नेपाल र अवसरवादमा रमाएको राजनीति

लोकपथ
585
Shares

कुनैपनि देशको समग्र विकासका लागि दूरदर्शी नेतृत्व र उसलाई सहयोग गर्ने विद्धानहरूको टिम आवश्यक हुन्छ । डा. महाथिर मोहम्मद एक्लैले मलेसिया तथा लिक्वान्यु एक्लैले सिङ्गापुर बनाएका होइनन् ।

उनीहरूसँग स्वदेश तथा विदेशबाट दीक्षित, सहीलाई सही र गलतलाई गलत सल्लाह दिने सल्लाहकार तथा सहयोगीको टिम थियो । तर, हामी नातागोता तथा चाकरीवादमा अल्झिएर यस्तै झोले सल्लाहकारका चँगुलबाट कहिल्यै उम्कन सकेनौँ । हामीले प्रजातन्त्र पूर्नस्थापना पश्चात्का ३० वर्षसम्म किन केही गर्न सकेनाँै भन्ने कुरा अब समीक्षा गर्नै पर्ने भएको छ ।

यथार्थमा वर्तमान राजनीतिक वातावरण पहिलेको तुलनामा बढी ध्रुवीकृत भएको छ । ठुला पार्टी भित्रका गुटहरू र साना पार्टीहरू शान्ति प्रक्रियामा संशोधन गरिनुपर्छ भनेर खुला रूपमा बर्बराउन थालेका छन्।् । यस जटिल परिप्रेक्ष्यमासमेत हाल सरकारको नेतृत्व गरिरहेका जिम्मेवार राजनीतिक दलहरू भने उहीँ आफन्तवादमा लिप्त छन् । विभिन्न समयका प्रधानमन्त्रीका सल्लाहकारको झुण्डदेखि विभिन्न निकायमा गरिएका राजनीतिक भागबण्डाका नियुक्ति हेर्दा लाग्छ, देश बनाउन कुनैपनि राजनीतिक दल तयार छैनन्, छन् त केवल आफन्त र पारिवारिक सदस्यहरूलाई राम्रो ठाउँमा नियुक्ति दिलाउने र त्यसबाट सक्दो लाभ लिने ।

मैले प्रत्यक्ष अनुभव गरेको कुरा के हो भने प्रजातन्त्र पूनस्र्थापना सँगै खुला राजनीतिक परिवेशमा धेरै समकालीन साथीभाईहरूले आफ्नो नेतृत्व विकास गर्ने अवसर प्राप्त गरे । उनीहरूले विभिन्न कालखण्डमा राजनीतिक, प्रशासनिक तथा विभिन्न मन्त्रालयमा रहेर देशको नेतृत्व गर्ने मौका पनि पाए । यहाँ मैले उल्लेख गर्न खोजेको कुरा के भने मैले चिनेका तथा मभन्दा पछि राजनीतिक चेत आएका र विभिन्न राजनीतिक नेतृत्वमा रहेका व्यक्तिसँगको चिनजान एवम् उनीहरूका नातागोतामा रहेका कारणले विभिन्न अवसरहरू प्राप्त गरिरहेका र उक्त अवसरहरूबाट देश, जनता, समाजका लागि कुनै सम्झन लायक सर्भिस डेलिभरी दिन नसक्दा पनि उही फेरो समाएर पदमा पुग्न लालायित व्यक्तिहरू बेला–बेलामा मेरा मानसपटलमा आइरहन्छन् ।

कुनैपनि व्यक्ति राजनीतिमा सक्रिय हुने नहुने ऊ स्वयम्को नैसर्गिक अधिकार र चेतना हो । यस लेखका पंक्तिकार स्वयं पञ्चायती व्यवस्थाको उत्तरार्धतिरदेखि नै नेपालको राजनीतिलाई सुुक्ष्म रूपमा नियाल्दै आएको व्यक्ति हुँ ।
यसक्रममा विद्यालय, क्याम्पस, विश्वविद्यालय स्वदेश तथा विदेशस्थित नेदरल्यान्ड र जर्मनीमा अध्ययन गर्दा तथा नेपालमा सरकारी तथा गैह्रसरकारी निकायहरूमा कामकाज गर्दासमेत नेपालको राजनीति र यसका विभिन्न आयामहरूसँग चिरपरिचित रहँदै र नेपालमा सञ्चालन भएका प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनहरूमा आफ्नो अध्ययन तथा कार्यक्षेत्रमा असर नपर्ने गरी संलग्न रहँदै आएको हुँ । साथै आफ्नो तत्कालिन अवस्थाको मर्यादामा रहेर प्रजातन्त्र तथा लोकतन्त्रका खातिर सकेको योगदान दिँदै आएको पनि हुँ ।

हामीजस्ता थुप्रै विकासविद्हरू एउटा भनाइमा एकमत छौं । जस्तो राज्यको सर्वोपरी काम भनेको जनहितमा सेवा उपलब्ध गराउनु हो । र, त्यसो गर्न नसकेमा राज्यले अवस्यम्भावी वैधानिकताको सङ्कट बेहोर्नुपर्दछ । कमजोर तथा असफल हुँदै गएका राष्ट्रहरूको सूचीमा नेपालको स्थान निकै माथि छ । हामीकहाँ राज्य कमजोरभन्दा पनि लचिलो छ । यो यसैगरी टिकिरहन सक्छ, जुन विकाविदहरूका अनुसार सापेक्षतावाद हो ।

यसो हुनाको कारण राज्यले नागरिकहरूलाई सेवा दिने आफ्नो कर्तव्य पूरा गरेकाले नभई आरक्षण तथा संरक्षणमुखी प्रथालाई प्रश्रय दिइएकाले र राज्यको ढुकुटी खुला राखेर भ्रष्टाचारलाई हुर्कन दिइएकाले हो । समग्रमा राज्यलाई जानाजान कूँजो बनाइँदैछ । राज्यले आफूलाई सुधार गर्नेतर्फ जाँगर देखाएको छैन । किनभने यथास्थिति कायम राखिराख्नमै राजनीतिक वर्गकोे स्वार्थ निहित छ र राज्यलाई सुधार गर्नका निमित्त जनदबाबले समेत काम नगरेको अवस्था सिर्जित भएको छ ।

यस आलेखका पङ्क्तिकारले अध्ययन र कामका सिलसिलामा विश्वका करिब ४० भन्दा बढी देशहरूको भ्रमण गर्ने र जान्ने अवसर पाएका थिए । कुनैपनि देशको परिवर्तन विल पावर भएको नेता र उसको सुदृढ टिमले मात्र सम्भव भएको पाइन्छ । अध्ययनको सिलसिलामा पश्चिम युरोपका विभिन्न देशहरू घुम्ने क्रममा त्यहाँ भए गरेका विकास र उनीहरूले आफ्नो राष्ट्र र संस्कृतिप्रति गरेको माया र सद्भावलाई नजिकबाट नियाल्दा हामी र हाम्रो समाजमा जकडिएको अवसरवाद नै हामी पछाडी पर्नुका प्रमुख कारक हो भन्न म अत्युक्ति ठान्दिन । तसर्थ अब नेपालमा अशान्ति पैदा हुने एउटै कारण संघीयता, कोटा तथा आरक्षण जस्ता राजनीतिक समावेशीकरणका विषय उपर बढ्दै गइरहेको असन्तुष्टि हुनसक्दछ ।

शक्तिशाली तथा उच्चवर्ग एकात्मक राज्य प्रणालीलाई भत्काउने पक्षमा छैनन् र रोजगारी, पैसा तथा राजनीतिक शक्तिमा भएको आफ्नो पहुँचलाई घटाउने कुरा त उनीहरू सोच्न सक्ने कुरा भएन । निकट भविष्यमा यदि कुनै चुनौति आउँछ भने त्यो संघीयतातर्फको सङ्क्रमणबाट आउँनेछ र द्वन्द्व बल्झिने खतरा पनि त्यसैबाट उत्पन्न हुनेछ ।

यथार्थमा विकासविद्हरूले के मान्यता राख्छन् भने राज्यको काम सेवा उपलब्ध गराउनु हो र त्यसो गर्न नसकेमा राज्यले वैधानिकताको विभिन्न राजनीतिक परिवर्तनसँगै समाजवादउन्मुख समाज निर्माणको यात्रा तय गर्नेछ । तर, विडम्वना के हो भने देशमा गणतन्त्र आए पनि राणाशासन, पञ्चायत र राजतन्त्रकालीन नातावाद र कृपावादको जरो भने उखेलिन सकेको छैन । गणतन्त्रकालीन सरकारहरूको चर्को आलोचना हुनुमा अवसरवाद एउटा मुख्य खम्वाको रूपमा रहेको देखिन्छ । वास्तवमा लोकतन्त्र सुदृढिकरणमा राजनीतिक दलको उपस्थितिलाई महत्वपूर्ण मानिन्छ । तर, समसामयिकतामा झाँगिएको परिवारवादका कारण नेपालका राजनीतिक पार्र्टीहरू आज निजी कम्पनी जस्तो बनेको आभाष भइरहेको छ । विभिन्न समयमा विभिन्न प्रकारका सपनाको जञ्जालमा पारी जनताको काँधमा टेकेर सत्तामा पुग्ने र सत्तामा पुगेपछि आफैँ नातावाद र कृपावादको जालोमा फस्ने जस्ता नेतृत्ववर्गको यो प्रवृत्तिले आम जनतामा निराशा मात्रै छाएको छैन नेृतत्वप्रति चरम असन्तुष्टि, आक्रोश र वितृष्णा पैदा भएको छ ।

लोकतान्त्रिक व्यवस्था पश्चात् त झन् समाजमा धेरै समस्याहरू सिर्जना भइरहेका छन् । यहाँ आज पनि गरिबी, अभाव, महङ्गी, भ्रष्ट्राचार, नातावाद, कृपावाद, छाडावाद, तस्करी, कालोबजारी, सामाजिक द्वन्द्व, जातिवाद, वैमनस्यता, वैदेशिक रोजगारको बाध्यता लगायतका तमाम समस्याहरू व्याप्त छन् । सार्वभौम र अखण्ड राष्ट्रका स्वतन्त्र नागरिकहरूलाई वैदेशिक हस्तक्षेप, परनिर्भरता लगायतका मनोवैज्ञानिक राष्ट्रिय चेतनाको दुःख पनि लोकतन्त्र भित्रको आयातित रोग नै बन्न पुगेको आभास भइरहेको छ ।

राष्ट्रियताको सवालमा समेत सबै राजनीतिक दलहरूमा दोहोरो स्ट्याण्डर्ड देखिन्छ । यथार्थमा चाहे मन्त्रिपरिषद् गठन गर्दा होस वा कुनै विभाग, प्राधिकरण, संस्थान, आयोग, परिषद् आदि इत्यादिमा नेतृत्व नियुक्ति गर्दा नै किन नहोस् नातावाद र कृपावादले मात्र प्रसय पाएको देखिन्छ । यस्ता निकायहरूमा दिइने नियुक्ति मात्रै होइन राजनीतिक पार्टीहरू भित्र त झनै धेरै नातावाद र कृपावाद देखिन्छ । नेपाली राजनीति दलभित्रको आकर्षक मानिएको पदहरूमा आसिन व्यक्तिहरूलाई नियाल्दा यस्ता कुरा स्पष्ट देखिन्छ ।
कुनैपनि सिद्घान्त आफंैमा खराब हुँदैन ।

सिद्घान्तका अनुयायीहरूले लोकतन्त्रका मुल्य, मान्यता र यसको मर्मलाई व्यवहारमा प्रयोग गनुपर्ने हुन्छ । यसलाई आवरणमा सीमित राख्दा नेपालमा लोकतन्त्र आफैं आवरणमा सीमित रह्यो । यी सबै यावत् समस्याहरूको समाधान गरी निराशाले व्याप्त नेपाली नागरिकको मुहारमा खुसीका किरण छर्न सक्ने सक्षम राजनेता यो मुलुकले कहिले पाउन सक्ला ? यो पश्न आज पनि अनुत्तरित नै छ ।

                                                                                                                                                      (डा. नेपाल विकास तथा वातावरणका सोधकर्ता हुन् ।)
Email Adress : [email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?