यी सात क्षेत्र, जस्का कारण ओली र प्रचण्डको टाउको दुखाई, बाम गठबन्धनका नेताको रुवाई

काठमाडौं, १० कात्तिक बाम गठबन्धनले आगामी मंसिर २१ मा हुने प्रदेश र प्रतिनिधिसभाको लगभग सबै क्षेत्रको टिकट बाँडफाँट टुंगो लगाइसकेको छ । पार्टीगत भागवण्डा मिलाई, आन्तरिक रुपमा उम्मेदवार छान्दै छन् । तर, सातवटा चुनाव क्षेत्रमा देखिएको विवादका कारण बाम गठबन्धनका शीर्ष नेताको टाउको दुखाई बन्न पुगेको छ । बाम गठबन्धनका केही प्रभावशालीनेताहरुले एउटै चुनाव क्षेत्र दाबी गरेका कारण गठबन्धनमा समस्या देखिएको हो । माओवादी र एमालेका १४ नेताको दाबीका कारण सात क्षेत्रमा विवाद देखिएको र ती क्षेत्रको विवाद निरुपणका लागि शीर्ष नेतालाई जिम्मेवारी दिइएको छ यसरी विवाद देखिएका निर्वाचन क्षेत्रहरुमा दाङ–२, झापा–१, उदयपुर, चितवन–२, सल्यान, अर्घाखाँची र रौतहटमा विवाद देखिएको छ । दुई दल सम्मिलित कार्यदल सदस्य एवं माओवादी नेता वर्षमान पुनले पनि ति क्षेत्रमा कस्लाई उम्मेदवार बनाउने भन्ने टुंगो लागिनसकेको बताए स्थानीय तहको चुनावमा एमालेले अत्याधिक बहुमत सहित जित हातपारेको दाङ सदरमुकार रहेको क्षेत्र नम्वर दुईमा माओवादी नेता कृष्णबहादुर महराले चुनाव लड्ने बताएपछि एमाले नेता शंकर पोखरेलको व्यवस्थापनमा समस्या परेको छ । पोखरेललाई मुख्यमन्त्री बनाउनेगरि प्रदेशमा उठाउने कुरा चलेपनि उनले अस्विकार गरेका छन् । महरा यसअघि रोल्पाबाट चुनाव जित्दै आएका थिए । यस्तै सल्यानमा एमाले नेता प्रकाश ज्वालालाई मुख्यमन्त्री बनाउनेगरि प्रदेशमा उठाउने र माओवादीका टेकबहादुर बस्नेतलाई प्रतिनिधिसभामा उठाउने तय भएपनि माओवादीले प्रदेशको एक सिट पनि मागेका कारण समस्या परेको छ । यस्तै झापामा माओवादीका नेता राम कार्कीलाई उम्मेदवार बनाउने क्षेत्र नभएपछि समस्या परेको छ । झापा एकमा कार्कीलाई उम्मेदवार बनाउनेगरि छलफल चलेपनि एमालेले सहमति दिएको छैन । यस्तै चितवन ३ बाट प्रचण्ड उठ्ने पक्का भैसकेको अवस्थामा माओवादीका अर्का शीर्ष नेता रामबहादुर थापा बादलका लागि चितवन–२ मागिएपछि समस्या उत्पन्न भएको छ । एमाले बलियो रहेको चितवनको दुईमा एमालेका निवर्तमान सांसद कृष्णभक्त पोखरेलको दाबी छ चितवन एकमा भने एमालेका सुरेन्द्र पाण्डे पक्का भैसकेका छन् । थापालाई नवलपुरमा उठाउनेगरि छलफल अघि बढेपनि उनले चितवन २ बाटै उठ्ने इच्छा देखाएका छन् । पोखरेल र थापामध्ये एकलाई समानुपातिकमा राख्नेगरि छलफल अघि बढेको स्रोतले बतायो । यस्तै उदयपुरमा एमालेका जगन्नाथ खतिवडा र माओवादीका हिमाल किराँतीले उम्मेदवार बन्ने अडान नछाडेका कारण व्यवस्थापन असहज बनेको छ । यता अर्धाखाँचीमा एमालेले प्रतिनिधिसभामा माओवादीका टोपबहादुर रायमाझीलाई सघाउन सहमत भएको छ, तर प्रदेशको दुवै सिट दाबी गरिरहेको छ । रौतहटमा भने माओवादीले आधा आधा सिट बाँड्नुपर्ने अडान यथावत राखेको छ नेता प्रभु शाहले माओवादीलाई बराबर सिट दिनुपर्ने अडान राखेका कारण विवाद देखिएको हो । यी सात स्थानमा देखिएको विवाद मिलाउन प्रचण्ड र ओलीलाई सकस परेको छ । तर, आपसी सल्लाहमा एक दुई दिनभित्रै विवाद मिल्ने कार्यदलका एक सदस्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?