लमजुङ । पहाडी जिल्ला लमजुङस्थित दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक अलपत्र अवस्थामा छ । सरकारले एक पालिकामा एक सडक पुर्याउने अभियानअन्तर्गत अघि बढेको यस सडकमा ठेकेदारले काम नगर्दा पाँच महिनादेखि अलपत्र अवस्थामा रहेको हो ।
पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख विवेक सिग्देलका अनुसार ठेकेदारले आर्थिक पाटोलगायत कारण देखाउँदै काम अलपत्र बनाउँदै आएको छ । गत असारपछि सडक निर्माणको काम ठप्प हुँदै आएको छ ।
ठेकेदारले रोकिएको कामलाई केहि दिनमा निरन्तरता दिने बताएको उनको भनाइ छ । निमित्त प्रमुख सिग्देलले भने, ुनिर्धारित समयमा काम पनि हुनसकेन अहिले सडक निर्माण सम्झौताको म्याद सकिएर थप गर्ने प्रक्रियामा छ । सडक अलपत्र रहँदा बर्खामा हिलाम्मे र हिउँदमा दुलाम्मे हुँदा स्थानीयवासीलाई समस्या हुने गरेको छ ।
हिउँदामा घर अगाडि धुलो आएर घर तथा मान्छे पनि नचिनिने हुने गरेको स्थानीयवासीले गुनासो गरेका छन् । स्थानीयवासी ईश्वरराज सेडाइँले भने, सडक बनेको ठाउँ पनि भत्किन थालेको छ, सडकमा विच्छ्याएको ढुङ्गा सवारी साधन गुडाउँदा उछिटिन्छ र दुर्घटना हुने जोखिम हुन्छ ।
जिल्लाको सदरमुकाम बेँसीसहर जान होस् वा पालिका केन्द्र पुग्नलाई सडकका कारण सास्ती हुनेगरे पनि सम्बन्धित निकायाको ध्यान पुग्न सकेको देखिँदैन । गाउँपालिका अध्यक्ष युवराज अधिकारी नागरिकको दैनिक यात्रा सहज बनाउनका लागि जतिसक्दो चाँडो सडकको कामलाई निरन्तरता दिँदै सम्पन्न गर्न आफूले पहल गर्दै आएको बताए ।
प्रदेश सरकारको रु २६ करोड २९ लाख छ हजार दुई सय २५को लागतमा सात दशमलव एक सय २१ किलोमिटर सडक कालोपत्र हुन लागेको छ । पूर्वाधार कार्यालयका अनुसार बेँसीसहर नगरपालिका–१ उदिपुरदेखि दोर्दी गाउँपालिका–४ मा रहेको दोर्दी गाउँपालिका जोड्ने यस सडकको अस्फाल्ट कालोपत्र हुनेछ । यस सडकले बेँसीसहर नगरपालिका र दोर्दी गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन् । दोर्दी गाउँपालिका केन्द्र जोड्ने यस सडकको अधिकांश भाग भने बेँसीसहर नगरपालिकाभित्र पर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया