काठमाडौंको थलीमा नक्कली मदिरा बनाउने अखडा, ठूलो परिमाणमा मदिरा बरामद, ९ जना पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । प्रहरीले ठूलो मात्रामा स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली मदिरा बरामद गरि सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले मंगलबार काठमाडौंको कागेश्वरी मनोहर नगरपालिका वडा नं ५ थलिस्थित एक घरबाट ठूलो परिणामको नक्कली मदिरा, नक्कली मदिरा बनाउन प्रयोग हुने सामग्रीसहित ९ जनालाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरेको कमाण्डमा खटिएको टोली थलि स्थित भरत थापाको घरमा भाडामा लिएको कोठामा पुगेको थियो ।

प्रहरीले उक्त गिरोहलाई पक्राउ गर्न बनाएको ‘लिमा–३’ अप्रेशन अन्तर्गत त्यहाँबाट ठूलो परिणाममा नक्कली मदिरा बरामद गरि बनाउन प्रयोग हुने अन्य सामग्रीसहित नक्कली कागजात समेत बरामद गरेको हो ।

प्रहरीको टोलीले खुकुरी रम २८८ बोत्तल, फाइटर्स प्रिमियम डिलक्स ब्लन ९०० बोत्तल, ३६५ डे ब्ल्याक ट्रिपल एक्स ९६ बोत्तल, गोल्डेन वक ६३ बोत्तल, ८८४८ ४८ बोत्तल र सगुन गोल्ड १५ बोत्तल बरामद गरेको हो ।

त्यस्तै खुकुरी रम र अन्य खाली बोत्तलहरुसहित आन्तरिक राजस्व कार्यालयको स्टिकर फेला परेको प्रहरीले जनाएको छ । त्यहाँबाट उत्पादित सामग्रीहरु कहाँबाट ल्याइयो र कहाँ कहाँ त्यसको सप्लाई गरिन्छ भन्नेबारे अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

अनुसन्धान कार्यालयको टोलीले विनोद खत्रीसहित ९ जनालाई पक्राउ गरेको हो । उनी यसअघि एकपटक पक्राउ परी ५० हजार घरौटीमा रिहा भएका थिए भने अर्कोपटक फरार भएका थिए । त्यस्तै विनोद कुमार कार्की (२ पटकसम्म फरार भइ तेस्रोपटकमा समातिएको), मोहन खड्का र गौरव तामाङसहित ९ जना रहेका छन् ।

उक्त गिराहले स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली मदिरा बनाउनका लागि अन्य कच्चा पदार्थमा चिनि र पानीलाई तताउने र त्यसलाई मिसाइ मदिरामा प्रयोग गर्ने गरेको खुल्न आएको छ । त्यसरी उत्पादित मदिरा सक्कलीको भन्दा कम बजार मूल्यमा बिक्री गर्ने गरेको देखिएको छ ।

त्यहाँबाट उत्पादित मदिराले मानव स्वास्थ्यमा थप असर गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?