विप्लव समूहका केन्द्रीय नेतालाई पक्राउ गर्न गृहमन्त्रालयले दियो प्रहरीलाई निर्देशन

काठमाडौं । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका २१ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । 

प्रहरीले सोमवार र मंगलवारमात्रै प्रतिबन्धित विप्लवका थप २१ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले चितवन, अछाम, तनहुँ, नवलपरासी, नवलपुर, संखुवासभा, मकवानपुर, इलाम, पाँचथर, सप्तरी, सुनसरी, कास्की र भोजपुरबाट पक्राउ गरेको हो ।  

सरकारले गत फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाउने घोषणा गरेयता प्रहरीले विप्लव समूहका पाँच दर्जनभन्दा बढी नेता तथा कार्यकर्तालाई पक्राउ गरिसकेको छ । 

यसैगरी प्रहरीले मंगलवार पोखरा २७ रिठेपानीबाट विप्लव समूहको तमुवान जनपरिषद् संयोजक किसानसिंह गुरुङलाई पक्राउ गरेको छ भने मंगलवारनै तनहुँ व्यास ६ का अखिल नेपाल क्रान्तिकारी लतमुङ अध्यक्ष सुनील कुमाल, बन्दीपुर ५ का जिल्ला सदस्य अम्मरराज बुढामगर र व्यास १४ का दलित मोर्चा ज्ल्लिा अध्यक्ष भेषबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका उनीहरुमाथि जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । 

यस्तै, पूर्वी नवलपरासीबाट विप्लव समूहका नवलपरासी इञ्चाज सुमन ज्ञवाली र जिल्ला सदस्य धनबहादुर मर्दनिया पनि पक्राउ परेका छन् । दुवैलाई प्रहरीले सोमवार राति घरबाटै पक्राउ गरेको हो । 
पक्राउ परेका दुवैलाई कावासोतीस्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । 

यस्तै, चन्द समूहका नवलपुर जनपरिषद् प्रमुख दानबहादुर आचार्य पनि मंगलवार पक्राउ परेका छन् । विनयी त्रिवेणी गाउँपालिका ४ सर्दीस्थित उनको घर नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच प्रहरीले भोजपुरको टेम्केमैयुङ गाउँपालिका ४ नागीका सञ्जय राई, पौवादुम्मा गाउँपालिका ३ च्यांगेका विकास राई र साल्पासिलोछो गाउँपालिका २ कुलुङका महेन्द्र तामाङलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सञ्जय र महेन्द्र चन्द समूहका जिल्ला सदस्य हुन् भने विकास विद्यार्थी संगठनको जिल्ला अध्यक्ष हुन् । 

साथै प्रहरीले सोमवार सप्तरीमा चन्द समूहका जिल्ला सदस्य कञ्चनपुर नगरपालिका ६ का नुन्नु राम, शम्भुनाथ नगरपालिका ६ का गणपति साह र छिन्नमस्ता गाउँपालिका १ का तेजनारायण यादवलाई पक्राउ परेका छन् भने इलामको सूर्योदय नगरपालिकाबाट नेकपाका कार्यकर्ता मोहन बराल र रोङ १ का राजकुमार खत्रीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिकाबाट भूपेन्द्र चेम्जोङ, संखुवासभाको पाँचखाल नगर कमिटी इञ्चाज भीम राई र सुनसरीको इटहरी हलगडाबाट चन्द समूहका कार्यकर्ता रमेश खडकालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

यसैबीच गृहमन्त्रालयले प्रतिबन्धित विप्लव समूहका केन्द्रीय नेताहरुलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ । 

यही चैत १ गते अवैध वा नवीकरण नगरेका हतियार ३५ दिनभित्र प्रहरी कार्यालय वा सेवाको ब्यारेकमा बुझाउन सार्वजनिक अपिल गरेको थियो । 

साथै चैत १० गते आइतवार विज्ञप्ति जारी गर्दै विप्लव समूहलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने व्यक्ति, संघसंस्था वा समूहलाई समेत कारबाही गर्ने चेतावनी दिएको छ । यसैबीच गत सोमवार संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले चैत मसान्तसम्म प्रतिबन्धित विप्लव समूहका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिइसक्ने बताएका थिए । 

प्रहरीले प्रतिबन्धित विप्लव समूहका तेस्रो वरीयताका हेमन्तप्रकाश वलीसहित आठ कार्यकर्ता काभ्रेबाट र कोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठसहित दुई जनालाई पक्राउ गरेको थियो । 

योसँगै प्रहरी प्रधान कार्यालयले प्रतिबन्धित विप्लव समूहका केन्द्रीय नेताहरुमाथि निगरानी बढाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?