काठमाडौं । अनलाईनमार्फत ठगी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानरपालिका–५ तारानगरबाट ५ जना नेपाली नागरिक र ४ जना भारतीय नागरिक सहित ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा डोटी सिखर नगरपालिका–१० बस्ने २१ वर्षीय प्रशान्त बलायर, कञ्चनपुर पुर्नवास नगरपालिका–६ बस्ने २९ वर्षीय मिन बहादुर सुनार, बेलडाडी गाउँपालिका–२ बस्ने ३० वर्षीय विशाल सुनार, सोही ठाउँ बस्ने २८ वर्षीय कमल सुनार, २२ वर्षीय जयराम सुनार, भारत दिल्ली पालङ्गा बस्ने ३२ वर्षीय अमित कुमार, भारत उत्तमनगर दिल्ली बस्ने २६ वर्षीय कुनाल शर्मा, भारत करोलबाग दिल्ली बस्ने २४ वर्षीय निखिल कुमार र भारत दिल्ली बस्ने १९ वर्षीय प्रियंसु टापु रहेका छन् ।
त्यस्तै धनगढी उपमहानरपालिका–५ तारानगरस्थित शिवदत्त पाण्डेयको घरमा सुनार समेतले अबैध रुपमा आईटी सेक्टर सञ्चालन गरी विभिन्न बहानामा मनी लाउण्डरिङ, दुर्घटना बिमा लगायत विषयमा प्रलोभनमा पारी विशेष गरी पोल्याण्ड लगायतका नागरिकहरुलाई अनलाईन ठगी गरेको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाईे नगद २९ लाख ३२ हजार ३ सय भारतीय रूपैयाँ, ल्यापटप ११ थान, मोबाइल १० थान, वाईफाई राउटर १, हेडफोन १२ थान र किबोर्ड १ थानसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया