काठमाडौं । पैसाको बार्गेनिङ नमिलेपछि आफ्नै भिनाजुविरुद्ध बलात्कारको मुद्दा दायर गर्ने सालीको विपक्षमा काठमाडौं जिल्ला अदालतले फैसला सुनाएको छ । पुष २ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रतिवादी पूर्णबहादुर बुढाथोकीलाई अभियोग दाबीबाट सफाइ दिएको हो ।
आफ्नै भिनाजुविरुद्ध एक करोडको बार्गेनिङ गरी पैसा नपाएपछि बलात्कारको जाहेरी दिएकी आरोप लागेकी गंगाजमुना ७, बुढाथुम धादिङ स्थायी घर भएकी थापा थरकी २८ वर्षीय परिवर्तित नाम बालाजु ५५ ले प्रहरी वृत्त बालाजुमा बलात्कारको जाहेरी दिएकी थिइन् । २०७८ मंसिर ४ गते आफूमाथि बलात्कार भएको भन्दै घटनाको १५ महिनापछि २०७९ फागुन १२ गते जाहेरी दिएकी थिइन् ।
सोही जाहेरीका आधारमा प्रहरीले बुढाथोकीलाई पक्राउ गरी २०८० साउन २ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
सुरुमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका बुढाथोकीलाई उच्च अदालत पाटनले पनि थुनामै राख्ने आदेश दिएको थियो । बुढाथोकीलाई थुनामा पठाउन महिलाले कानुनी सहायता गर्ने एक एनजिओको सहयोगमा इजलासलाई समेत ब्ल्याकमेल गरेको समाचार लोकपथले प्रकाशित गरेको थियो ।
उच्च अदालत पाटनले पनि बुढाथोकीलाई थुनामै पठाएपनि प्रमाणको मूल्यांकनबाट प्रतिवादी कसुरदार हुन् भन्न नसकिएको काठमाडौं जिल्ला अदालतको ठहर छ । जाहेरी नै धेरै ढिलो आएको कारण जाहेरीमाथि नै शंका उत्पन्न भएको मात्रै होइन, पछि जाहेरवालीले नै अदालतमा आफूमाथि बलात्कार नभएको बयान दिएकी थिइन् ।
जाहेरवाली युवतीले बलात्कार भयो भनेको मितिमा प्रतिवादी आफू उक्त स्थानमै नगएको बयान दिएका थिए । बलात्कार भयो भनिएको रेष्टुरेण्टका सञ्चालकले पनि आफ्नो रेष्टुरेण्टमा त्यस्तो घटना हुन नसक्ने र वारदात भयो भनिएको दिन उनीहरु रेष्टुरेण्टमा नआएको बयान दिएका थिए । जाहेरवालीकै साक्षीले घटना नै नभएको, उनीहरु नै नआएको बयान दिएपछि जाहेरवालीले पनि आफूमाथि बलात्कार नभएको भन्दै बकपत्र गरेकी थिइन् । त्यसपछि अदालतले प्रतिवादीलाई सफाइ दिने फैसला सुनाएको हो ।
के हो घटना ?
हाल सफाइ पाएका प्रतिवादी पूर्ण बहादुर बुढाथोकी पेसाले हाइड्रो इञ्जिनियर हुन् । बाहिर जिल्लाबाट काठमाडौंमा आइ संघर्ष गरेका पूर्ण आफ्नो परिवारसँग राम्रैसँग बसिरहेका थिए । त्यही बेला नातामा साली पर्ने परिवर्तित नाम बालाजु ५५ को इन्ट्री भयो, पूर्णको घरमा ।
बालाजु ५५ ले आफ्नो घर परिवारका सदस्यसँग रिस उठेपछि सनकमा आफूले खाइरहेको औषधीको ओभर डोज लिइन् । त्यसपछि बिरामी भएकी उनलाई स्वयम्भुको मनमोहन अस्पतालमा भर्ना गरियो । हेरचाह गर्ने कोही नभएपछि र जेठानीले फोन गरेपछि पूर्णकी सासु अस्पतालमा पुगेर जेठानीकी छोरी बालाजु ५५ लाई उपचार गराइन् ।
उपचारपछि उनले केही दिन आफ्नै घरमा ल्याएर राखिन् । यो घटना करिब ७ वर्ष अगाडिको थियो र पूर्णसँग बालाजु ५५ को चिनजान त्यहीँ भएको थियो ।
पहिले खासै आउजाउ नहुने र दुःखमा साथ दिएपछि बालाजु ५५ आफ्नो कोठामा जान नमानी अंकल–अण्टीकै घरमा बस्न थालिन् । त्यही बेला पूर्णकी श्रीमती रस्मिला गर्भवती भएको कारण दिदीलाई सहयोग हुन्छ भनेर घर जान नमानी बालाजु ५५ त्यहीँ बसिन् । कहिलेकाहीँ मात्रै आफ्नो कोठामा जाने र धेरैजसो त्यहीँ बस्न थालिन् । करिब ४ महिनापछि व्यवहारमा अस्वभाविक परिवर्तन आएपछि पूर्णकी सासुले बालाजु ५५ लाई त्यहाँबाट निकालिदिइन् ।
चिनजानपछि पूर्ण र बालाजु ५५ नजिकिए । काठमाडौं जिल्ला अदालतमा पेस भएको अभियोगपत्र, त्यहाँको बयान आदिबाट उनीहरुबीच आपसी सहमतिमै पटक–पटक यौनसम्बन्ध पनि स्थापित भयो । प्रतिवादी रहेका पूर्ण बुढाथोकीले दिएको बयानअनुसार उनीहरुबीच करिब ५ वर्षदेखि सम्बन्ध रहँदै आएको थियो ।
सहमतिको यौनसम्बन्धले पछि औपचारिकता खोज्न थाल्यो । दुई सन्तानका पिता रहेका पूर्णलाई आफ्नी दिदी अर्थात् श्रीमतीसँग डिभोर्स गरेर आफूसँग विवाह गरी बस्न दबाव दिइन् । तर, पूर्णले त्यस्तो प्रस्ताव अस्वीकार गरेपछि आफूलाई एक करोड रुपैयाँ दिन वा काठमाडौंमा घर बनाइदिन भनिन् । पूर्णले आफूसँग पैसा नभएको र त्यो पनि सम्भव नभएको भनी टाढिन थाले ।
त्यसपछि बालाजु ५५ पूर्ण बसेको कलंकीको घरमै आएर मध्यरातमा समेत झगडा गर्न थालिन् । झगडाकै क्रममा प्रहरीले पक्राउ गरी बालाजु ५५ र पूर्णलाई प्रहरी वृत्त कीर्तिपुरमा लग्यो ।
छलफलका क्रममा बालाजु ५५ ले आफूलाई विवाह गरेर लैजानुपर्ने प्रस्ताव गरिन् । पूर्णले नमानेपछि बलात्कारको केस गर्छु भन्दै त्यहीँ आफूमाथि पटक–पटक बलात्कार भएको बताइन् । २०७८ चैत २४ गते पक्राउ परेका पूर्णलाई एक रात त्यहीँ थुनेर भोलिपल्टको छलफलमा कुरा नमिलेपछि आफूमाथि बलात्कार भएको भन्दै पछिल्लोपटक बलात्कार भएको स्थान बालाजुक्षेत्रमा पर्ने बताइन् । त्यसपछि कीर्तिपुर प्रहरीले दुवैजनालाई बालाजु प्रहरीको जिम्मा लगाइदियो ।
तर, बालाजु ५५ ले पूर्णविरुद्ध बलात्कारको जाहेरी दिन मानिनन् । आफन्त रहेका एक वकिलमार्फत् एक करोड दिए छुटकारा दिने प्रस्ताव राखियो । तर एक करोड दिन नसक्ने र आफूले बलात्कार पनि नगरेको बताएपछि बालाजु ५५ कै योजनामा घरमा श्रीमती हुँदाहुँदै श्रीमती स्वीकार गर्न लगाउने गरी मिलापत्रको कागजात तयार भयो र मिलापत्र भयो । प्रहरी कार्यालयमा मिलापत्र हुँदा भने बालाजु ५५ ले सालीभेनाको सामान्य विवाद रहेको र अहिले विवाद मिलेको बताइन् । त्यसपछि उनीहरु त्यहाँबाट छुट्टिए ।
त्यसपछि सुरु भयो पैसाको ब्ल्याकमेल
जब त्यहाँबाट पूर्ण छुटे, त्यसपछि पटकपटक पैसा माग गर्ने गर्न थालिन् । पटकपटक पैसा दिनुपर्ने र दिनकै २०–२५ हजार पैसा दिनुपर्ने भएपछि पूर्ण आजित हुन थाले । उसलाई पैसा पनि दिनुपर्ने, रिसोर्टमा गएर उसँगै बसिदिनुपर्ने र त्यसको खर्च भने आफूले तिर्नुपर्ने भएपछि पूर्ण बिस्तारै बालाजु ५५ बाट टाढा हुन थाले । तर, जब पैसा दिन छाड्यो, त्यसपछि प्रहरी कार्यालय भित्र वा प्रहरी कार्यालयको बाहिर गएर फोन गर्ने र भेट्न आउने कि पैसा पठाउने नत्र रेप केस हालिदिन्छु भनेर धम्काउन थालिन् ।
लोकपथलाई प्राप्त दुईवटा अडियोमा एउटा अडियो प्रहरी कार्यालयबाट गरिएको फोन सम्वादसँग सम्बन्धित छ । उक्त अडियोमा पूर्णले आफू पैसा दिँदादिँदै थाकेको र उसँग समय बिताउन आफूसँग समय पनि नभएको बताएका छन् ।
अब महिलाले बलात्कारको केस गरेपनि फेस गर्ने तर सधैं पैसा दिन नसक्ने बताएका छन् । साथै, उसलाई भेटेर रिसोर्टमा गएर बस्नुपर्ने र आफ्नो त्यतिसम्मको हैसियत नभएको उक्त अडियोमा सुन्न सकिन्छ । दुईवटै अडियोसम्बन्धी समाचार लोकपथले यसअघि नै प्रकाशन गरिसकेको छ ।
समाचार हेर्न र अडियो सुन्न यहाँ क्लिक गर्नुहोस् ।
लोकपथलाई प्राप्त बलात्कारको जाहेरी दिने युवतीसँगको कुराकानीमा युवतीले पटकपटक पैसा माग गरेको, पैसा नदिए बलात्कारको केस हालिदिने लगायतको धम्की दिएको बुझ्न सकिन्छ । प्रतिवादी बनाइएका बुढाथोकीले हार खाएर अब जेल जानु परे पनि जाने भन्ने जवाफ दिएका छन् ।
फैसलापछि इजलासमा फेरि नाटक !
जाहेरवाली बालाजु ५५ ले अदालतमा न्यायाधीशका अगाडि बकपत्र गर्ने क्रममा आफूमाथि बलात्कार नभएको र आवेशमा जाहेरी दिएको बताएकी थिइन् । तर, जब पुष २ गते काठमाडौं जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिने फैसला सुनायो ।
त्यसपछि बालाजु ५५ पुनः काठमाडौं जिल्ला अदालत पुगेर रोइकराई गरेकी थिइन् । इजलासका कर्मचारीले नाटक नगर्न भन्दै गाली गरेपछि उनी अनुहार नै नचिनिने गरी माक्स र सल ओडेर अदालतबाट बाहिरिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया