देशमै सबैभन्दा पीडित कालाजारको मारमा मानेभन्ज्याङ

लोकपथ
0
Shares
kmf]6f] SofK;gM– cf]vn9’+ufsf] dfg]eGHofª ufp“kflnsf % pb}k’/ ufp“df sfnfhf/sf la/fdL / pgLx?sf cfkmGtnfO{ /ut kl/If0f ljlwaf6 sfnfhf/sf] cj:yf kl/If0f ub}{ :jf:Yo ;]jf ljefusf] 6f]nL . t:aL/M– s’De/fh /fO{÷cf]vn9’+uf

ओखलढुंगा। मानेभन्ज्याङ गाउँपालिका कालाजार रोगको मारमा परेको छ । देशैभरका सात सय ५३ स्थानीय तहमध्येमै सबैभन्दा बढी कालाजारको समस्यामा मानेभन्ज्याङ गाउँपालिकामा देखिएको छ । कोशी प्रदेशको सबैभन्दा बढी कालाजारको समस्या ओखलढुंगामा छ । कर्णाली प्रदेशको सबैभन्दा बढी कालीकोटमा देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

ओखलढुंगामा देखिएको कालाजारका रोगी मध्ये हालसम्म एकजना बाहेक सबै मानेभन्ज्याङ गाउँपालिकाका छन् । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार मानेभन्ज्याङमा आर्थिक वषं २०७६/०७७ मा १० जना, २०७७/०७८ मा ३७ जना, २०७८/०७९ मा २४ जना र २०७९/०८० मा चारजनामा कालाजार पुष्टि भएको थियो ।

सन् २०१६ देखि लगातार मानेभन्ज्याङ गाउँपालिकामा कालाजार देखिन थालेको हो । स्यान्ड फ्लाई नामक भुसुनाको टोकाईबाट लाग्ने कालाजार निवारण हुन नसकेपछि विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य सेवा विभागले कालाजार निवारणका लागि सहयोग गरेको छ । यसअघि संघ, प्रदेश र स्थानीय सरकारले विषादी छिट्ने, प्रभावित क्षेत्रमा झुल बाँड्ने लगायतको कार्यक्रम गर्दै आएको थियो ।हालैमात्र स्वास्थ्य सेवा विभागको टोली मानेभन्ज्याङमा पुगि जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सहित कालाजारबाट संक्रमित र उनीहरुका परिवारका सदस्य, छिमेकी समुदायमा कालाजार परिक्षण गरिरहेको छ ।

‘मानेभन्ज्याङमा कालाजारको समस्या लगातार अन्त भन्दा बढी देखिएपछि यसलाई निवारण गर्ने उद्देश्यले हामीले यहाँ आएका छौं ।’ स्वास्थ्य सेवा विभागका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले भने, ‘पहिलो चरणमा हामीले हालसालै संक्रमित भएका बिरामी र उनका परिवार, समुदायमा यसको परिक्षण गरेका छौँ । त्यसपछि थप कालाजार हुन नदिन जनचेतनामूलक र नियन्त्रण सम्बन्धि कार्यक्रम गर्छौं ।’

सात प्रदेशमध्ये सन् २०२२ मा सबैभन्दा बढी कर्णाली प्रदेशमा एक सयजना कालाजारका बिरामी देखिएको थियो । कोशी प्रदेशमा भने ३८ जना कालाजारका बिरामी पुष्टि भएको थियो । त्यसैगरि सुदूरपश्चिममा ४९, लुम्बिनीमा ३२, गण्डकीमा ६, बाग्मतिमा १४, मधेश प्रदेशमा १८ र एक विदेशी नागरिकलाई गरि कूल दुई सय ५८ जनालाई कालाजार लागेको थियो ।

कालाजार नियन्त्रणका लागि स्थानीय तहले यसवर्ष दुई लाख बजेट विनियोजन गरेको मानेभन्ज्याङ गाउँपालिकाका उपाध्यक्ष आश्रचन राईले बताए । ‘हामीकहाँ झुल लगाउनुपर्छ भन्ने चेतना नै छैन ।’ उपाध्यक्ष राईले भने, ‘कालाजारबाट कसरी बच्ने भन्ने चेतनामूलक कार्यक्रमदेखि लिएर अन्य कार्यक्रमहरु संचालन गर्दै आएका छौँ ।’

मानेभन्ज्याङ गापामा समुन्द्री सतहदेखि करिब ५ सय मीटरदेखि एक हजार २ सय मिटर भन्दा माथीको उचाई सम्म कालाजार देखिएको छ । कालाजार के कारणले पहाडतिर उक्लिंदै छ भन्ने विस्तृत अनुसन्धान भने हुन सकेको छैन । त्यसका लागि आवश्यक जनशक्ति उत्पादनका लागि विश्व स्वास्थ्य संगठनले सहयोग गरिरहेको जनाएको छ ।

‘सुरुमा तराईका १२ जिल्लामा सीमित कालाजार विस्तारै पहाडी क्षेत्र हुँदै हिमाली जिल्लातिर फैलिएको छ ।’ स्वास्थ्य सेवा विभागका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाले भने, ‘के कारणले भनेर ठ्याक्कै अनुसन्धान त भएको छैन तर तापक्रम वृद्धि, जलवायु परिवर्तन, अन्तै भुसुनाको टोकाईबाट रोग लिएर मान्छे आउनु र यातायातका साधनसँगै आएको हुनसक्ने प्रारम्भिक अनुमान गर्न सकिन्छ ।’

स्वास्थ्य सेवा विभागको तथ्यांक अनुसार सन् २००० मा नेपालमा दुई हजार ९० जनामा कालाजार पुष्टि भएको थियो । २०२३ मा उक्त संख्या एक सय चार जनामा झरेको छ । प्रत्येक १० हजार जनसंख्यामा एकजना भन्दा कममा कालाजार देखिएमा मात्र उन्मुलन भएको मान्न सकिने विज्ञहरु बताउँछन् । त्यसैले कालाजार उन्मुलन अझै भई सकेको छैन ।

घरसँगै जोडेर बनाईएका गोठहरुमा हुने भुसुनाको टोकाईबाटै धेरै कालाजार सर्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?