काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकता पहल शुरु भएको छ । पार्टी एकताबारे छलफल गर्न दुवै पार्टीले कार्यदल गठन गरिसकेका छन् ।
तर, फोरम सरकारमा रहेसम्म वार्ता नहुने राजपाले जनाएको छ ।
राजपाले पार्टी एकताका लागि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । वार्ता टोलिका सदस्यहरुमा वृषेशचन्द्र लाल, रमेश यादव, सुनिल रोहित र केशव झा रहेका छन् ।
त्यस्तै फोरम नेपालले भने गत मंसिर २३ गते केन्द्रीय समितिको बैठकबाट पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।
उपप्रधानमन्त्रीसहित सरकारलाई समर्थन जनाएको फोरम नेपालका संयोजक उपेन्द्र यादवले आफ्नो माग स्थापित गराउन राजपासँग सहकार्य गर्न लागेको हो ।
गत फागुन १५ गते एकताका लागि भन्दै फोरमले राजपालाई पत्र पठाएको थियो । सो पत्रको जवाफ लेख्दै राजपाले वार्ता र एकताका लागि सकारात्मक भएपछि सरकार छाड्नुपर्ने शर्त अघि सारेको थियो ।
राजपाले बुधवार फोरमलाई एकताका लागि आफूहरू सकारात्मक रहेको जवाफ पठाएको थियो । तर, फोरमले सरकारलाई गरेको समर्थन फिर्ता नलिएसम्म एकता प्रक्रिया अगाडी बढ्न नसक्ने राजपाका महासचिव तथा वार्ता समिति सदस्य केशव झाले लोकपथलाई जानकारी दिए ।
उनले भने, ‘पहिचान पक्षधर र विचार मिल्नेहरुसँग एकता गर्ने पार्टीको नीति छ सो अनुसार नै समिति बनाएका छौं ।’‘पार्टी एकताका लागि फोरम सकारात्मक छ भने सरकारलाई गरेको समर्थन फिर्ता लिनुपर्छ, सरकारमा रहुञ्जेल पार्टी एकताबारे कुनै छलफल हुँदैन’ उनले भने ।
यता टिकापुर घटनामा मुख्य दोषि रेशम चौधरीलाई गत फागुन २३ गते जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाए लगत्तै राजपाले सरकारलाई गरेको समर्थन फिर्ता लिएको थियो ।
साथै राजपाले आफ्नो मागप्रति सरकारले वेवास्ता गरेको भन्दै सडक र सदनबाट आन्दोलन गर्दै आएको छ । लाल प्रतिवेदन सार्वजनिक नभएसम्म सदनको कामकारवाही अगाडि बढाउन नदिने अडान राजपाले लिएको महासचिव झाले जानकारी दिए ।
लाल आयोगको प्रतिवेदन सार्वजनिक नहुँदा टिकापुर घटनामा मुख्य योजनाकार रहेको भन्दै रेशम चौधरीलाई जन्मकैदको सजाय भएको राजपाको ठम्याइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया