गुडविल फाईनान्सको सिइओमा १० वर्षदेखि एउटै व्यक्तिको राज

लोकपथ
468
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७६ सालमा बैंक तथा वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत (सिइओ) को कार्यकाल, योग्यता सम्वन्धी परिपत्र जारी गरेको थियो । उक्त परिपत्र अघि सिईओको कार्यकाल सम्बन्धमा जे जस्तो व्यवस्था भएपनि परिपत्र लागु भएपछि भने कुनै एउटा संस्थामा एउटा प्रमुख कार्यकारी अधिकृतको कार्यकाल भनेको बढीमा चार बर्ष मात्र हो ।

कार्यकारी प्रमुखको नियुक्ति र सेवाको शर्तको सम्वन्धमा राष्ट्र बैंकले प्रष्टसँग भनेको छ, सञ्चालक समितिले यस ऐन, प्रबन्धपत्र र नियमावलीको अधिनमा रही बैंक वा वित्तीय संस्थाकोे व्यवस्थापन गर्न एक कार्यकारी प्रमुखको नियुक्ति गर्नु पर्नेछ । कार्यकारी प्रमुखको कार्यकाल बढीमा चार वर्षको हुनेछ र निज अर्को एक कार्यकालका लागि पुनः नियुक्ति हुन सक्नेछ । बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र मिति २०७६ साल जेठ मसान्तसम्म भएका संशोधन समेत मिलाएर राष्ट्र बैंकले यो परिपत्र जारी गरेको थियो । तर नेपाली बैंकिङ क्षेत्रमा राष्ट्र बैंकको यो परिपत्रले नछोएका एउटा प्रमुख कार्यकारी अधिकृत हुन, सरोजकाजी तुलाधर ।

फाइनान्ससिङ फर सक्सेस सन् १९९५ नारा सहित सञ्चालनमा आएको गुडविल फाईनान्समा तुलाधर बिगत एक दशक भन्दा बढी समय देखि प्रमुख कार्यकारी अधिकृतको पदमा रहेका छन् । एउटै व्यक्ति एउटै संस्थाको प्रमुख पदमा धेरै लामो समय रहँदा वित्तीय जोखिम बढ्ने भन्दै राष्ट्र बैंकले सिईओको कार्यकाल सम्वन्धी व्यवस्था लागु गरेको थियो । गुडविलका तुलाधारले राष्ट्र बैंकको सबै ऐन र नीति नियमलाई धज्जी उडाउँदै एक दशक भन्दा बढी एउटै संस्थामा प्रमुख कार्यकारी अधिकृत भएर काम गदैै आएका छन् ।

प्रमुख कार्यकारी अधिकृत तुलधारले धेरै लामोसमय देखि व्यवस्थापन सम्हालेको गुडविल फाईनान्स अहिले वित्तीयरुपमा कमजोर बन्दै गएको छ । फाईनान्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा तीन करोड ५० लाख १७ हजार पाँच सय पाँच रुपैंयाँ खुद नोक्सानी बेहोरेको छ भने खराब कर्जा बढेर झण्डै चार प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा तीन करोड ८४ लाख २३ हजार चार सय ७१ रुपैंयाँ खुद खुद मुनाफा कमाएको यो फाईनान्समा उक्त अवधिमा दुई दशमलव १५ प्रतिशत मात्र कर्जा खराब रहेको थियो । गत आ.वको पहिलो त्रैमासमा फाईनान्सको वितरणयोग्य नाफा पनि ४० लाख ६८ हजार तीन सय ५१ रुपैंयाँले ऋणात्मक रहेको छ ।

चुक्ता पुँजी ९४ करोड ६१ लाख १५ हजार रुपैंयाँ रहेको फाईनान्सले चालु आवको पहिलो त्रैमासमा ११ अर्ब ७८ करोड ७२ लाख ५८ हजार रुपैंयाँ निक्षेप संकलन गरी नौ अर्ब १२ करोड ५८ लाख ६७ हजार रुपैंयाँ कर्जा प्रवाह गर्दा सात करोड १९ लाख चार हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा भने फाईनान्सले ११ अर्ब ४७ करोड २२ लाख ५४ हजार रुपैंयाँ निक्षेप संकलन गरी नौं अर्ब ६ करोड ४४ लाख ८१ हजार रुपैंयाँ कर्जा प्रवाह गर्दा १५ करोड दुई लाख ७२ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?