काठमाडौं । हनी ट्रयाप गरी आपराधिक लाभ लिने दुई जना दोषी ठहर भएका छन् । हनी ट्रयापको कसुरमा काठमाडौं जिल्ला अदालतले ओखलढुङ्गाकी देवी थापा र सुदर्शन सापकोटालाई दोषी ठहर गरेको हो ।
सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको एकल इजलासले हनी ट्रयापको कसुरमा थुनामा रहेकी देवी थापा र थापासँग मिलेरै आपराधिक लाभ लिने सुदर्शन सापकोटालाई दोषी ठहर गरेको हो ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीका अनुसार अदालतले आपराधिक लाभ लिने कार्यमा संलग्न देवी थापालाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तथा थापालाई सहयोग गर्ने सुदर्शन सापकोटालाई ७ दिन कैद र १ हजार रुपैयाँ जरिवानाको फैसला भएको हो ।
हनी ट्रयापमा पारी रकम असुलेको पुष्टी भएपछि देवी थापाबाट ७ लाख रुपैयाँ तथा सुदर्शन सापकोटाबाट २ लाख रुपैयाँ बिगो रकम पीडितलाई भराउने फैसलासमेत भएको छ ।
२०७८ मंसिर ६ गते काठमाडौं जिल्ला अदालतमा दर्ता भएको आपराधिक लाभ (हनी ट्रयाप) को मुद्दामा अदालतले २ वर्षपछि फैसला सुनाएको हो । सुनकोशी गाउँपालिका १ बलखु, ओखलढुंगा माइती भएकी देवी थापालाई यसअघि काठमाडौं जिल्ला अदालतले ३ लाख ५० हजार रुपैयाँ धरौटी लिई तारेखमा राख्न आदेश दिएको थियो । थापाले धरौटी बुझाएपनि अन्य मुद्दामा दोषी ठहर भएपनि उनी जेलमै थिइन् । त्यसैगरी सुरुमा फरार रहेका सापकोटासँग अदालतले २ लाख रुपैयाँ धरौटी माग गरेको थियो । धरौटी बुझाएर सापकोटा रिहा भएका थिए ।
नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकलाई हनी ट्रयापमा पारी १७ लाख रुपैयाँ लिएपछि पीडित प्रहरीले प्रहरीमा जाहेरी दिएका थिए । तत्कालीन समयमा ती प्रहरी अधिकृतले देवी थापालाई १५ लाख रुपैयाँ र सुदर्शन सापकोटाको बैंक खातामै २ लाख रुकम जम्मा गरिदिएका थिए । आफू हनी ट्रयापमा परेपछि प्रहरी अधिकृतले दिएको जाहेरीका आधारमा देवी थापा २०७८ कात्तिक ९ गते पक्राउ परेकी थिइन् ।
हनी ट्रयापको कसुरमा दोषी ठहर भएकी देवी थापाले सिन्धुलीका एक ठेकेदारसँग ४५ लाख, प्रहरीका सईसँग १७ लाख, सहकारीमा काम गर्ने एक युवकसँग १३ लाख, ओखलढुङ्गाकै एक युवकसँग २ लाख २१ हजार रुपैयाँ हनी ट्रयापमा पारी लिएको उजुरी परेको थियो । थापाले पहिले ट्रयापमा पारी रकम लिने र रकम फिर्ता मागेमा बलात्कारको जाहेरी दिई पक्राउ गराउनेसम्मको कार्य गरेको उजुरीमा उल्लेख छ । थापाले ओखलढुङ्गाकै दिपेन्द्र थापाविरुद्ध काठमाडौं जिल्ला अदालतमै बलात्कारको मुद्दासमेत दिएकी थिइन् । सो मुद्दामा दीपेन्द्र थापाले सफाइ पाएका थिए ।
दोषी ठहर भएकी देवी थापालाई हनी ट्रयापका लागि परिचालन गर्ने आर्थिक लाभ लिने कार्यमा संलग्न रहेको कसुरमा सुदर्शन सापकोटाको समेत संलग्नता रहेकामा अदालतले सापकोटालाई पनि दोषी ठहर गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया