जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन अन्तरिक आदेश दिएको छ । 

सर्वोच्चको आदेश पछि गृह मन्त्रालयको पत्र अनुसार जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता दिन सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई बाटो खुला भएको हो ।

गृह मन्त्रालयले चैत १९ गते सबै ७७ जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी जन्मका आधारमा नागरिकता प्राप्त गर्नेको सन्तानलाई कानून बमोजिम वंशजको नागरिकता दिने निर्णय भएको भनी कार्यान्वयन गर्न आग्रह गरेको थियो ।

तर गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै वरिष्ठ अधिवक्ता वालकृष्ण नेउपानेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए । 

उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले पत्र यथास्थितिमा राख्न र मुद्दाका पक्ष र विपक्षलाई वैशाख ३ गते छलफलका लागि बोलाएको थियो ।

मंगलवार पक्ष र विपक्ष दुबै पक्षसँगको छलफलपछि सर्वोच्चले सो निर्णय गरेको हो । 

गृह मन्त्रालयको परिपत्रको कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय सर्वोच्चले सुनाएको हो । 

यो निर्णयपछि जिल्ला प्रशासन कार्यालयहरुलाई जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता वितरण गर्न बाटो खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?