्रदेश २ मा १६ महिला र ९६ जना बालिका माथि जवरजस्ती करणीको २ सय १२ वटा मुद्दा दर्ता भएको छ । 

जवरजस्ती करणीको प्रयास भएको आधारमा ९३ वटा मुद्दा दर्ता भएको छ । जसमा ५६ जना महिला तथा ३७ जना बालिका रहेका छन् । 

त्यस्तै बोक्सिको आरोपमा १७ वटा मुद्दा दर्ता भएको छ । प्रदेश २मा मात्र  १७ जना महिलाले बोक्सिको आरोपमा हिंसा सहन बाध्य पारिएको तथ्यांकले देखाउँछ । 

प्रहरीसम्म पुगेका घरेलु हिंसा सम्बन्धी घटना हेर्दा अझ आङ सिरिङ हुन्छ । 

आफ्नै परिवारबाट हिंसामा ३ हजार १ सय ८५ वटा उजुरी प्रहरी समक्ष परेको छ । जसमध्ये मिलापत्र भई १ हजार २ सय ८७ वटा उजुरी फछ्र्यौट भइसकेका छन् । भने १ हजार ८ सय ९८ उजुरी फछ्र्यौट हुन बाँकी छन् । 

 

पछिल्लो ४ वर्षको तथ्यांक पल्टाउने हो भने प्रदेश २ मा मात्रै १४ महिलालाई आफन्तले जलाएका छन् । 

कानूनलाई बेवास्ता गर्दै सामाजिक परम्पराअनुसार नै अघि बढिरहेको प्रदेश २ मा अरु प्रदेशको तुलनामा बर्बर अवस्था छ ।  

कानूनअनुसार जलाएर हत्या गर्ने कार्यमा संलग्न दोषी प्रमाणित भएको खण्डमा सर्वस्वसहित जन्मकैदको सजाय हुने व्यवस्था छ ।
 

Tags :
प्रतिक्रिया दिनुहोस
शिल्पा पक्राउ नपर्नुको कारण यस्तो छ…

काठमाण्डौं । नायिका शिल्पा पोख्रेलले घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी दिएपछि यो

तिजको दरमा प्रशासनको खटन : पुरुषवादी मनोवृत्तिको उपज कि संस्कृतिको जर्गेना ?

काठमाण्डौं । काभ्रे, धादिङ, रूपन्देही, कास्की, पर्वत, स्याङ्जा लगायतका जिल्ला प्रशासन कार्यालयले पार्टी

यस्तो बन्दैछ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (फोटो फिचर)

काठमाडौं । सर्वाधिक चासोमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण कार्य ७४

भारतले रुवाइरहेछ कश्मीरलाई !

भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकारले जम्मु–कश्मीरले पाएको विशेष राज्यको मान्यता खारेज गरेपछि आक्रोशित