निर्वाचन आयोगले लगायो ‘पीएम नरेन्द्र मोदी’ प्रदर्शनमा प्रतिबन्ध

एजेन्सी । भारती प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधरित चलचित्र ‘पीएम नरेन्द्र मोदी’ प्रदर्शन गर्न तत्कालका लागि रोक लगाइएको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रधानमन्त्रीका बारेमा बनाइएको चलचित्र प्रदर्शनमा ल्याउन लागिएको भन्दै ऊजुरी परेपछि तत्कालका लागि सो चलचित्र प्रदर्शनमा रोक लगाइएको हो ।

प्रधानमन्त्री मोदी आफैँ निर्वाचनमा उम्मेदवार रहेकाले भारतमा हुन लागेको लोकसभा निर्वाचन नसकिँदासम्म सो चलचित्र प्रदर्शन गर्न रोक लगाउन निर्वाचन आयोगले जनाएको छ ।

यही अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा गरेर भारतमा लोकसभा निर्वाचन हुन लागेको छ । निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टी र प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका बीचमा मुख्य प्रतिस्पर्धा हुँदैछ । 

प्रमुख प्रतिस्पर्धी कांग्रेसले निर्वाचन आयोगसमक्ष दरखास्त बुझाउँदै ‘पीएम नरेन्द्र मोदी’ नामक चलचित्र चुनाव सम्पन्न नहुँदासम्म प्रदर्शन गर्न नदिन माग गरेको थियो । निर्वाचनको स्वार्थ देखिएको भन्दै कांग्रेसले उठाएको विषयमा आम समर्थन देखिएको थियो भने आयोगले पनि त्यसलाई मुल्याङकन गरी प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

भारतमा चुनावको केही हप्ताअघि देखि नै राजनीतिक प्रचार गर्ने किसिमको विज्ञापन गर्न निर्वाचन आयोगले निषेध गरिएको छ ।

प्रतिबन्ध लगाइएको चलचित्रमा प्रधानमन्त्रीको प्रमुख भूमिका अभिनेता विवेक ओबरायलेखेलेका छन् । चलचित्रमा मोदीले बाल्यकालमा रेलहरुमा चिया बेचेकोदेखि किशोरावस्थामा हिमालय गएको र सन् २०१४ मा कसरी भारतीय जनता पार्टी मार्फत ऐतिहासिक जित हासिल गरेको भन्नेबारे विस्तृत रुपमा सकारात्मक सन्देश दिने विषयवस्तु राखिएको छ ।

निर्माताहरुका अनुसार प्रधानमन्त्री मोदी गुजरातको मुख्यमन्त्री भएको बेला अनुकरणीय काम गरेको, ठूलाठूला समस्याहरु समाधान गरेको दृश्य पनि चलचित्रमा समेटिएका छन् । चलचित्रमा मोदीको सफलता देखाउने र उनी प्रतिको आकर्षण बढाउने मनसाय समेटिएको छ ।

यसअघि १२ अप्रिलमा रिलिज हुने भनिएको उक्त चलचित्र एक हप्ता अघि नै अर्थात् अप्रिल ५ मा नै प्रदर्शन गर्ने भनिए पनि फेरी रोकिएको थियो । तर, अहिले प्रदर्शनको तरखर भइरहेका बेला फेरी निर्वाचन आयोगले रोक लगाएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?