ओलीको दौडधुप : के प्रचण्ड सरकार ढल्दैछ ?

‘आज रमिता छ’

यो इन्द्रबहादुर राईको चर्चित उपन्यास हो ।

हो, ठ्याक्कै यही गतिमा छ, यतिबेला नेपालको संसद ।
काण्डहरुको भीडमा एकपछि अर्को काण्ड थपिएपछि सत्तापक्षको अटेरिपन र प्रतिपक्षीको उत्ताउलोपनले यतिबेला संसद बन्धक जस्तै बनेको छ ।

जनताको सवाल उठ्नुुपर्ने संसद सत्तापक्षको कामको बयान र प्रतिपक्षले आलोचना गर्ने थलो बाहेक केही बन्न सकेको छैन । देशभर बाढी पहिरोको बितण्डा छ, जनजीवन प्रभावित छ, किसान, मजदुर, विद्यार्थी, आम नागरिकका समस्या ज्यूूँ का त्यूूँ छन्, घटनाहरु घटेका घट्यै छन् । जनताहरु ‘हर्कबहादुर’ कविताको जस्तो घरि आफ्नो समस्यातिर नियाल्छन् त घरि जनप्रतिनिधिको अनुहारतिर ।

सत्तापक्षका सांसदहरु संसद जान्छन्, प्रतिपक्षको आलोचना सुुन्छन् अनि तिनै समस्याको थुुप्रोमा अल्झिरहेका जनताहरुले तिरेको करबाट भत्ता पकाएर फर्किन्छन् । उता प्रतिपक्षका सांसदको सत्तापक्षको आलोचना गर्दै दिन कटिरहेको छ ।

केही सांसद र केही आफ्ना नेताहरुको कर्तुुत नदेखिने मुुखुुन्डो लगाएको सत्तापक्ष र संसदको निरन्तरतादेखि ‘इरिटेट’ मानिरहने प्रतिपक्ष । समस्याहरुलाई यत्रतत्र छाडेर ‘कामकुरो एकातिर कुुम्लो बोकी ठिमीतिर’ भनेजस्तै बनेका छन् राजनीतिक दल र उनीहरुको इसारामा चलेका सांसदहरु । सरकारले भ्रष्ट्राचारमा कुनै वाद नहेर्ने र सुशासनमा कुनै मुुकाबिला नगर्ने भाषण रटिरहेको छ ।

केही भ्रष्टाचारका फाइल खोलिए पनि जनतामा सरकारबाट जति आशाको सञ्चार हुनुपर्ने हो त्यो हुन सकेको छैन । खस्किँदै गएको जनाधार जोगाउन ‘डु एण्ड डाई’ को अवस्थामा काम गर्नुपर्ने बुझेका प्रधानमन्त्रीको यो कार्यकाल केही प्रगतीशील त देखिएको छ । तर केन्द्रदेखि प्रदेशसम्म आफ्ना मान्छेको सेटलमेन्ट, काण्डमा आफ्नाहरुलाई बचाउने बाटो खोज्नु, सत्तामा ठूलो स्वर गर्नेहरुलाई काण्डको बन्दुुक तेर्साएर तर्साउनुु प्रधानमन्त्रीको बाध्यता या नियति जस्तै बनेको छ ।

साथै, संसदमा सरकार सत्ता पक्षको हुन्छ अनि संसद प्रतिपक्षको हुन्छ भन्ने भाष्यलाई जबर्जस्त स्थापित गर्न खोजिएको छ । कुनैपनि संवैधानिक किताबमा नलेखिए पनि भनिँदै आएको भाष्य अनुसार संसद प्रतिपक्षको हो भन्दैमा आफ्नै पेवा जसरी अहिले एमालेले रबैया देखाइरहेको छ ।

यो या त्यो बहानामा अहिले मात्र होइन प्रतिपक्षीका रुपमा एमालेले संसद अवरुद्ध गर्दै जनताका आवाजहरुलाई कुण्ठित पारिरहेको थुप्रै दृष्टान्त छन् । अहिले संसद अवरोधको एमालेको बखेडा सामान्य छ । सामान्य कारणमा असामान्य परिस्थिती निम्त्याइरहेको एमालेको कारण संसद बन्धक मात्र बनाइरहेको छैन, जनताको आवाज समेत कुण्ठित पारिरहेको राजनीतिक विश्लेषकहरुको आरोप छ । गत साउन २ गते विमानस्थलबाहिरबाट ठूलो परिणाममा सुन बरामद भयो । राजस्व अनुसन्धान विभागले बरामद गरेको स्कुटरको ब्रेक शुुमा लुुकाएर ल्याइएको सुनको अहिले केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ । तर एमालेले त्यसको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने नाममा लामो समयदेखि संसदमा रमिता देखाइरहेको छ ।

सरकारको तर्फबाट संसदको अवरोध हटाउने पटकपटक पहल भयो, तीन दलका शीर्ष नेताहरु पटपक–पटक भेटे, सभामुुखको संयोजनमा बैठक बस्यो । तर एमालेको ब्याक हुने संकेत छैन ।

एमालेको अहिलेको मुख्य कुरा विमानस्थलको भन्सारबाट पास भएको सुन उच्च तहको संलग्नता बिना कसरी बाहिर आयो भन्ने छ । अर्थमन्त्रालय मातहतमा रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा प्रधानमन्त्रीदेखि गृहमन्त्री र अर्थमन्त्रीको समेत हात रहेको भन्ने एमालेको तर्क र आरोप छ ।

प्रचण्डबाट पटकपटक धोका पाएको एमाले जसरी पनि सरकार असफल बनाउने ध्याउन्नमा लागेको देखिन्छ । दोस्ति यारीमा प्रचण्डबाट भएको धोकाको बदला सार्वभौम संसदलाई नै बन्धक बनाउनु दुःखद भएको जानकारहरु बताउँछन् ।

सरकारले विभिन्न कालखण्डमा भएका भ्रष्टाचारका फाइल खोल्ने र कारवाहीको दायरामा ल्याउने उद्घोष गर्दै केही कदम चालेको पनि छ । तर, आफ्नालाई कारबाही गर्नबाट पन्छिरहेको सरकारको कामकारबाहीमा पनि शंका गर्ने ठाउँहरु उब्जिरहेका छन् । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, नागरिक उन्मुक्ति, जनमतसहितको मन्त्रिमण्डलको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्डले रणनीतिक रुपमा सरकार चलाइरहेका छन् ।

तर, पनि विभिन्न समयमा आउने विभिन्न घटनाक्रमले उनलाई सरकार टिकाउनै मुस्किल पर्ने देखिएको छ ।
एकातिर केमा आलोचना गर्न पाइएला भनेर पर्खिरहेको प्रतिपक्षी र अर्कोतिर कतिबेला सत्ता पाइएला भनेर बसेका अन्य दलहरु यतिबेला प्रचण्डका चूनौतिका पहाड हुन् ।

सुन काण्डमा सत्ता पक्षकै सांसदहरुबाट सरकारको आलोचना हुन थालेपछि तनावमा रहेका प्रधानमन्त्री जनपक्षीय काम गर्ने भन्दा पनि सत्ता टिकाउने जुक्तिमा बढि केन्द्रीत देखिन्छन् । आफ्ना मान्छेहरुको बचाउमा प्रत्यक्ष सरकार लागेपछि सत्ता पक्ष कांग्रेसमै पनि प्रचण्डप्रति संशय पैदा भइरहेको देखिन्छ । जसको कारण आगामी दिनमा प्रधानमन्त्रीमाथि थप चुनौती देखिन्छ ।

केही दिनअघि गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेको सत्ता पक्ष नेपाली कांग्रेसका सांसद डा. शुनिल शर्मा पक्राउ प्रकरण पछि प्रचण्ड झनै दबाबमा देखिन्छन् ।

सरकारको विरोध गरेपछि पूरानो कुरा कोट्टयाएर नक्कली शैक्षिक प्रमाणपत्र काण्डमा पक्राउ गरेपछि सत्ता पक्षबाटै सरकारको आलोचना हुन थालेको छ । थुनामुक्त हुने बित्तिकै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको बडो गुनगान गाएका शर्माले वर्तमान सरकार ढाल्ने चेतावनीसमेत दिए ।

विभिन्न काण्डमा कांग्रेस सभापति शेरबहादुर देउवा निकटकै मान्छेहरु पक्राउ परेपछि सत्ताको सबैभन्दा ठूलो दल कांग्रेस नै सकारात्मक देखिँदैन । एकातिर सत्तापक्षमा भित्रि खटपट अर्कोतिर कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटघाटले केही नयाँ संकेत गरेको छ । देउवा–ओलीको केही दिन अघिको लामो भेटघाटबारे बाहिर चर्चा छैन । स्रोतले लोकपथलाई दिएको जानकारी अनुसार ओली र देउवाबीच वान टू वान वार्ता भएको थियो । निर्वाचनपछि नै संसदको ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले मिलेर सरकार बनाउनुपर्ने आवाज एमालेजनमा ठूलो थियो । तर कांग्रेससहित निर्वाचनअघिको गठबन्धनले सरकार बनाउन नसकेपछि अन्तिम अवस्थामा एमालेले प्रचण्डलाई सरकारको नेतृत्वका लागि स्वीकार गर्दै नयाँ समीकरण बनेको थियो । एमालेको अफर स्वीकार नगरेको कांग्रेस र कांग्रेसले माओवादीलाई स्वीकार नगरेको तोडमा एमाले माओवादी गठबन्धन बनेको थियो । विशेष र नाटकीय परिस्थितीमा बनेको माओवादी–एमालेको सरकार केही महिना भन्दा टिक्न नसकेपछि रुस्टिएको एमालेले माओवादीबाट पाएको धोकापछि नै जसरी हुन्छ प्रचण्डलाई सत्ताबाट हात धुवाउने खेलमा थियो ।

प्रचण्डलाई सत्ता विमुख गराउन चाहिरहेको एमालेले पटकपटक कांग्रेसलाई सरकार निर्माणमा अफर गरिरहेको छ । वर्तमान गठबन्धन भत्किन नदिने भनिरहिए पनि सरकारले आफ््नै मान्छेहरुमा प्रहार गर्न थालेपछि देउवा केही सतर्क भएको स्रोतले जनाएको छ । त्यसो त सुन काण्डमा माओवादीका नेताहरुलाई कुनै अनुसन्धानको दायरामा नल्याएपछि पाइरहेको अपजसको भारी आफूूहरुले बोक्न नसक्ने कांग्रेसका नेताहरुले संकेत गरिसकेका छन् । देउवासँग भेटेका ओलीले आज अप्रत्यासित रुपमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेपछि केही नयाँ राजनीतिक समीकरण बन्न त लागेको होइन भन्ने संशय समेत पैदा भएको छ ।

एकातिर आफैँलाई अप्ठ्यारोमा पारिरहेका प्रचण्ड र अर्कोतिर एमालेको ग्रिन सिंग्नलले छिट्टै सत्ताको साँचो आउन सक्ने देउवामा लालशा पलाएमा सत्ताको समीकरण समेत नफेरिएला भन्न सकिन्न !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?