बल्खुमा प्रहरीले प्रहार गरेको अश्रुग्यासको ‘डेट एक्सपायर’

लोकपथ
1.4k
Shares

काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाई नेतृत्वले गरेको आन्दोलनमा भीड नियन्त्रण गर्न प्रहरीले म्याद सकिएको (डेट एक्सपाएर) टियर ग्यास (अश्रुग्यास) प्रहार गरेको पाइएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियानले आज बल्खुमा आन्दोलन गरेको थियो । आन्दोलन शान्तिपूर्ण गर्ने भनिए पनि प्रसाई नेतृत्वको राजावादीहरुले प्रहरीको सुरक्षा घेरा तोड्न खोजेपछि बल्खु चोकमा दुई पक्षबीच झडप समेत भएको थियो । भीड उत्तेजक रुपमा अघि बढेपछि प्रहरीले दर्जनौँ अश्रुग्यास प्रहार भएको थियो ।

सो क्रममा म्याद सकिएको अश्रु ग्यास प्रहार भएको पाइएको हो ।

प्रहरीले प्रहार गरेको अश्रु ग्यासको म्याद आजभन्दा १३ वर्ष अघि नै सकिएको पाइयो । बल्खुमा प्रहरीले प्रहार गरेको अश्रुग्यासको म्याद २०१० मा नै सकिएको लोकपथले फेला पारेको छ ।

सामान्यतया प्रहरीले भीड नियन्त्रण गर्नका लागि अश्रुग्यास प्रहार गर्ने गर्दछ । एकातिर म्याद नै रहेको अश्रु ग्यासले पनि मानव स्वास्थ्यमा गम्भीर असर गर्ने भए पनि अझ म्याद सकिएको अश्रुग्यासले थप असर गर्ने विज्ञहरु बताउँछन् ।

नेपाल प्रहरीबाटे यो त्रुटी अहिले मात्र भएका होइन । यसअघि सन् २०१९ अगस्ट १५ मा चितवनमा पनि प्रहरीले भीड नियन्त्रणका लागि २०१० मार्चमै म्याद सकिएको अश्रु ग्याँस प्रहार गरेको थियो । त्यसबेला खोज पत्रकारिता केन्द्र (सिआइजे) ले त्यसबारेमा समाचार प्रकाशन गरेको थियो । तत्कालिन सञ्चारकर्मी रवि लामिछाने आत्महत्या दुरुत्साहन मुद्दामा जेलमा रहेका बेला उनका समर्थकहरुले जिल्ला प्रशासन कार्यालय बाहिर आन्दोलन गरेका थिए । सो क्रममा प्रहरीले भीड नियन्त्रणका लागि अश्रु ग्याँस प्रहार गरेको थियो । तर प्रहरीले त्यस बेला सो विषयमा कुनै चासो देखाएको थिएन ।

प्रहरीले लापरबाही गरेको यो पहिलो घटना भने होइन । राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको प्रतिवेदनले २०७२ सालको मधेश आन्दोलनका क्रममा सप्तरीको मलेठ, विराटनगर र सुर्खेतमा आक्रोशित भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको निष्कर्ष निकालेको थियो ।

त्यतिमात्र होइन अश्रु ग्याँसको प्रहारबाट यसअघि एक व्यक्तिको निधन समेत भएको थियो । सन् २००६ मा शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएकी नेपालगञ्जकी सेतु विकलाई प्रहरीले अश्रुग्याँस प्रहार गर्दा मृत्यु भएको थियो ।

इन्सेकले तयार पारेको तात्कालीन स्थलगत प्रतिवेदनमा भनिएको छ, ‘गत चैत २८ गते तत्कालीन बागेश्वरी वडा नं ३ की सेतु विक प्रदर्शनमा सहभागी भएको बेला प्रहरीले अश्रुग्यास प्रहार गर्दा घाइते भई उपचारका लागि लखनउ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

जताततै अश्रुग्याँसको नकारात्मक प्रभाव पर्न थालेपछि यसको प्रयोग रोक्न नेपाललगायत विश्वभर आवाज उठिरहेको छ ।

धनञ्जय खनालले २०६३ सालमा सर्वोच्च अदालतमा अश्रुग्याँस प्रयोगमा रोक लगाउन माग गर्दै रिट निवेदन दायर गरेका थिए । रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले स्वास्थ्य, गृह, प्रहरी प्रधान कार्यालय लगायत सम्बन्धित निकायका पदाधिकारी सम्मिलित विज्ञ समिति गठन गरी अध्ययन गर्न सरकारलाई आदेश दिएको थियो ।
यता विश्वमा मानवअधिकारको वकालत गर्नेहरुले भने जनस्वास्थ्यमा गम्भीर असर गर्ने ग्याँसको प्रयोग रोक्नुपर्ने धारणा राख्दै आइरहेका छन् ।

लोकपथले आज प्रयोग भएको म्याद सकिएको अश्रु ग्याँसबारे प्रश्न गर्दा नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुुवेर कडायतले भने त्यस्तो भएको हुनसक्ने तर ग्यासको म्याद सकिए पनि लामो समयसम्म प्रयोग गर्न सक्ने तर्क गर्दै आफूलाई त्यसबारेमा जानकारी नभएको भन्दै पन्छिए ।

यता उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिपक थापालाई पटकपटक फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

कति हुन्छ अश्रु ग्यासको अवधि ?

सामान्यतया अश्रु ग्यास क्यानिस्टरको म्याद समाप्ति अवधि पाँच वर्ष हुन्छ । म्याद सकिएपछि यो थप विषाक्त हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन । तथापि, म्याद सकिएको लामो समयसम्म प्रयोग नगर्दा कुनैपनि रसायन अझै घातक बन्छ ।
यसरी म्याद सकिएको लामो समयपछि अश्रु ग्याँसको प्रयोग गर्दा त्यो जनश्वास्थ्यका लागि झनै घातक बन्ने जनस्वास्थ्य विज्ञहरुको राय रहेको छ । जनस्वास्थ्य विज्ञहरुका अनुसार यसरी प्रयोग गरिनुु जनस्वास्थ्यको स्पष्ट उल्लङ्घन रहेको दाबी गर्छन् । किनकि म्याद गुज्रेको अश्रु ग्याँसको प्रयोगले श्वासप्रश्वास र अन्य जटिलताहरू निम्त्याउन सक्छ ।
स्मरण रहोस् अश्रु ग्यास भीडलाई तितरबितर पार्न प्रयोग गरिन्छ, जनतालाई रोगि बनाउन होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?