काठमाडौं । गत पुस ८ गते आगलागी भएको एमजीको विद्युतीय गाडी सवारी धनीको लापरबाहीका कारण क्षती हुन पुगेको बिक्रेताले बताएको छ ।
एमजी मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले विज्ञप्ति जारी गर्दै मापदण्ड अनुसारको तार, पावर सकेट प्रयोग नगरी खुला आकाशमुनी चार्जमा राख्नाले उक्त गाडीमा आगलागी हुन पुगेको जनाएको छ ।
गत पुस ८ गते बुढानिलकण्ठको देउवा चोकमा चार्जमा राखिएको अवस्थामा एमजीको सवारी साधन मध्ये दर्ता नं बागमती प्रदेश ०१–०२७ च १५८१ नम्बरको MG EZS EV मा आगलागी भएको थियो ।
आज विज्ञप्ति जारी गर्दै पारामाउन्ट मोटर्सले गाडीको आन्तरिक कारण भन्दा पनि सवारी धनीको लापरबाहीका कारण गाडीमा आगलागी भएको बताएको छ ।
‘गाडीधनी स्वयम्ले नै तत्कालिन अवस्थामा प्रहरीलाई खबर गर्दा नै विद्युतको तार सट भई आगोलागि भएको भनी फोन मार्पmत टिपाएको र सोही बमोजिम चार्जमा राख्दा विद्युतको तार सट भई आगोलागि भएको भन्ने व्यहोराको स्थानीय प्रहरीको स्थलगत सर्जिमिन भएको छ भने उक्त घटना पश्चात यस कम्पनीको प्राविधिक कर्मचारीले गरेको अवलोकनको क्रममा उक्त गाडीका गाडीधनीले हिउँदे सीत परि भुई ओसिलो हुने मौसमको बखत उक्त गाडीलाई रातभरी घरबाट करिब पन्ध्र मिटर तार तानी खुल्ला आकाश मुनी पावर सकेट राखी चार्ज गर्नु भएको र उक्त गाडी चार्ज गर्दा प्रयोग गर्नुपर्ने मापदण्ड अनुसारको तार, पावर सकेट समेत प्रयोग गर्नु भएको नदेखिनुको साथै गाडी पार्किङमा राख्दा बन्द अवस्थामा रहेको, विद्युत/आगोको श्रोतको रुपमा कुनै पनि आन्तरिक यन्त्र नदेखिएको, गाडीको High Voltage battery मा आगोको कुनै प्रभाव नरहेको तर आगोको कारण क्षति पुगेको र गाडीधनीले चार्ज गर्नलाई तानेको तारमा जोडेको सकेट र चार्जर जलेर पूर्णतः नष्ट भएको समेत वस्तुस्थिती सबैमा यसै विज्ञप्तीमार्फत् जानकारी गराउँदछौँ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै उक्त दुर्घटनाबापत पीडित पक्षले बीमा दाबी गरिसकेको र प्रक्रियामा गएको समेत कम्पनीले जनाएको छ । तर बीमा प्रक्रियामा गए पनि पुनः क्षतीपूर्ति माग गरिएको प्रति कम्पनीले आपत्ति जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया