मोरङ । लेटाङ्गका एक जना २३ वर्षका युवकको मुटुको प्वाल नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा विना शल्यक्रिया टालिएको छ । लेटाङ्ग निवासी अमिस मगरको विना शल्यक्रिया नोवेलका मुटुरोग बिषेशज्ञ प्रा.डा. राजेश नेपाल नेतृत्वको चिकित्सा टोलीले ए. एस. डी. क्लोजर प्रविधीबाट मुटुको जन्म जात प्वाल टालेको हो ।
करिव डेढ बर्ष अगाडि शौचालय जाने क्रममा एक्कासी लडेका उनको परिवारले केही होइन होला भनी त्यति गंभिरता पुर्वक नलिएको र छ महिना अगाडि पनि उनी फेरी बेहोसीमा लड्न पुगेका थिए । अस्पताल आउन भन्दा केही दिन पहिला यो घटना पुनः दोहोरिए पछि भने उनलाई परिवारले लेटाङ्गमा नै जाँच गराउदा मुटुमा प्वाल परेको थाहा भएको विरामीकी आमाले बताइन् । उनको भनाई अनुसार लेटाङ्गका नाम चलेका स्वास्थ्य कर्मी सिताराम लुईटेलले रोग पत्ता लगाई नोवेलमा थप उपचारका लागि पठाएका थिए । नोवेलमा उनको विना शल्यक्रिया मुटुको प्वाल टालिएको छ ।
त्यस्तै राजविराजका २६ बर्षिय मञ्जु देवी पंण्डीतको पनि मुटुको प्वालको ए. एस. डी. डिभाइसबाट उपचार गरिएको छ । थकाई लाग्ने, हिँडदा स्याँ स्याँ हुने, खाएको शरीरमा नलाग्ने समस्या भई उपचारका लागि नोवेल आएको उनको जम्मा तौल ३८ केजी मात्र रहेको र जाँचको क्रममा उनको मुटुको प्वालको आकार ठूलो रहेको पाईएकोले ३४ एम.एम. को ए. एस.डी. डिभाइस राखिएको थियो ।
डा.राजेश नेपालको भनाई अनुसार यो ए. एस. डी. भनेको मुटुमा हुने प्वाल हो । यो जन्म जात हुन्छ । धेरै मानिसहरुले यसलाई पहिला थाहा पाउदैनन्, पछिमात्र थाहा पाउछन् । किन भने लक्षण पछिमात्र देखा पर्न थाल्छ या अन्य कारणले इकोकार्डियोग्राम गर्दा थाहा हुन्छ । मुटुको प्वाल शल्यक्रिया गरेर वा नशाबाट छाता जस्तो सामाग्री (ए.एस. डी. डिभाईस) छिराएर प्वाल परेको स्थानमा टाल्ने गरिन्छ । मुटु जाँचको क्रममा टी. ई.ई. भन्ने परीक्षण गरे पश्चात भोको रहेको ६ घण्टा पछि क्याथ ल्यावमा यो प्रकृया गर्ने गरिन्छ ।
१५ देखि २० मिनटमा हुने यो प्रकृया सकिएको २ — ३ घण्टा पछि खाना खान मिल्ने हुन्छ । मुटुको प्वाल टालेको एक दिन पछि विरामीलाई घर पठाउन मिल्ने डा. नेपालको भनाई छ । नोवेलमा यो प्रविधीबाट मुटुको प्वाल टाल्ने विरामीको संख्या अहिले बढेको छ । मुटु रोगको पहिचान, सवै प्रकारका मुटुका समस्याहरुको उपचार र नेपाल सरकारको विपन्न नागरिक औषधी उपचार कोष अन्तर्गतका सेवा उपलव्ध हुने भएकोले विरामीलाई नोवेल आई उपचार गर्न सहज भएको महाप्रवन्धक दिपेश राईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया