सरकारले चिकित्सा पेशालाई नै मानमर्दन गर्ने खोज्यो : नेपाल चिकित्सक संघ

काठमाडौं । नेपाल चिकित्सक संघले सरकारले सार्वजनिक रुपमा चिकित्सा पेशालाई नै मानमर्दन गर्ने खोजेको आरोप लगाएको छ । 

बुधवार नेपाल चिकित्सक संघका महासचिव डा. लोचक कार्कीद्वारा जारी विज्ञप्तिमा ‘वीर अस्पतालमा कार्यरत सरकारी चिकित्सकहरुले गरेको विरोध कार्यक्रममा प्रहरीद्वारा चिकित्सकहरुमाथी गरिएको धरपकड र हातपातप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दछ ।’

‘समायोजनका सम्बन्धमा उत्पन्न समस्याको उचित समाधान वार्ता र संवादबाट गर्नु पर्नेमा नेपाल सरकारका जिम्मेवार व्यक्तिहरुले सार्वजनिक रुपमा चिकित्सा पेशालाई नै मानमर्दन गर्ने गरी अस्वाभाविक अभिव्यक्ति दिने, शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रेका चिकित्सकहरुलाई नै प्रहरी लगाई धरपकड गर्ने जस्ता क्रियाकलापलाई प्रसय दिएकोले चिकित्सकहरुलाई चिढाउने र सरकारी सेवाप्रति वितृष्णा पैदा गर्ने कार्य गरेको नेपाल चिकित्सक संघको ठहर छ’ विज्ञप्तिमा लेखिएको छ । 

नेपाल चिकित्सक संघले चिकित्सकहरुको समायोजनका सम्बन्धमा विस्तृत छलफल गरी विशेष रणनीति तर्जुमा गर्नका लागि काठमाडौं उपत्यकाभित्रका सरकारी अस्पताल, गैरसरकारी अस्पताल, निजी स्वास्थ्य संस्था, मेडिकल कलेज, विभिन्न विशेषज्ञ समाजका प्रतिनधि लगायतका चिकित्सापेशासँग संलग्न सम्पूर्ण स्वास्थ्य संस्थाहरुका प्रतिनिधिहरुलाई बिहीबार दिउसो २ः०० बजे नेपाल चिकित्सक संघको कार्यलय प्रदर्शनीमार्ग काठमाडौंमा उपस्थित हुन समेत आग्रह गरेको छ  ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?